प्रायः आधुनिक विश्वमा साम्यवाद र लोकतन्त्रवादका आधारमा शासन सञ्चालन भइराखेको छ। राजनीतिज्ञहरू र सर्वसाधारण नागरिकको सोचाइमा यी दुई राजनीतिकवादहरूलाई क्रमशः दक्षिणपन्थी र वामपन्थी हिसाबले ग्रहण गरिएको छ। साम्यवादको प्रयोगभन्दा पनि कम्युनिस्टहरूलाई सहजै वामपन्थी भनेर सम्बोधन हुने गर्छ। तर सबै साम्यवादी वामपन्थी हुन सक्दैनन्। कुनै व्यक्ति वामपन्थी बन्यो भने ऊ लोकतन्त्रवादी, समाजवादी, साम्यवादी आदि इत्यादि हुन सक्छ। त्यसैले वामपन्थवादले साम्यवाद वा कम्युनिस्टलाई मात्र जनाउँदैन। साम्यवादीहरूको शासकीय शैलीले उनीहरू वामपन्थी हुन् वा होइनन् निर्धारण हुन पुग्छ.। साम्यवादको पर्याय जस्तै गरी वामपन्थवादको प्रयोग हुनु यसको वारेमा अल्पज्ञान हुनु हो। यथार्थमा साम्यवाद र वामपन्थवाद के हो? यी दुई वादमा के कस्ता समानता र असमानता रहेका छन्? यसका बारेमा स्पष्ट हुनु जरुरी छ। त्यसैले यस आलेखमा यी दुई सिद्धान्तबीचको पृथकताबारे छलफल गर्ने प्रयास गरिएको छ।
वामपन्थ र साम्यवाद भिन्न भिन्न दुई सिद्धान्त हुन्। कतिपय सन्दर्भमा यी दुवैलाई समान अर्थमा लिने गरेको पाइन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने कम्युनिस्टहरूलाई वामपन्थी र लोकतान्त्रिकहरूलाई दक्षिणपन्थीका हिसाबले लिएको पाइन्छ। आखिर के हो त वामपन्थी राजनीति? यसको इतिहासलाई स्मरण गर्ने हो भने फ्रान्ससम्म पुग्नुपर्छ। फ्रान्सेली राज्य क्रान्तिको समय अर्थात् सन् १७८९ देखि १७९९ सम्मको अवधिमा हो। त्यस समयमा राजावादी र यथास्थितिवादी सोच राख्ने एक पक्ष, क्रान्तिकारी अथवा आमूल परिवर्तनको सोचका साथ अघिबढ्ने अर्को पक्ष गरी दुईवटा राजनीतिक शक्ति विद्यमान थिए। यसै विषयमा छलफल गर्न इस्टर्न जनरल (फ्रेन्च संसद्) बैठक बोलाइएको थियो। त्यस सदनमा यथास्थितिवादीहरू दायाँतर्फको स्थानमा र राजतन्त्रको विरोध गर्ने, क्रान्तिकारी, गणतन्त्रवादी र धर्म निरपेक्षताका पक्षमा बहस गर्नेहरू सबैलाई बायाँतर्फको स्थानमा राखिएको थियो। त्यही आधारमा दायाँतर्फ र वायाँतर्फ रहनेहरू क्रमशः दक्षिणपन्थी र वामपन्थीका नामले सम्बोधित हुन थाले र यसै सम्बोधनले विश्वभरको राजनीतिलाई अभ्यस्त बनायो।
विश्व राजनीतिमा प्रायः दक्षिणपन्थी राजनीतिकै बाहुल्य थियो र हालका दिनमा पनि छ। दक्षिणपन्थी राजनीति सञ्चालन गरेका प्रणालीबाट उपेक्षितको पक्षमा वकालत गर्दै यस्ता असन्तुष्ट समूहलाई समेटी अघि बढ्छ। वामपन्थीहरू धार्मिक र राजनीतिक हिसाबले यथास्थितिवादी सोचबाट अघिबढ्दै सुधारको पक्षमा लाग्छन्। अन्यायमा परेका कमजोर वर्गको सहानुभूति र सहयोगबाट अस्तित्वमा रहन्छन्। राजनीतिक र आर्थिक प्रणालीको मुख्य पक्षमाथि राज्यको नियन्त्रण रहन्छ। मजदूरी गरी जीविकोपार्जन गर्ने श्रमजीवीहरूको पक्षमा प्रतिबद्ध रही समानतावादी समाज सिर्जना गर्नुलाई गन्तव्यका रूपमा लिने गर्छन्।
वामपन्थीहरूको वर्गीकरण विभिन्न प्रकारले गरिएको छ। केन्द्रीय वामपन्थी धार यसको सबैभन्दा प्रारम्भिक रूप हो। यसमा लोकतन्त्रका विशेषताहरू पाइन्छ। यसको अर्को तह भनेको उदारवादी धार हो। उदारवादको विकास हुँदै जाँदा समाजवादमा पुगिन्छ। समाजवाद हुँदै साम्यवाद र साम्यवादको विकसित रूपमा तानाशाहीतन्त्र वामपन्थवादको अन्तिम विन्दुमा पुगिन्छ। वामपन्थी धारको प्रारम्भिक यात्रा केन्द्रीकृत वामपन्थी हो भने विषम विन्दुका रूपमा कम्युनिस्ट हुँदै तानाशाहीतन्त्र, सर्वसत्तावाद, एकदलीयतन्त्र सबै विशेषता समेटी अघि बढ्छ। समाजमा पूर्ण समानता कायम गर्छ। प्रत्येक धर्मलाई स्वतन्त्रता प्रदान गरी समान व्यवहार गरिन्छ। संरक्षणवादले महत्व पाउँछ। स्वदेशी उत्पादनले प्रोत्साहन पाउने हुँदा स्वतन्त्र व्यापार, भूमण्डलीकरण र आर्थिक उदारीकरणका विपक्षमा प्रस्तुत हुने रणनीति अवलम्बन गर्दछ। आर्थिक प्रणालीमा सरकारी हस्तक्षेप अत्यधिक हुन्छ। केन्द्रबाटै आपूर्तिमुखी योजना तयारपारी कार्यान्वयनमा लगिन्छ। समलिङ्गी सम्बन्धलाई प्रोत्साहन दिन्छ। गर्भ निरोधक कार्यलाई लागु गर्छ। आप्रवासीहरूप्रति नकारात्मक सोच राखी उनीहरूको आगमनलाई निषेध गर्छ। यसप्रकार सुधार प्रक्रियामा तल्लीन रहने राजनीतिक धार नै वामपन्थ हो। शीघ्र प्रगतिको मार्गमा छलाङ मार्ने सोचाइबाट निर्देशित हुन्छन्। त्यसैले राजनीतिक दलहरूले तैनाथ गरेका नीति, योजना तथा कार्यक्रमबाट दक्षिणपन्थीहरू बिस्तारै वामपन्थी बन्दैगएको अवस्था राजनीतिमा देख्न सकिन्छ।
त्यसैले वामपन्थीहरूलाई सुधारवादी दलका हिसाबले परिभाषित गर्नेगरेको पाइन्छ। उदाहरणका लागि बृहत् लोकतान्त्रिक अभ्यास गरिआएका देशहरूमध्ये भारतमा भारतीय राष्ट्रिय काँग्रेसलाई केन्द्रीकृत वामपन्थी, आमआदमी पार्टी मध्यम स्तरको वामपन्थी, कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इन्डिया मार्किस्टलाई वामपन्थी राजनीतिको विषम विन्दुका रूपमा यी दलहरूका नीति, कार्यक्रम र घोषणापत्रका हिसाबले ग्रहण गर्नुपर्ने हुन्छ। सुधारका योजनासहित प्रस्तुत भएकी हिलारी क्लिन्टन जो अमेरिकाको प्रजातान्त्रिक दलमा रहेकी छन्, संयुक्त अधिराज्य बेलायतका नेता जेरामी कर्विन जसले लेबर पार्टीबाट प्रतिनिधित्व गर्छन् र डोनाल्ड ट्रम्पले आप्रवासीसम्बन्धी नीति तैनाथ गरेका हिसाबले यी सबैलाई वामपन्थ उन्मुख राजनीतिको कोटिमा राख्न सकिन्छ। तसर्थ, वामपन्थी सुधारवादी अजेन्डाका साथ अघिबढ्ने राजनीतिक प्रणाली हो, साम्यवाद होइन।
साम्यवाद भिन्न राजनीतिक प्रणाली हो। यसमा लोकतन्त्रको गुञ्जायस निरपेक्षरूपमा रहँदैन। साम्यवादका बारेमा विश्लेषण गर्दा माक्र्स, लेनिन,स्टालिन र माओ त्से तुङ्गलाई स्मरण गर्नुपर्ने हुन्छ। श्रमिक र पुँजीवादी दुई वर्गबीचको सङ्घर्षको उपजका रूपमा श्रमजीवीहरूको शासनका हिसाबले साम्यवादलाई लिइन्छ। यो वास्तविक जीवनको यथार्थमा आधारित विश्लेषण हो भनिन्छ। पुँजीपतिहरूले विशाल संरचना र सञ्जाल तयार पारी श्रमिकहरूलाई शोषण गर्ने गर्छन्। माक्र्सले साम्यवादलाई वैज्ञानिक समाजवाद भनेका छन्। अतिरिक्त मूल्यको सिद्धान्तको प्रयोग पुँजीपतिहरूबाट हुने जसमा श्रमिकहरूको शोषण गरी मार्जिन रकम सबै पुँजीपतिहरूले लिन्छन्। पुँजी, प्रविधि र जमिनमाथि पुँजीपतिहरूकै आधिपत्य हुन्छ। यसैका आधारमा श्रमिकहरूमाथि शोषण हुन्छ। त्यसैले अतिरिक्त मूल्यको सिद्धान्तलाई माक्र्सले लुट भनेका छन्। व्यक्तिगत पुँजीको स्थान जब सामुदायिक वा सामूहिक पुँजीले लिन्छ, त्यसलाई समाजवाद भनिन्छ। वर्तमान अवस्थासम्म आइपुग्दा देखिएको समाजको इतिहास भनेको भनेकै वर्ग सङ्घर्षको इतिहास हो। श्रमजीवीहरूको पुँजीपतिविरुद्धको सङ्घर्ष भूमिगतरूपमा वा प्रकटरूपमा निरन्तर चली रहन्छ। जसको परिणाम श्रमजीवी वर्गको सर्वनाश वा क्रान्तिकारी परिवर्तन सम्भव हुन्छ।
विकसित प्रविधिको प्रयोगबाट श्रमिक शोषण अन्त्य गर्नका लागि नयाँ प्रकृतिको सङ्घर्ष पुनः सुरु हुन्छ। अन्त्यमा मजदूर वर्गको विजय हुन्छ। मजदूरहरूकै शासन चल्दछ। यस्तो शासनमा केन्द्रीय सरकार वा एक व्यक्तिको पूर्ण अधिकार स्थापित हुन्छ। सरकारी नियन्त्रण कायम हुन्छ। आयको समान वितरण गरिन्छ। धनी र गरिब हुँदैनन्, सबैले काम गर्नुपर्छ। सबैले परिश्रमको मूल्य समान प्राप्त गर्छन्। मेसिनको प्रयोग मजदूरहरूको कामलाई सहज बनाउन गरिन्छ। लेनिन र कार्ल माक्र्सको यस प्रकारको साम्यवादलाई रसियामा स्टालिनले कार्यान्वयनमा ल्याएका थिए। प्रायः विश्वभर प्रयोगमा रहेको साम्यवादी शासन यही आधारमा अघिबढेको छ। माओ त्से तुङ्गको साम्यवाद पृथकखालको छ। उनले पेसाका आधारमा विभेद नगरी सबै कमजोर र उपेक्षितहरूको शासनलाई साम्यवाद भनेका थिए। माओले किसानहरूलाई समेटेका थिए र माक्र्सवाद र लेनिनवादलाई मिति पुगेको औषधि भनेका थिए। सबै प्रकारको साम्यवादमा एकदलीय शासन हुन्छ। सर्वसत्तावाद हावी हुन्छ। लोकतन्त्र र साम्यवाद विपरीत सिद्धान्त हुन्। त्यसैले व्यक्तिगत स्वतन्त्रताको कल्पना साम्यवादमा गरिँदैन।
अब नेपालको सन्दर्भमा विश्लेषण केन्द्रित गरौँ। हालसम्म नेपालमा थुप्रै साम्यवादी दलहरू अस्तित्वमा आइ फुट्दैगएका छन्। पुष्पालालले स्थापना गरेको कम्युनिस्ट पार्टी, मोहनचन्द्र अधिकारीले नेतृत्व गर्नुभएको झापा आन्दोलनबाट सिर्जित माले र यिनै दलहरूबाट विभिन्न समयमा टुक्रिँदै साना साना कम्युनिस्ट पार्टीहरूमध्येको संयुक्त जनमोर्चाले दस वर्षसम्म माओवादका नाममा भूमिगत गुरिल्ला युद्ध गर्दै १७ हजार नेपालीको हत्या हुने परिस्थिति निर्माण गरी शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आएको ने.क.पा. माओवादीलगायत यी सबै नेपालका कम्युनिस्ट पार्टी हुन्। यी सबै दलमा केही समानता पाइएका छन्। यी सबैको उजागर प्रायः हत्या हिंसाबाटै भएको छ। सबैले स्वार्थलोलुप झुण्डका रूपमा परिचय बनाएका छन्। फुटपरस्त राजनीति नै यिनीहरूको पहिचान बनेको छ। २०४६ सालसम्म आइपुग्दा माले प्रमुख कम्युनिस्ट राजनीतिक पार्टी थियो भने २०६३ सालमा आइपुग्दा माओवादीहरूले राष्ट्रव्यापी सङ्गठन खडा गरी राष्ट्रिय पार्टीका रूपमा अग्रस्थानमा उभ्याउन सफल भयो। मालेबाट एमालेमा रूपान्तरित कम्युनिस्ट र माओवादीहरूका बीच अत्यन्त अस्वस्थ प्रतिस्पर्धा गर्दैगएका दलहरू जुन सिद्धान्तका हिसाबले पृथक थिए, एक्कासि गठबन्धन गरी निर्वाचनमा सहभागी भई उल्लेख्य स्थानमा विजय हासिल गरेका थिए।
२०७४ सालका वामपन्थीहरूको गठबन्धनले आफूलाई साम्यवादी, वामपन्थी, समाजवादी, लोकतन्त्रवादी, राष्ट्रवादी सबै भएको दाबी गरिराखेका थिए। सबै यी कम्युनिस्ट दलहरू पूर्णरूपमा साम्यवादी शासन लागु गर्ने अभीष्टका साथ आन्दोलित भई समाजलाई आतङ्कित बनाइ सत्तामा पुगेका हुन्, यसको प्रमाण भनेको नेपालको राजनीतिक इतिहास हो। साम्यवाद भनेको लोकतन्त्र, समाजवाद, वामपन्थ केही होइन,फगत सर्वसत्तावाद र तानाशाहीतन्त्र हो। साम्यवादमा लोकतन्त्रको कल्पना गर्नुसम्म पनि हाँस्यास्पद हुन्छ। माक्र्स र लेनिनले तयार पारेको सिद्धान्तकै आधारमा स्टालिनले देशमा रहेका पत्रकार, बुद्धिजीवी, पुँजीपतिहरूको ठूलो सङ्ख्यामा हत्या गरी बर्बरतापूर्ण शासन चलाएकै हुन्। कम्युनिस्टको नाममा माओले चीनमा जनगणतन्त्र ल्याउने क्रममा गरेको आन्दोलनमा एउटा प्रान्तमा मात्र १० लाख मानिसको हत्या गरेका थिए। हत्या, हिंसा र आतङ्क नै कम्युनिस्टहरूको मौलिक गुण हो। जसको सामान्य उपस्थितिमा पनि लोकतन्त्रको विकास हुनै सक्दैन।
समाजवाद परिस्कृत लोकतन्त्र हो जसबाट सामाजिक न्याय प्रदान शोषणरहित समाज निर्माणको दिशामा अग्रसर होइन्छ। तर साम्यवाद समाजवादको विकृतिपूर्ण अवस्थाको पराकाष्ठा हो। जहाँसम्म वामपन्थी र साम्यवादी सिद्धान्तको कुरा छ, यी दुवैको व्याख्या भई नै सकेको छ। वामपन्थीहरूको सिधा उद्देश्य समाजमा सुधार गर्नु हो, शासकीय कमीकमजोरीहरू सच्याउनु हो। त्यसैले वामपन्थी राजनीतिको अभ्यास लोकतन्त्रमा राम्ररी गर्न सकिन्छ। अमेरिकी राजनीतिमा प्रजातान्त्रिक दलकी हिलारी क्लिन्टनलाई वामपन्थी राजनीतिज्ञका रूपमा चित्रण गरिसकिएको छ। लोकतन्त्रमा समाजवाद र वामपन्थी विचारधाराले प्रोत्साहन पाउँछ। तर साम्यवादमा लोकतन्त्र, वामपन्थ र समाजवाद स्वीकार्य हुनै सक्दैन। आधुनिक विश्वमा निरपेक्ष साम्यवाद उत्तर कोरियामा देख्न सकिन्छ। जहाँ किम जोङको तानाशाहीतन्त्र मात्र छ। तर नेपालका वामघटकहरू विशेषगरी एमाले अध्यक्ष ओलीले एमालेभित्र सबै (साम्यवाद, समाजवाद, वामपन्थ र लोकतन्त्र)सुदृढ गरिने प्रतिबद्धता पटक–पटक जनाएका छन्। माओवादी केन्द्रलाई आफ्नो दलमा विसर्जन गराएपश्चात दलको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने समझदारी गरेकाथिए।
यसबाट बुझ्नुपर्ने कुरा हो– वामपन्थीहरूको समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सिर्जना गर्ने नारा मात्र हुन्। यसको आकर्षण र ब्रान्ड भनेको साम्यवाद नै हो। यसैगरी वामपन्थवादमा समाजवाद र लोकतन्त्रको गुञ्जायस रहन्छ, त्यसैले वामपन्थीहरूको लोकतन्त्रप्रति थोरै मात्र पनि लगाव हो भने वामपन्थी राजनीति मात्र गर्नुपर्छ। अन्यथा, यी तीनवटै वादको रटान परित्याग गरी साम्यवाद, निरङ्कुशवाद, सर्वसत्तावाद र तानाशाहीतन्त्रको राजनीतिमा उन्मुख भएको उद्घोष गरी जनतासमक्ष पारदर्शी बन्नुपर्छ। जनतालाई भ्रममा राखी गरिएको राजनीतिले स्थायित्व प्राप्त गर्न सक्दैन। कुन कित्तामा उभिने हो? प्रष्ट हुनु जरुरी छ।
प्रकाशित: ६ आश्विन २०७९ ०१:०३ बिहीबार