९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले तोक्यो जिल्लामा केन्द्रीय प्रतिनिधि

फाइल तस्बिर

नेपाली कांग्रेस मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छ। निर्वाचनलाई केन्द्रित गरी यही भदौ १० गतेदेखि सुरु हुने १५ दिने अभियानका लागि उसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।  

भदौ २४ गतेसम्म सञ्चालन हुने पहिलो चरणको निर्वाचन केन्द्रित अभियानअन्तर्गत कांग्रेसले जनतामाझ गएर आफ्नो कुरा सुनाउने र सुन्ने योजना बनाएको छ। सोहीअनुसार केन्द्रीय प्रतिनिधि खटाइएको हो। अभियानअन्तर्गत तोकिएका केन्द्रीय प्रतिनिधि जिल्लामा बस्नुपर्नेछ। धेरैजसो जिल्लामा आपस जिल्लाका केन्द्रीय सदस्यलाई नै केन्द्रीय प्रतिनिधि तोकिएको छ।  

कांग्रेसले निर्वाचन लक्षित गरी तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले पहिलो चरण भदौ १० देखि २४ गतेसम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुग्ने जनाएको छ।

कांग्रेसले स्थानीय तह निर्वाचनमा पनि यसैगरी केन्द्रीय प्रतिनिधि खटाए पनि उनीहरू जिल्ला सदरमुकाम पुगेर मात्र फिर्ता भएका थिए। अहिले पनि केन्द्रीय प्रतिनिधि जिल्ला सदरमुकामसम्म पुगेर फर्केने सम्भावना बढी देखिन्छ। त्यसलाई समेत ध्यानमा राखेर कांग्रेसले यसपटक प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र एवं पालिकामा अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरूप प्रतिनिधि खटाउने जनाएको छ।

केन्द्रीय प्रतिनिधिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन र गठबन्धनमा आबद्ध दलबीच जिल्लामा समन्वय एवं सहकार्यको स्थिति मूल्यांकन गरी आवश्यक सहजीकरण गर्न पनि भनिएको छ। त्यस्तै केन्द्रीय प्रतिनिधिलाई स्थानीय तह निर्वाचनमा पार्टीको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै गतिविधि कसैबाट भएको तथा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कसैबाट भइरहेकोे सूचना पाए विवरण संकलन गर्न भनिएको छ। अभियानलाई प्रभावकारी बनाउन कार्यक्रमलाई विकेन्द्रित गर्न पनि निर्देशन दिइएको छ। अभियानका क्रममा टोल कार्य समितिकै ब्यानरमा कम्तीमा एउटा राजनीतिक, सामाजिक, मतदाता, विकास, युवा, महिला, दलित समुदायसम्बन्धी संवादका कार्यक्रम गर्नुपर्नेछ।

कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थालाई अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर देशभर परिचालित हुन भनेको छ। जनभावना अनुरूपको रूपान्तरण र विकास परियोजनाबारे जनतासँग अन्तरक्रिया गर्दै कांग्रेसले लिएको नीति, विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा जनतालाई सुसूचित गर्ने भएको छ। त्यस्तै निर्वाचनमा तालमेल गर्नुपर्नाका कारण र वस्तुस्थितिबारे कांग्रेसले पार्टी पंक्ति र जनतालाई जानकारी गराउनेछ। अभियानकै माध्यमबाट निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सहयोग पुग्ने बुझाइमा कांग्रेस छ।  

प्रकाशित: ८ भाद्र २०७९ ००:४५ बुधबार

नेपाली कांग्रेस