५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश १ काे नाम 'लिम्बुवान-किराँत' प्रदेश नभए आन्दोलन निश्चित: मुख्यमन्त्री राई

लिम्बुवान-किराँत संयुक्त संघर्ष समितिकाे ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राई। तस्बिरः चुमन बस्नेत/नागरिक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम पहिचानको आधारमा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

बिहीबार लिम्बुवान–किराँत प्रदेश नाम राख्न माग गर्दै पहिचानवादी ३४ वटा संगठनले विराटनगरमा गरेको प्रदर्शनपछि ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले पहिचानका आधारमा नाम नराखे जस्तोसुकै आन्दोलन पनि हुनसक्ने चेतावनी दिएका हुन्।  

मुख्यमन्त्री राईले भने, ‘ जनताले मागे अनुसार पहिचानको नाम दिए शान्ति हुन्छ नभए आन्दोलन निश्चित छ।’ मुख्यमन्त्री राईले सरकारमा बसेर आन्दोलनको कुरा गर्‍यो भनेर आफ्नो आलोचना भइरहे पनि त्यसको कुनै प्रबाह नभएको बताए। उनले क्रान्ति अझै टुंगोमा नपुगिसकेकाले अधुरो क्रान्ति पूरा गर्न सरकार र सडक दुबै ठाउँबाट अघि बढ्नु आवश्यक रहेको स्पष्ट पारे। 

मुख्यमन्त्री राईले सरकारमा बसेको भए पनि अहिलेको सबै संरचना, कानुन जस्ताको त्यस्तै नस्वीकार्ने स्पष्ट पारे। ‘सरकारमा बस्यो भन्दैमा अहिलेको सबै संरचना, कानुन र संविधानका प्राबधान जस्ताको त्यस्तै स्वीकार्दीन’ उनले भने,‘संरचना, कानुन र संविधान पनि जस्ताको त्यस्तै स्वीकार्दिन।’ नराम्रो नाम राख्नु भन्दा नामै नराख्नु उचित हुने उनले बताए। उनले भने,‘ नराम्रो नाम राख्नुभन्दा नामै नराखेर अर्को संसदलाई छाड्नु उचित हुन्छ।’ किराँत–लिम्बुवान जोडेर नाम राख्दा लामो हुने भन्ने तर्क उचित नभएको उनको भनाई छ। विश्वमा धेरै देशहरूको लामो नाम भए पनि लामो नामले केहि फरक नपर्ने  उनले बताए।  

देशका  सबै दलहरूले पहिचानका आधारमा नाम दिने भनेर आन्दोलन, जनयुद्ध, जन आन्दोलनमा बाचा गरेको मुख्यमन्त्री राईको दाबी छ। ‘सबै दलले आन्दोलन, जनयुद्ध, जनआन्दोलन र चुनावमा जनतासँग पहिचानका आधारमा नामाकरण गछौं भनेर बाचा गरेका छन्’ उनले भने,‘जनतासँग गरेको बाचा पुरा गर्न नसक्नेले राजनीति छाडिदिए हुन्छ।’ राईले माओवादीले पहिचानको कुरा गरेको, एमालेले पनि त्याहि बाचा जनतासँग गरेको र कांग्रेसले पनि द्वन्द्व मेटिने पहिचान झल्किने नाम राख्ने चुनावमा नारा नै राखेकाले जनतासँग गरेको बाचा पुरा गर्न दलहरूलाई आग्रह गरे।  

किराँत -लिम्बुवान नामलाई जाति वादी नश्लबादी भन्दै अरु नै जातीवादी र नश्लबादी हुन खोजेको आरोप मुख्यमन्त्री राईको छ। प्रदेशसभामा प्रदेश १ को नामाकरणको विषयमा औपचारिक छलफल हुने समय नजिकिंदै गर्दा प्रदेश १ को राजधानी विराटनगरमा विभिन्न नामका पक्षमा दबाबमुलक र्‍याली, जुलुस, कोणसभा, भेला आयोजना भइरहेका छन्।

प्रकाशित: ५ श्रावण २०७९ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App