३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले तत्काल हटाएर छानविन गर्नुपर्छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

अर्थमन्त्री शर्माको बजेट निर्माण प्रकरण सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने उनले बताए। थपाले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए। उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानविनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए।

थापाले भने, ‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ। यत्रो विषय संसदमा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन। तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ। कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ। र तत्काल छानबिन गर्नुपर्छ।'

उनले अगाडी भने, ‘हाम्रो आफ्नै कार्यविधि छ। हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सिसिटिभि फुटेज राख्नेकुरा भनिहाल्छ। त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ। यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन। कसैले सामान्य मानविय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन। यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन। यस्तो गर्‍यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ। र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ। वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ। त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हीतमा छ। तत्काल उहाँले राजीनामा दिने। वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने। छानविन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो। दोषी होइन भने कम्तिमा देशलाई, जनतालाई थाहा भयो। यो होइन रहेछ भन्नेकुरा थाहा भयो।’

महामन्त्री थापाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए। उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरुले अनौपचारिक रुपमा भनिसकेको पनि बताएका छन्।

प्रकाशित: २० असार २०७९ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App