१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिलाई लोभ र परिवारवादबाट मुक्त हुन उपसभापति खड्काको निर्देशन

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई व्यक्तिगत लोभ र परिवारवादबाट मुक्त भएर जनता र मतदाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।  

उपसभापति खड्काले स्थानीय सरकार जनताको सुख–दुःखको साथी भएकाले जनताका दैनिक समस्या र पीरमर्कालाई सम्बोधन गर्ने गरेर काम गर्नुपर्ने बताए ।  

खड्काले पार्टीको चुनाव चिन्हबाट जितेका जनप्रतिनिधिहरुलाई एक्लै हिँड्ने छुट नभएको पनि बताए । ‘पार्टीलाई विर्सिएर एक्लै हिँड्न खोज्नु भयो भने भोलिको तपाईँको राजनीति समाप्त हुन्छ नै जनता र मतदातासँग पार्टीले गरेका प्रतिवद्धताको पनि अवमूल्यन हुन्छ,’ आइतबार सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजना गरिएको बधाई–शुभकामना तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘कुनै निर्णय लिनुअघि आफू यहाँसम्म कसरी पुगेँ भन्ने ख्याल गर्नुहोला ।’  

उपसभापति खड्काले रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका उम्मेदवारलाई जिताउनका लागि अहोरात्र खट्ने, पसिना बगाउने नेता तथा कार्यकर्ता र जिताउने मतदाताहरुलाई जनप्रतिनिधिहरुले दिल र दिमागमा राखेर काम गर्नुपर्ने बताए । ‘जनप्रतिनिधिका हैसियतले निर्णय दिँदा, कलम चलाउँदा सिंगो पार्टीपंती, निर्वाचनमा खटिएका नेता–कार्यकर्ता र मतदाताहरुलाई दिल र दिमागमा राखेर काम गर्नुभयो भने त्यहाँ तपाईँहरुको गल्ती हुँदैन्,’ उपसभापति खड्काले भने ।  

खड्काले जनप्रतिनिधिहरु धनको लोभ, नातागोता र व्यक्तिवादी हुँदा निर्णय गर्दाताका दायराहरु साँघुरा हुँदै जाने बताउँदै त्यसले आफ्नो र पार्टीको सुन्दर भविश्यमा ठेस पुर्‍याउने बताए । उनले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताए । ‘कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई राम्रो बोलीबचन दिनुहोस्, सेवाग्राही कार्यकक्षमा आउँदा कुर्सीबाट उठेर दुबै हात जोडेर नमस्कार गर्नुहोस्,’ खड्काले भने, ‘जनताको शासक होइन्, सेवक भएर काम गर्नुहोस् ।’

उपसभापति खड्काले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको काँधमा नवीन जिम्मेवारी र उद्देश्य थपिएको बताउँदै सोही अनुसार कार्य गर्न पनि आग्रह गरे । ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरे पार्टीप्रति जनताको विश्वास बढ्छ, स्थानीय सरकारप्रतिको भरोसा बढ्छ,’ उपसभापति खड्काले भने, ‘आफूलाई निर्वाचित गराएका जनताले पछुताउनुपर्ने अवस्था आउन नदिनेतर्फ सधैं सचेत हुनुहोस् ।’  

निर्वाचित जनप्रतिनिधि र पार्टीबीच फरकपन देखिएको बताउँदै पार्टी केन्द्रले निर्वाचित जनप्रनिधिहरुका लागि आचारसंहिता जारी गर्न लागेको उनले बताए । ‘निर्वाचित जनप्रतिनिधिहरु एकातिर र पार्टी अर्कोतिर हुने विगतमा देखिएको छ,’ उनले भने, ‘जनप्रतिनिधिहरुलाई पार्टीप्रति जवाफदेही बनाउनका लागि आचारसंहिता जारी गर्दैछौं ।’

खड्काले निर्वाचनमा पराजीतहरुलाई अझ सक्रिय भएर पार्टी र जनताको काममा लाग्न निर्देशन दिए । ‘हारेका साथीहरुले सोही गाउँको छाया सरकारका रुपमा पाँच वर्ष क्रियाशिल हुनुहोस्, जितेकाहरु भन्दा अझ धेरै जनताप्रति जवाफदेही हुनुहोस्, जनताको दुःख शुखमा साथ दिनुहोस्,’ उनले भने, ‘पाँच वर्ष जनताको मन जित्नुहोस्, अर्को पटक जनताले मत दिनुहुनेछ ।’

प्रकाशित: १२ असार २०७९ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App