७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जिसस कास्कीको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) कास्कीको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति कास्कीको नया नेतृत्वका लागि आज भएको निर्वाचनमा एमाले प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा विजयी भएको हो।

आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन्। पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन्। पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त गरे।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी सरिता कुमाल निर्वाचित भएकी छन्। उनी नेकपा माओवादी केन्द्रकी उषा थापालाई २ मतले पराजित गर्दै विजयी भएकी हुन्। बिजयी कुमालले ६ मत प्राप्त गर्दा पराजित थापाले ४ मत पाईन्।

त्यस्तै, जिससको खुल्ला सदस्यमा एमालेका राजु अधिकारी (मादी), र बालिका सुवेदी (अन्नपूर्ण) र हर्कबहादुर गुरुङ (रुपा) निर्वाचित भएका छन्। उनीहरु कांग्रेसका सदस्यतर्फ कांग्रेसका ओमप्रकाश गुरुङ (मादी), बिजय गुरुङ (अन्नपूर्ण) र माओवादीका पुर्खबहादुर पुन (माछापुच्छ्रे)लाई पराजित गर्दै बिजयी भएका हुन्।

महिला तीन सदस्यमा एमालेका लक्ष्मी दमै (माछापुच्छ्रे), सीतादेवी विक (पोखरा–२१), र सुकमाया नेपाली (माछापुच्छ्रे) विजयी भएका छन्। उनीहरु कांग्रेसका गंगा रानाभाट (माछापुच्छ्रे), गोमा सुवेदी (पोखरा–२) र शान्ता पौडेल अधिकारी (रुपा)लाई पराजित गर्दै  विजयी भएका हुन्।

दलित वा अल्पसंख्यक सदस्यतर्फ एमालेका गणेशबहादुर घर्ती (अन्नपूर्ण) बिजयी भएका छन् उनी कांग्रेसका विष्णुमाया परियार (पोखरा ४)लाई पराजित गर्दै बिजयी भएका हुन्।

जिल्ला समन्वय समितिको पदाधिकारी तथा सदस्यहरु जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेर चयन गर्ने प्रावधान छ। कास्कीमा ५ वटा स्थानिय तहहरु रहेका छन्। जस अनुसार १० जनाको मताधिकार रहेका कास्कीमा एमालेको एकल बहुमत पुग्ने ६ मत रहेको थियो।

एमालेले एकल रुपमा रुपा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको छ भने पोखरा महानगरपालिका र मादी गाउँपालिकामा उपप्रमुख जितेको छ। यसबाहेक कांग्रेसले माछापुच्छ्रे गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा मादी गाउँपालिकाको प्रमुख जितेको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख जितेकाले सत्तारुढ गठबन्धनमा ४ मत मात्र रहेको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App