३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

चितवन निर्वाचनः उत्साहित छन् नयाँ मतदाता

भरतपुर ११ की दिक्षा लम्साल २१ बर्ष पुगिन्। लम्सालले पहिलोपटक मतदान गर्दैछिन्। नागरिकले पाएको अधिकार पहिलोपटक प्रयोग गर्ने चाहनाले उनलाई उत्साहित बनाएको छ।  

‘पहिले घरका आमाबुवा भोट हाल्न जाँदा आफु जान पाइदैनथ्यो। भोटर कार्ड बल्ल पाईएको छ, ’भरतपुरको नयाँ किरण माविमा मतदाता परिचयपत्र लिन आएकी लम्सालले भनिन्, ‘आफ्नै  ठाउँका लागि आफै जनप्रतिनिधि छान्न पाउने कुराले निकै उत्साहित छु।’ उनी कस्लाई मतदान गर्ने भन्ने विषयमा पनि स्पष्ट भैसकेकी छन्। उनले शैक्षिक अवस्था सुधार गर्न सक्ने उम्मेदवारहरु नियालिरहेको बताईन्।  

भोजाडका अमृत परियारले पनि पहिलोपटक मतदान नयाँ किरण माविबाट मतदान गर्दैैछन्। उनलाई आफ्नो टोल विकास भएको हेर्ने ठुलो धोको छ। त्यसैले यस पटकको स्थानीय तह निर्वाचनमा टोलको व्यवहारिक योजना बनाएका उम्मेदवारलाई मत दिने सोच बताएका छन्।

‘मतदान गर्न पाउँछु भन्ने कुराले खुसी छु। आफ्नो ठाउँमा योग्य उम्मेदवार चुन्न पाउने अधिकार पाउनु खुसीकै कुरा हो।’, उनले थपे, ‘हाम्रो टोलमा थुप्रने फोहोरको  व्यवस्थापन र आकाशबाट पानी पर्दा जम्मा हुने पानीको निकाश खोज्ने जनप्रतिनिधि चाहिएको छ।’ पानी पर्दासाथ भरतपुरको १० र ११ नम्बर वडामा पानी जम्मा हुने गर्दछ। ‘पहिलोपटक भोट हाल्ने अवसर पाएको छु। जो सक्षम लाग्छ उसैलाई भोट हाल्ने हो,’उनले भने, ‘उसले विकास गर्छ कि गर्दैन।’

सोही वडाका २३ वर्षीय सन्दिप परियार बेरोजगारीका कारण दिक्क भएर बसेका छन्। तर, पनि पहिलोपटक आफ्नै मान्छेलाई मत दिन पाउँदा खुसी छन्। मत दिँदा पार्टी भन्दा पनि चिनजानकै मान्छेलाई मत दिने मनस्थितिमा छन्। ‘हामी युवाहरुका लागि नेताहरुले गर्ने भनेको त त्यस्तै हो । तर, गाउँमा चिनेका मान्छेहरु उठ्नुभएको छ। उहाँहरुलाई नै जिताउने आशामा हिडिरहेको छु,’ भरतपुरमा भेटिएका परियारले भने, ‘चिनेका मान्छेले राम्रै गर्लान भन्ने आश।’

स्थानीय तहको निर्वाचन हरेक पाँच बर्षको अवधिमा हुने गर्दछ। गोरखाका कोमलनाथ खनाल मतदान गर्न बिहिबार बेलुका घर फर्कदै छन्। तर, भोट हाल्दैमा जनताको जिवनस्तरमा परिवर्तन हुने कुरामा उनलाई विश्वास छैन। ‘विकास त के नै होला र? हामी गरेर खाने मान्छेलाई कसैले हेर्ने होइन। यहाँभन्दा पहिले भोट हालेर के भयो र?’ उनले भने, ‘सबै भोट हाल्न गएपछि म नजादाँ नसुहाउने भएर हिड्न लागेको छु।’

स्थानीय तहको निर्वाचन शुक्रवार हुँदैछ। मतदान स्थल समेत निर्माण भैसकेका छन्। ‘हाम्रो मतदान स्थलमा ७ वटा मतदान केन्द्र छन्। सबै बुथहरु समपन्न भएका छन्। अलिकति हुरीबतास पानीको विषयमा के हुन्छ भन्ने छ। यद्यपि मतदानका लागि सबै तयारी पूरा भएको छ,’ भरतपुरको सिद्धिविनायक माविका मतदान अधिकृत माधव पौडेले मतदानले भने, ‘सुरक्षा व्यवस्था पनि मजबूत भएकाले भोलि बिहानै देखि आएर मतहाल्न सक्नुहुन्छ।‘

चितवनमा १ सय ६१ मतदान स्थलमा ४ सय ५१ मतदान केन्द्रहरु रहेका छन्। बैशाख ३० गते हुने निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्की बताउँछन्। सबै मतदान केन्द्रमा २७ गतेदेखि मतदान अधिकृत गएर खटिनुभएको छ । ‘मतदाता परिचय पत्र वितरण, मतदाता शिक्षा, मतदान केन्द्र लगायतको निर्माणका काम भैसकेका छन्,’ उनले भने, ‘शुक्रवार हुने निर्वाचनका सबै तयारी भैसकेको छ।’

चितवनमा तीन लाख ९७ हजार ६८५ जनाले मतदानमा भाग लिन पाउनेछन्। त्यसमध्ये ८४ हजार ६८३ जना नयाँ मतदाता हुन्। अरुको लहलहैमा नभई आफ्नै स्वविवेक प्रयोग गरि सक्षम जनप्रतिनिधि कार्कीले आम मतदातालाई  अनुरोध गरे।

प्रकाशित: २९ वैशाख २०७९ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App