६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कैलाली पुगेर ओलीले भनेः बिना कारण मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकापुर हत्याकाण्डको योजनाकारको आरोप लागेर जेलमा रहेका रेशम चौधरीलाई बिना कारण थुनामा राखेको बताएका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिकामा बिहीबार दिउँसो चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छ रेशम चौधरी जेलमा छन्। कैयौं हजार मान्छे मारेकाे मान्छे जेलमा हुनु परेन, यहाँ हुँदै नभएको गल्तिमा मान्छेलाई मुद्दा लगाएर जेलमा राखेका छन्।  

टिकापुर काण्डमा एसएसपीसहित ८ जना प्रहरी र एक बालक मारिएको घटनाको आरोपमा चौधरी थुनामा छन्। कैलाली क्षेत्र नं १ वाट प्रतिनिधिशभामा चुनाव समेत जितेका चौधरीलाई झुठो मुद्दा लगाएर जेलमा राखेको थारु समुदायले आरोप लगाउँदै आएका छन्। 

थारु समुदायको समस्या समाधान गर्न आफ्नो सरकारका बेला ६ बुँदे सम्झौता थारु समुदायका नेतासँग सम्झौता भएको अध्यक्ष ओलीले बताए। ६ बुँदे सम्झौता कार्यान्वयन नभएको र यो सरकारले ६ महिनासम्म समस्या समाधानका लागि कुनै पहल नगरेको उनले आरोप लगाए।  

कार्यक्रमा उनले भ्रष्टाचार उन्मुलन गर्न र विकासका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न पनि मतदाता समक्ष आग्रह गरेका छन्। एमालेका उम्मेदवारले जितेमा विकास र भ्रष्टाचार उन्मुलन गर्ने कुराको जिम्मा आफूले लिने बताए। ‘म यहाँ यसकारण आएको छु, हाम्रा उम्मेदवार जिताएमा भ्रष्टाचार गर्ने छैनन्, भ्रष्टाचार गर्न दिने छैनन्, विकासका कामलाई अघि बढाउने छन्, जनताको दुःख र समस्यामा साथ दिने छन्',’उनले भने,‘यसको जिम्मा म लिन्छु।'

अध्यक्ष ओली बिहान काठमाडौंबाट जहाजमा धनगढीको गेटा बिमानस्थलमा उत्रेर हेलिकोप्टरबाट चुनावी सभालाई सम्बोधन गर्दै बर्दगोरिया पुगेका थिए। बर्दगोरियाको चुनावी सभालाई सम्बोधन गरेपछि ओली कंचनपुरको बेलौरीमा पुगेर चुनावी सभालाई सम्बाेधन गरेका थिए। बेलौरीपछि धनगढी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: २२ वैशाख २०७९ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App