४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

थरीथरी पृष्ठभूमिका उम्मेदवार

गाई त बाँध्यो, ढुङ्ग्रोमा मोही छैन,

मोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन

गरिबको बोल्दिने कोही छैन, कोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन

२०५३ सालमा ‘बलिदान’ फिल्ममा समावेश यो गीत स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा फेरि चर्चामा छ। दुई वर्षअघि यस गीतको रिमेक बनाएका र्‍यापर बालेन शाह स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार हुन्।

उनले डिजिटल सरकार, आइडिया बैंकदेखि व्यक्तिगत घटना दर्ता र वृद्ध भत्ताको होम डेलिभरी, कक्षा आठसम्मको पाठ्यक्रम परिमार्जन गरी पौराणिक शिक्षा दिनेसम्मको योजना घोषणापत्र मार्फत सार्वजनिक गरिसकेका छन्। स्ट्रक्चरल इन्जिनियर समेत रहेका र्‍यापर शाह यतिखेर भोट माग्न कलेजका विद्यार्थीदेखि विभिन्न समुदायमा पुगिरहेका छन्।

उनले उम्मेदवारी घोषणा गरेसँगै कलाकारहरूले ‘बालेन फर मेयर’ जस्ता ह्यासट्यागलाई सामाजिक सञ्जालमा ट्रेन्डिङ गराइरहेका छन्। ‘नेताहरूले देश बनाएनन् भनेर गुनासो गर्नुको सट्टा हामी युवाले क्रान्तिको सुरुआत गर्नुपर्छ भन्ने लागेर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको हुँ,’ शाहले भने, ‘पुराना अनुहार दोहोरिनुभन्दा नयाँ युवाले देश हाँक्ने आँट गर्नुपर्छ।’

काठमाडौं महानगरपालिका मेयरमा उम्मेदवारी दिनुअघि आफूले यहाँका समस्या पहिचान र तिनको समाधानका निम्ति लामो समय गृहकार्य गरेको दाबी उनको छ। ‘फोहोरमैलादेखि खानेपानी, बत्ती, ढल, सडकको समस्याले काठमाडौं कुरूप बनिरहेको छ,’ उनले भने, ‘अव्यवस्थित सहरमा भएको हरियाली र मौलिक संस्कृति मासिँदै गएको छ।’

६५ जिल्ला पुगेर विभिन्न संरचनाको डिजाइन र योजना बनाएको दाबी गर्दै उनले युवाको जोसलाई भोट दिन आग्रह गरे। शाह मात्र होइन, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कलाकारदेखि गैरराजनीतिक व्यक्तिसमेत उम्मेदवारको रूपमा देखिएका छन्। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी मिस नेवा २०११ सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरमा उठाएको छ।

‘अव्यवस्थित काठमाडौंलाई बस्नयोग्य सहर बनाउन मैले स्वतन्त्र रूपमा मेयर उठ्ने घोषणा गरेकी थिएँ,’ उनले भनिन्, ‘विभिन्न राजनीतिक दलसँग छलफल हुँदा नेकपा एमालेले युवाहरूको प्रतिनिधित्व गराउँदै मलाई काठमाडौं महानगरपालिकाको उपमेयरमा अवसर दिने जनाएपछि सोही दलमा आबद्ध भएर राजनीति सुरु गरेकी हुँ।’ काठमाडौंलाई व्यवस्थित सहर बनाउन उनी फोहोर, यातायात र सडक व्यवस्थापन गर्नुपर्ने तर्क गर्छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगन्ज महानगरपालिकाको मेयरमा पत्रकार गिरीश गिरीलाई उम्मेदवार बनाएको छ। लामो समय पत्रकारितामा सक्रिय उनले हालै शताब्दी पुरूष सत्यमोहन जोशीका बारेमा पुस्तक लेखेका थिए। ‘आफू जन्मेको ठाउँमा केही गर्न सकिन्छ भन्ने आँटसहित वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको छु,’ उनले भने, ‘वीरगन्जलाई नेपालको उत्कृष्ट सहर बनाउने अभियानसहित उम्मेदवारी दिएको हुँ।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनका बुवा गोपाल गिरीलाई २०६० सालमा वीरगन्ज नगरपालिकाको प्रमुखमा मनोनीत गरेका थिए। त्यसको झन्डै ६ महिनापछि माओवादीले गोली हानी गोपालको हत्या गरेको थियो। त्यस्तै पोखरा महानगरपालिकाको मेयरमा लेखक गनेस पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। ‘पैताला’ कृतिका लेखक पौडेलले स्थानीय विकासमा राजनीतिक दल हाबी भएकाले त्यसको अन्त्यका लागि ‘अटेरी’ अभियानमार्फत आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन्।

प्राथमिक शिक्षाको गुणस्तर सुधार्नेदेखि पठन संस्कृतिको विकाससम्मको योजनासहित उम्मेदवारी दिएका उनले पोखराको लेकसाइडबाहेकका स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने घोषणा गरिसकेका छन्। नेपाल प्रहरीका एसएसपी गोविन्द साहले धनुषाको विदेह नगरपालिकाको मेयरमा उठ्न राजीनामा दिएका छन्।

नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिन राजीनामा दिएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। ‘स्थानीय तह निर्वाचनमा मेयरमा उठ्न प्रहरीको जागिरबाट राजीनामा दिएको हुँदा नेपाली कांग्रेसले टिकट नदिए पनि स्वतन्त्र उम्मेदवारी दिएको छु,’ उनले भने।

यसैगरी गायक टंक तिमिल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट कलाकार राज घिमिरेले गोदावरी नगरपालिका–३ मा वडाध्यक्ष र हास्य कलाकार दिनेश काफ्लेले सिन्धुली कमलामाई नगरपालिका–८ मा वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

होटल व्यवसायी देवानन्द अर्यालले बाँकेको कोहलपुर नगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले विकासका योजनामा राजनीतिक दलको हाबी हुने प्रवृत्तिविरुद्ध अभियान चलाएर उम्मेदवारी दिएको बताए। त्यस्तै बागलुङ नगरपालिकाको मेयरमा नर्स नितु खड्काले उम्मेदवारी दिएकी छन्। सामाजिक परिवर्तनका लागि स्थानीय तह निर्वाचनअन्तर्गत स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिएकी उनले समाज विकासका लागि युवाहरू अग्रपंक्तिमा लाग्नुपर्ने तर्क गर्छिन्।

स्थानीय तह निर्वाचनका लागि देशभर एक लाख ५३ हजार दुई जनाको मनोनयन दर्ता भएको छ। तीमध्ये नगरपालिका प्रमुखमा तीन हजार ५१०, गाउँपालिका अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार १६८, उपाध्यक्षमा दुई हजार ४०१, वडाध्यक्षमा ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र खुला सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ। देशभर रहेका ७५३ पालिकाका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष र २९ हजार ९७२ सदस्यका लागि निर्वाचन हुँदैछ।

प्रकाशित: १७ वैशाख २०७९ ००:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App