२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरामा सहज छैन एकीकृत समाजवादीलाई

स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा कांग्रेसले सुरुदेखि नै दावी गर्दै आएको थियो। सत्ता गठबन्धनको भागबण्डामा पर्दा पोखरा गठबन्धभित्रकै अर्कै दलको पोल्टामा जाने हो की भन्नेमा कांग्रेस सुरुदेखि नै सशंकित थियो। त्यही शंका र हल्ला चल्दै जाँदा कांग्रेस नेतृत्व पोखरा अन्य दलको पोल्टामा जानु हुँदैन भनेर दवाव दिन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य शीर्ष नेतालाई भेट्न राजधानी नै धायो।  

सभापति र शीर्ष नेतालाई भेटेर फर्केपनि कांग्रेस पोखरा आफुले पाउनेमा दोधारमै थियो। जिल्लास्तरमा पनि पोखराको मेयरको टिकट अरु दललाई दिनै नहुने कांग्रेसभित्रको दवाव उत्तिकै थियो। यो पटक पोखरामा कांग्रेसको अवस्था बलियो रहेको र जित्न सहज हुने आँकलन अनुसार मेयरमा दावा गरिरहँदा सत्ता गठबन्धको भागबण्डाको पेलाईमा पर्दा अन्ततः पोखरा कांग्रेसको चंगुलबाट फुत्कियो र नेकपा एकीकृत (समाजवादी)को पोल्टामा पुगेको छ।  

सुरुदेखि नै चाहना गरेको पोखरा कांग्रेसले त पाएन नै सभापति देउवाले कास्कीका पार्टी नेतालाई दोश्रोपटक काठमाडौं बोलाएर पोखराको मेयरको विषयमा विवाद नगर्न समेत निर्देशन दिए। सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले पोखरा महानगरपालिकाको मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछिको विरोधमा नेपाली कांग्रेसका असन्तुष्ट समूहले जिल्ला पार्टी कार्यालयमा बुधबार तालाबन्दी समेत गरे।  

सत्ता साझेदारबीचको गठबन्धनको यो निर्णयले पोखरामा कत्तिको असर पार्ला ? कांग्रेसका एकजना नेता भन्छन, ‘सभापति देउवा यो निर्णयप्रति टसमस हुने अवस्था रहन्न। सभापतिको निर्णय उल्ट्याउने र विरोधमा जाने आँट कसैसँग छैन। अर्के चिन्हमा भोट हाल्न मनले मान्दैन। तर, नेताहरुले गरेको निर्णय अटेर गर्न असहज पनि छैन। निर्णयलाई कसरि पालना गर्ने भन्ने मात्र हो।’ पहिले भन्दा अहिले कांग्रेस केही चलायमान बनेकोले पनि बलियो अवस्था बनेपनि गठबन्धनको निर्णय मान्य नेतृत्व बाध्य रहेको उनले बताए।  

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल गठबन्धनको निर्णयले अन्योलको अवस्था सिर्जना गरेको बताउँछन। ‘राजनीतिक दलभित्र फरक बिचार हुनु स्वभाविक हो। दल फरक भन्ने तर विचार एउटै मान्न बाध्य हुने अवस्था आएको हो’, दाहालले भने, ‘कार्यकर्तामा अन्योलमा छ। प्रदेश र संघीयमा बरु गठबन्धन हुन स्वभाविक हो। त्यो चुनाव अघि वा पछि पनि हुन सक्छ। तर, स्थानीय चुनाव फरक छ, स्थानीयमा गठबन्धन उपयुक्त होईन।’ स्थानीय तहको चुनाव जसले जितेपनि पाँचवर्षका लागि हुने भएकोले ढुक्कले काम गर्ने वातावरण हुने भएकोले त्यहाँ गठबन्धन जरुरी नपर्ने उनले बताए।  

‘स्थानीय तहमा गठबन्धन जरुरी छैन। स्थानीय तहमा गठबन्धन हुँदा अप्ठरो हो। फरक छुट्याउने कसरी हो भन्ने हो,’ दाहालले भने, ‘गाउँका मतदाताले चुनाव चिन्हका आधारमा फरक छुट्याएको हुन्छ, उसमा सैद्धान्तिक ज्ञान हुँदैन। त्यसैले सबै आकारमा गठबन्धन राम्रो होईन।’ गठबन्धनको निर्णयलाई अन्तिम चरणमा मान्दिन भन्ने पनि उत्तम नहुने उनले बताए।

 ‘कांग्रेसको यो विरोध कि अलिकति अघि हुनुपर्दथ्यो। तर, अन्तिम अवस्थामा आएर तालाबन्दी गर्नु राम्रो होईन,’ उनले भने, ‘इमान्दार कार्यकर्ताले केन्द्रको निर्णय मान्न बाध्य हुनेछन्। लामो समय दलको राजनीति गरेका नेतामा वितृष्णा आउन सक्छ।’  

दाहालको विश्लेषणमा सभापति देउवाको निर्णय अकाट्य हुन्छ। देउवा अहिले गरेको निर्णय फेर्न तयार छैनन। ‘कांग्रेसको दवाव पहिले देखि नै हुनुपर्ने हो। लगभग निर्णय भएपनि दवाव दिएर अर्थ रहन्न। मतदाता खुसी हुुने अवस्था रहन्न,’ उनले भने, ‘आकांक्षीले पाँचवर्ष कुर्नुपर्ने अवस्था रहयो। राजनीतिक निष्ठा प्रतिष्ठामा भर पर्छ। अर्काे पाँचवर्षपछिको अवस्था पनि के हुने अवस्था भन्ने हुन्छ। यसले नेताहरुमा वितृष्णा ल्याउन सक्छ।’ केन्द्रको निर्णय तल्लो तहसम्म पुग्नुपर्नेमा नपुग्दा यसले असर गर्ने उनले बताए।  

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी उम्मेदवारी पाउँदैमा एकीकृत समाजवादीलाई सहज नभएको बताउँछन। कांग्रेसले उम्मेद्वारी नपाउँँदा विरोध गरेपनि स्वतन्त्र उम्मेदवारी दिने भन्ने आँट कसैमा नहुने उनले बताए। ‘आवेशमा आएर अवज्ञा गर्ने कुरा भन्ने हुँदैन, त्यसले कांग्रेसको आधिकारिकता पनि पाउँदैन,’ उनले भने।  

त्यसबाहेक मेयरको उम्मेदवारी पाएको दलले अरु दलका मतदातालाई रिझाउन पनि उत्ति सहज नभएको उनले बताए। ‘सबै मतदातालाई एकैपटक परिवर्तन गर्न सहज छैन। तर, उम्मेदवारले कस्ता खालका कुरा ल्याउन सक्छन भन्ने हो,’ मुल्मीले भने, ‘चुनाव प्रचारप्रसारलाई पनि कसरी गर्ने भन्ने खुलेको छैन। प्रचारप्रसारको मोडालिटी नै बनेको छैन। त्यसैले सहज अवस्था छैन।’ मुल्मीले पनि स्थानीय निर्वाचनमा गठबन्धन व्यवहारिक नभएको बताए।

‘कार्यकर्ताले आफ्नो दलको उम्मेदवारको प्रचारप्रसारका लागि जति मेहनत गर्दथे, अर्काे दलको उम्मेदवारका लागि त्यो कम हुन सक्छ। तर, उम्मेदवार हुने दलले बढी मेहनत गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘उम्मेदवार भएको दलको मेहनत चाहिन्छ ।’ उनका अनुसार स्थानीय तहमा गठबन्धन गर्ने मात्र काम भएको छ। तर चुनावी रणनीति कसैले पनि बनाउन सकेका छैनन। ‘सबै दलको साझा विपक्षी एउटै भनिएपनी आन्तरिक रुपमा बिचारमा भिन्नता छ। त्यसले गर्दा सहज छैन,’ उनले भने।  

उनको विश्लेषणमा चुनावी रणनीतिको नेतृत्व उम्मेवदार भएको दलले लिनुपर्छ। त्यसैले मतदातालाई रिझाउने र कांग्रेसले नेतृत्व गर्ने व्यक्तिलाई बढी विश्वास गर्नुपर्छ। ‘टिकट पाउँदैमा सहज छैन, त्यो त प्रक्रिया हो, यो नै अन्तिम होईन,’ उनले भने। चुनावी परिणाम पछि कांग्रेसले कुनै पनि रुपमा दोष खेप्नुपर्ने बाध्यता आउने उनले बताए।  

एकीकृत समाजवादीका कास्की अध्यक्ष समेत रहेका मेयरका आकांक्षी धनराज आचार्य पनि देशको विषम परिस्थितिमा गठबन्धन बनेको र नयाँ कुरा ह्याण्डल गर्न केही कठिन पनि हुनसक्ने बताउँछन। तर, बारम्बारको चुनावी अनुभवले निखारिएको उनले बताए।  ‘गठबन्धनबीच भएका दलबीच समस्या हुँदैन। सबैको जोडमा सबैको स्थानीय सरकार बनाउने हो। लथालिंग भएको पोखरालाई राम्रो बनाउने हो,’ उनले भने, ‘त्यसका लागि सबै दलसँग बसेर छलफल गर्नेछौ । सबै दलको घोषणापत्र एकैठाउँ राखेर ‘एकल’ घोषणापत्र बनाउने हो।’ पोखरामा झन्डै सतप्रतिशत मतदाता साक्षर रहेकोले पनि कांग्रेसको मत तान्न अप्ठेरो नभएको उनले बताए।

प्रकाशित: ८ वैशाख २०७९ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App