२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतपत्रमा धाँधली गरेको भन्दै काँग्रेस पार्टी कार्यालय बारामा तालाबन्दी

जिल्ला कार्य समितिको सदस्यहरुको मत गणनामा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले नेपाली काँग्रेस बाराको पार्टी कार्यालयमा शुक्रबार तालाबन्दी गरेका छन्।  

नवनिर्वाचित सभापति राजेश राय यादव समूहले बिहीबार रातिको सयममा मतपत्र रहेको कोठाको ताला फाेडेर आफ्नो पक्षका कार्य समिति सदस्यहरुलाई विजयी बनाएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको पत्रकार सम्मेलनमा नवनिर्वाचित उपसभापति मनोज भट्टले बताएका छन्।

नेपाली काँग्रेस बाराको १४औँ जिल्ला अधिवेशनमा पालिकातर्फका ४३ जना जिल्ला कार्यसमितिको मत गणना प्रक्रिया चलिरहँदा निर्वाचन क्षेत्र नम्बर ४ को चार वटा मतपेटीकाहरुमा ४९१ मत पत्रहरु खसेको सबै पक्षले मुचुल्का गरेको पत्रकार सम्मेलनमा भट्टले दाबी गरे।

चार वटा मतपेटिका मध्ये  तीन वटा मतपेटीकाबाट ४९३ मतपत्र भेटिएपछि एउटा मतपेटिका नखोलिँदै खसेको मतभन्दा २ मत बढी भेटिएपछि मत गणना कार्यलाई स्थगित गरिएको थियो।निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु गर्नुभन्दा अगाडि निर्वाचन क्षेत्र नम्बर १,२,३ को पालिका स्तरीय जिल्ला कार्य समितिको सदस्यहरुको मतगणना हुँदा यादव प्यानलबाट उम्मेद्वार बनेकाहरु सय भोटले पछाडि रहेको देखेर नै यादव समूहले बाँकी रहेको ४ नम्बरको मतपेटीकामा बाहिरबाट ल्याएर मतपत्र राख्दा खसेको भन्दा बढी मतपत्र हुन पुगेको उनले बताए।

खसेको मतपत्रभन्दा एउटा मतपेटी नखोल्दै बढी भेटिएकोले कार्यलयले मतगणना प्रक्रियामा धाँधली गरिएको र बढी भेटिएको मतपत्रको बारेमा टुँगो नलागेसम्म मतगणना कार्य स्थगित गरी राख्ने सहमति विपरीत रातिको समयमा मतपेटीका राखिएको कोठाको ताला तोडी नवनिर्वाचित सभापति राजेश राय यादवले आफ्ना प्यानलका सदस्यहरुलाई विजयी भएको घोषण गराउनु कार्यले लोकतान्त्रिक पार्टीमा तानाशाही कार्य सुरु गरिएकोमा पुनः निर्वाचन क्षेत्र नम्बर ४ मा मतदान गर्नुपर्ने माग समेत भट्टले पत्रकार सम्मेलनमा गरे।

मतपत्रभन्दा मतपेटीकाबाट बढी मत भेटिएको र मतपेटीकामा बाहिरबाट ल्याएर मतहरु राख्ने कामहरु गरिएको कार्यको टुँगो नलागेसम्म मतपेटीकाहरुलाई सुरक्षित राखिदिनका लागि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र एसपी दिलीप सिँह देउवालाई जिल्ला प्रशासन कार्यालय बारामा बिहीबार भेटेर आग्रह गर्दा सहायक प्रजिअ शिवराज सेढाँईले मतपेटीका राखिएको कोठाहरुको सुरक्षा लागि थप सुरक्षाकर्मीहरु परिचालन गरेर मतपेटीकाहरुलाई सबैको सहमतिमा खोलिने आश्वासन दिएर आफूहरूलाई जिल्ला प्रशासन कार्यालय बारा फर्काइएको भट्टले बताए।

जिल्लाका सुरक्षा निकायहरुलाई मतपेटीकाको बारेमा जानकारी गराउँदा गराउँदै पनि यादव समूहसँग मिलेर प्रमुख जिल्ला अधिकारी कटुवाल र एसपी देउवाले नै मतपेटीकाको मत फेरबदल गर्नमा सहयोगी बनेको पत्रकार सम्मेलनमा भट्टले आरोप लगाए।

प्रमुख जिल्ला अधिकारी र एसपीलाई जानकारी गराउँदा उनीहरुले सुरक्षाकर्मी परिचालन गरेर तीनवटै एक पक्षले सहमति नगरेसम्म मतपेटीका नखोलिने भन्दा भन्दै रातीमा यादव समूहले पालिका स्तरीय सदस्यहरु विजयी भएको घोषणा गर्नु कार्यले समेत एसपी र सिडिओको गतिविधिमाथि प्रश्न खडा गरेको भट्टले बताए। मतपेटीका राखिएको कोठाहरुमा अहिले पनि सिल बन्द गरिएको मतपेटिकाहरुको सिल तोडिएको अवस्थामा रहेको देखिन्छ।

नवनिर्वाचित उपसभापति अमिरीलाल पाल, सचिव भैयाराम यादव, निर्वतमान सभापति जयचन्द चौरसिया, निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति प्रभातकुमार चौरसिय, रामअयोध्या यादव लगाएतले पत्रकार सम्मेलन गरी राजेश राय यादवमाथि कारबाहीको माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

प्रकाशित: १८ चैत्र २०७८ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App