६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

तालमेलबारे मतान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने अधिकार तल्ला एकाइहरूलाई दिनुपर्ने बताएका छन्। शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले चुनावी तालमेलमात्र जित्ने आधार नभएको भन्दै पार्टीको शक्तिलाई संगठित गर्नुपर्नेमा जोड दिएका हुन्।

सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरू चुनावी तालमेलको पक्षमा लचिलो देखिए पनि इतर पक्षसँग निकट सदस्यहरू स्थानीय आवश्यकताअनुसार गठबन्धनको पक्षमा देखिएका छन्। निर्वाचनमा तालमेल गर्ने वा नगर्ने अधिकार तल्लो तहका संगठनलाई नै दिनुपर्ने भन्दै संस्थापन इतरका नेताहरूले पार्टी संगठनलाई संगठित गरेर जानसके निर्वाचन एक्लै जित्न सकिने दाबी गरेका छन्। आफ्नो शक्ति र संगठनलाई बलियो नबनाई अन्य दलसँग गठबन्धन गरेर मात्र निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न नसकिने जिकिर गर्दै केन्द्रीय सदस्यहरूले आवश्यकताअनुसार तालमेल गर्नुपर्ने धारणा राखेका छन्।

केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र रहेका असन्तुष्टि हटाउन आवश्यक रहेको औंल्याए। ‘पार्टीको शक्ति छिन्नभिन्न हुने तर गठबन्धन गरेर मात्र निर्वाचन परिणाम हाम्रो पक्षमा आउँदैन,’ नेता पौडेलले भने, ‘सबै तहका संगठनलाई सक्रिय बनाएर पार्टीलाई बढी लाभ हुनेगरी स्थानीय तहलाई नै तालमेलको अधिकार दिनुपर्छ।’

केन्द्रबाट नै तालमेलको निर्णय गर्दा त्यसको असर प्रत्युत्पादक हुने धारणा केन्द्रीय सदस्यले राखेका छन्। निर्वाचन तालमेलका लागि गठबन्धनमा रहेका राजनीतिक दलहरूको मतभार हेरेर मात्र निर्णय लिनुपर्ने सदस्यहरूले सुझाएका छन्। ‘हामी (कांग्रेस) ले मात्र भोट हालिदिएर निर्वाचन जित्न र जिताउन सकिँदैन,’ केन्द्रीय सदस्य रमा कोइराला (पौडेल) ले भनिन्, ‘पार्टीभित्र एकतालाई कायम राख्दै गठबन्धनका दलहरूको मतभार हेरेर चुनावी तालमेल गर्नुपर्छ। नत्र परिणाम हाम्रो अनुकूल नहुन सक्छ।’

केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, गोविन्दराज पोखरेल, दिनेश कोइरालासहितले गठबन्धन गरेर जान नसकिने धारणा राखेका थिए। गुरुङ र कोइरालाले चितवनमा गठबन्धन गरेर जानै नसकिने धारणा राखेका थिए।

नेकपामात्र होइन, एमालेसमेत फुटेका बेला एक्लै चुनाव लड्नुपर्ने बताउँदै उनीहरूले एमाले र माओवादी केन्द्र एक भएकै बेला पनि धरान उपमहानरगपालिकाको उपचुनाव जितेको भन्दै तालमेल नगरे पनि जित्न सकिने दाबी गरेका थिए। उनीहरूको भनाइप्रति असन्तुष्ट सभापति देउवाले तालमेलबिना चितवनमा निर्वाचन जितेर देखाउन चुनौती दिएका छन्। चितवनसहित देशभरिको पार्टी संगठनको अवस्थाका विषयमा आफू जानकार रहेको देउवाले बताएका थिए।

बैठकमा सभापति देउवासँग निकट केन्द्रीय सदस्य भने चुनावी तालमेलको पक्षमा उभिएका छन्। केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत, नैनसिंह महर, रामहरि खतिवडासहितका नेताहरूले स्थानीय आवश्यकताअनुसार तालमेल गर्नुपर्ने औंल्याएका छन्। केन्द्रीय सदस्य महरले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले जनतामा उत्साह ल्याएको धारणा राखेका थिए।

पार्टीलाई शक्तिशाली बनाउन स्थानीय स्तरदेखि नै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा राख्दै उनले गठबन्धन सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने तर्क गरे। भुइँको टिप्दा खल्तीको फुत्किने अवस्था सिर्जना हुनेतर्फ पार्टीले ध्यान दिनुपर्ने उनको धारणा थियो।

बैठकमा आफ्नो धारणा राखेका कांग्रेस प्रदेश सभापतिहरू चुनावी तालमेलको विपक्षमा उभिएका छन्। लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमा देखिएका छन् भने कर्णाली सभापतिले पनि माओवादीले दुःख दिएको गुनासो गरेका थिए। तर उनी स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने पक्षमा उभिएका छन्। मधेस प्रदेशका सभापति पनि आवश्यकताको आधारमा तालमेलको पक्षमा देखिएका छन्। तर प्रदेश १ र वाग्मती प्रदेशका सभापतिहरू भने गठबन्धनको पक्षमा देखिए। लुम्बिनी सभापतिले निर्वाचनमा तालमेल गर्दै जाँदा नेपाली कांग्रेसको हालत कांग्रेस आईको जस्तो हुनसक्ने धारणा राखे। लुम्बिनी प्रदेशमा कांग्रेसको स्थिति राम्रो भइरहेको भन्दै उनले थपे, ‘सोलोडोलो तह छुट्याएर गठबन्धन गर्नु फाइदाजनक हुँदैन। २ सय मत भएको ठाउँमा २० हजार मत मिसाउन सकिन्न।’

बैठकमा मिश्रित धारणा आएको जानकारी दिंदै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सरकार निर्माणको क्रममा एक खालको गठबन्धन बनेको भए पनि चुनावी गठबन्धनबारे अहिल्यै निर्णय नभएको बताए। ‘सत्ता गठबन्धन एउटा हो, सकेसम्म सत्ता गठबन्धन दलसँगै मिलेर जानुपर्छ भन्ने हो,’ प्रवक्ता महतले भने, ‘तर हामीले यी दलसँग गठबन्धन गर्ने, अरूसँग नगर्ने भनेका छैनौं।’

बैठकमा पार्टीको एकमहिने अभियानका क्रममा केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला गएका सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको भन्दै प्रवक्ता महतले सबैको धारणा आएपछि पार्टी एउटा निर्णयमा पुग्ने जानकारी दिए। एक सदस्यलाई पाँच मिनेट बोल्ने समय दिएको कांग्रेस केन्द्रीय समितिको अर्को बैठक आइतबार बस्नेछ। पाँच मिनेटपछि स्वचालित रूपमा माइक अफ हुने व्यवस्था मिलाइएको छ।

प्रकाशित: १२ चैत्र २०७८ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App