५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेमा तालमेलको अधिकार स्थानीय कमिटीलाई

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा स्थानीय कमिटी तहबाटै तालमेलको नीति अख्तियार गर्ने भएको छ। केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरमै तालमेल गरेर अघि बढ्न निर्देशन दिएको हो। यसअनुसार एमालेसँग तालमेल गर्न चाहने दलहरूले स्थानीय तहका कमिटीसँग छलफल गर्नुपर्नेछ।

बैठकको निर्णयअनुसार स्थानीय पार्टी कमिटीले चैत मसान्तभित्र एउटा पदमा एक महिलासहित कम्तीमा तीन सम्भावित उम्मेदवार छनोट गरेर माथिल्लो कमिटीमा पठाउनुपर्नेछ। त्यसपछि कुनै पार्टीसँग तालमेल गर्ने अवस्था आए स्थानीय कमिटीबाट अघि बढ्न सकिनेछ। केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक पात्रो पनि पारित गरेको छ। सोही पात्रोको आधारमा पार्टी पंक्ति परिचालित हुने एमालेले जनाएको छ।

उम्मेदवार छनोटका लागि एमालेले ६ बुँदे मापदण्ड बनाएको सो दलका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको उनले बताए।

यसैगरी उम्मेदवार सिफारिस गर्न वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख÷उपप्रमुखको हकमा गाउँ/नगर कमिटी र जिल्ला कमिटीको सिफारिसका आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर/महानगरको हकमा सम्बन्धित कमिटीका साथै जिल्ला तथा प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने केन्द्रीय कमिटी बैठकले तय गरेको छ।

घोषणापत्र मस्यौदा संयोजकमा पोखरेल  

बैठकले स्थानीय तह निर्वाचन घोषणापत्रको तयारीका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदल सदस्यहरूमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, मधेस प्रदेशका सहइन्चार्ज प्रभु साह, बुद्धिजीवी परिषद् इन्चार्ज मनोजजंग थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडा, स्थानीय विकास विभागकी उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र इन्जिनियर सुशील ज्ञवाली रहेका छन्।

बैठकले सबै केन्द्रीय नेतालाई भूगोलमा परिचालित हुन निर्देशन दिएको छ। बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम पारित गरेको छ। पार्टीका २९ वटा विभाग जिल्ला तहमा गठन गर्नसकिने निर्णय पनि भएको छ। अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि केन्द्रीय संगठन विभागले अभिलेख बनाइरहेको र जिम्मेवारी दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ।

स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ वैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकताअनुसार प्रतिबद्धतापत्र जारी गरिनेछ। अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल संवाद गर्ने प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए। त्यसैगरी रिटर्नी फेडेरेसन नेपालको इन्चार्जमा डा. सूर्य पाठक र नेपाल उद्योग तथा व्यवसाय महासंघको इन्चार्जमा भानुभक्त ढकाललाई तोकिएको छ।

प्रभु साहविरुद्ध रेखाको उजुरी  

एमाले केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य रेखाकुमारी झाले पोलिटब्युरो सदस्य प्रभु साहविरुद्ध उजुरी दिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर रौतहट जिल्लामा एमालेमा विवाद रहेको र त्यसको कारक प्रभु साह भएको भन्दै तत्काल समस्या समाधान गर्न उनले उजुरी दिएकी हुन्। तर ओलीले आफूलाई दिएको उजुरी प्रेसतिर पनि बाँडेको भन्दै असन्तुष्टि जनाएका छन्। अध्यक्ष ओलीले पार्टीको हुर्मत लिने काम नगर्न निर्देशन दिँदै सञ्चारमाध्यममा सूचना दिँदा व्यक्तिलाई सन्तुष्टि भए पनि पार्टीलाई फाइदा नहुने भन्दै असन्तुष्टि जनाएका थिए।

उनले पार्टीभित्रको कुरा पार्टीमै राख्न आग्रह गरेका थिए। प्रभु साहले एकलौटी गरेर जिल्ला अधिवेशनको हलले अनुमोदन नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थानमा लगेर सपथग्रहण गराएको भन्दै झाले कारबाहीको माग गरेकी हुन्। पार्टी अध्यक्षको प्रतिवेदनमा रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको भन्ने झुटो कुरा आएको दाबी गर्दै उनले त्यसलाई सच्याउन आग्रह गरेकी थिइन्।

प्रकाशित: ११ चैत्र २०७८ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App