१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावी तालमेल निश्चित छैन: महामन्त्री थापा

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै कांग्रेस महामन्त्री गगन थापा। तस्बिर: गोविन्द/नागरिक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिच चुनावी तालमेल हुने निश्चित नभएको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल हुन्छ भनेर भन्दैमा नहुने बताएका हुन्।  

गठबन्धन एक भएर चुनावमा जाने कुरा कांग्रेसको निर्णय गर्ने आफ्नै प्रक्रिया भएकाले माओवादी अध्यक्ष पुष्पकमलल दाहाललाई संकेत गर्दै अरूले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल नगर्ने उनले बताए। केही दिनअघि वीरेन्द्रनगरमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले तल्लो तहका नेताहरूले बोल्दैमा तालमेल नरोकिने बताएका थिए। पार्टीका मतदाताको मनोविज्ञान र हाम्रो आफ्नै तागतका आधारमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने एकथरि जबरजस्ती पार्टीमा रहेको महामन्त्री थापाले बताए। ‘स्थानीय तहको चुनाव भएकाले बैठकबाट स्थानीय तहका कुराहरू सुनेर पार्टीबाट निर्णय हुनुपर्छ र हुन्छ।’

महामन्त्री थापाले भने, ‘पार्टीभित्र दुई खाले लाइन भएकाले खुला छलफल हुन्छ। भित्र–बाहिर र खुला छलफल हुन्छ र सबैका कुरा सुनेर मत निर्माण गर्ने प्रयास गर्छाैं। अनि एउटै मत बनाएर चुनावमा तालमेल गर्ने नगर्ने मतका आधारमा निश्चित हुन्छ।’  

तालमेल गर्ने कि नगर्ने भनेर चैत्रको दोस्रो साता पार्टी बैठक बसेर निर्णय लिइने थापाले बताए। ‘अरू पार्टीका नेताले बोल्दैमा तालमेल हुँदैन,’ उनले भने, ‘पार्टीभित्रको बैठकबाट एकमत भएमा हुन सक्छ।’ जनतासँग जोडिएका खासखास मुद्दालाई पार्टीको चुनावी अजेन्डा बनाउने र त्यसको लागि अजेन्डा मात्र होइन काम गर्नेगरी एउटा टिम डेढ वर्षदेखि लागिरहेको थापाले बताए। ५ वर्षभित्र गर्न सकिने काम मुख्य अजेन्डा बनाइने र कुनकुन क्षेत्रमा केके गर्ने भनेर एउटा टिमले काम गरिरहेको थापाको भनाइ छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App