६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनमा तालमेल टुंगो केन्द्रीय समितिबाट

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने टुंगो केन्द्रीय समिति बैठकले लगाउने जनाएको छ।

वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै फागुन २९ गतेबाट एकमहिने अभियान सञ्चालन गर्ने घोषणा गरेको कांग्रेसले अहिले नै चुनावी तालमेलका विषयमा पार्टीले निर्णय गरिनसकेको जनाएको हो।

पाँचदलीय गठबन्धनलाई साथ लिँदै सरकारको नेतृत्व गरेको कांग्रेससँग स्थानीयका साथै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको दाबी सत्तासाझेदार अन्य दलका नेताहरूले गर्दै आएका छन्। त्यसलाई अस्वीकार नगरेको कांग्रेसले एकमहिने अभियानपछिको अवस्था मूल्यांकन गरेर निर्णयमा पुग्ने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभापति खड्काले पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने बताए। ‘अहिले सभापतिजीकै नेतृत्वमा गठबन्धन सरकार छ। हामी पहिलो चरणमा जनताको बीचमा जाँदैछौं,’ उनले भने, ‘निर्वाचन प्रक्रिया सुरु भएपछि गठबन्धनका दलहरूसँग मात्र होइन, पार्टीभित्र व्यापक छलफल गरेर टुंगोमा पुग्छौं। अहिले नै यस्तो हुन्छ भन्नु अपरिपक्व हुन्छ।’ पार्टीले एउटा सहमति गरेर मात्रै गठबन्धनका बारेमा निर्णयमा पुग्ने उनले दाबी गरे।

फागुन २९ देखि चैत २९ सम्म ‘घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने घोषणा कांग्रेसले गरेको छ। पार्टीले गरेका कामको जानकारी जनतासमक्ष पुर्‍याउनुका साथै जनताको कांग्रेसप्रतिको अपेक्षा अभियानका क्रममा सुन्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसले स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको वातावरण बनाउने जनाएको छ।

कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहाद्र्रता, एकता र ऊर्जा अभिवृद्धि गर्न ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति कांग्रेसले लिने महतले बताए। पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गरेर स्थानीय निर्वाचनमा कांग्रेसलाई बृहत्तररुपमा परिचालन गर्ने तयारी भएको उनले जानकारी दिए।

‘नेकपाको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राखिनेछ,’ महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानुपरेको यथार्थ जनसमक्ष राख्नेछौं।’

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले अभियानमा सात प्रदेश कार्यसमितिको भूमिकालाई अझ प्रभावकारी बनाउने भएको छ। त्यसका लागि प्रदेश समितिलाई विभिन्न जिम्मेवारी हस्तान्तरण गरिएको छ। केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र थप कार्यक्रम तर्जुमा गर्न सक्ने अधिकार दिइएको छ।

अभियानलाई सफल बनाउन भ्रातृ एवं शुभेच्छुक संस्थाहरू परिचालन गर्ने निर्णय गरे पनि कांग्रेसका प्रमुख भ्रातृ संगठनहरू अहिले नेतृत्वविहीन छन्। अभियानकै क्रममा स्थानीय घोषणापत्र निर्माण समिति गठन गर्ने भनिएको छ।

‘वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीतिअनुरुप व्यापक कार्य विभाजन गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अभियानका हरेक गतिविधिको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममार्फत व्यापक प्रचार गर्ने, त्यसका लागि चुस्त प्रचार टिम निर्माण गरिनेछ।’ अभियानको उद्घाटन फागुन २९ गते एकै साथ सबै जिल्लामा हुने कांग्रेसले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७८ ००:४४ बिहीबार

नेपाली कांग्रेस