२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: कांग्रेसीलाई डर ‘अन्तरघात’ कै!

२०१५ सालको पहिलो संसदीय निर्वाचनमा दुई निर्वाचन क्षेत्र रहेको दाङमा नेपाली कांग्रेस र गोर्खा परिषदबीच टक्कर पर्यो। त्यो बेला कम्युनिष्टहरु यहाँ उँचो राजनीतिक हैसियतमा थिएनन्। राणाहरुको निर्देशनमा चल्दै आएको गोर्खा परिषदलाई कांग्रेसले उछिन्यो, अन्ततः दुबै निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भयो।

त्यो निर्वाचनमा परशुनारायण चौधरी र गणेशकुमार शर्मा यहाँबाट संसद प्रवेश गरेका थिए। त्यसपछिको २०४८ को निर्वाचनमा दाङमा कायम भएका तीन क्षेत्र मध्य एक सीट बाहेक अन्यमा नेपाली कांग्रेस विजयी भयो। 

२०५१ को निर्वाचनमा यहाँ ४ क्षेत्र कायम भए। २०४८ यताको तीन वर्षको अवधिमा पनि कांग्रेस हाबी भयो। २०४८ मा एक सीट जीतेको एमाले यो अवधिमा पनि उहि स्थानमै सीमित बन्न पुग्यो। २०५१ पश्चात भएको २०५६ को संसदीय निर्वाचनमा कांग्रेसले आफ्नो जनमतमाथि उकास्यो भने एमाले झनै खुम्चिन पुग्यो।

त्यो बेलाका चारै निर्वाचन क्षेत्रमा कांग्रेस एकछत्र हाबी भयो। २०५६ को निर्वाचन पश्चात नेपालको राजनीतिमा ठूलो उथलपुथल आयो। तत्कालीन राज्यसत्ताको विरुद्ध द्वन्द्वमा होमिएको शक्ति माओवादी शान्ति प्रकृयामा आएपछि पुराना दलहरु ओझेलमा परे। कांग्रेसको पुरानो गढलाई आफ्नो प्रभावमा पारेर माओवादीले पहिलो संविधानसभा निर्वाचनमा यहाँका पाँचै सीट कब्जा गर्यो।

२०६४ को पहिलो संविधानसभा निर्वाचन यता यहाँको जनमत स्थिर रहेन। माओवादीले खोसिदिएको साख पुनः आफूमै कायम राख्ने नेपाली कांग्रेसको योजना पुनः सफल बन्यो। २०६४ मा हाबी माओवादीलाई शून्य जीतको अवस्थामा पुर्याएर नेपाली कांग्रेसले २०७० मा पाँचै सीटमा जीत हत्यायो।

२०७० मा जिल्लामा एकल जीत निकालेको कांग्रेस त्यसको ४ वर्षपछि पुनः हारको स्थितीमा पुग्यो। २०७४ को स्थानीय तहको निर्वाचनमा तीन गाउँपालिकामा मात्रै जीत निकाल्न सकेको कांग्रेसले दुई उपमहानगरपालिका, एक नगरपालिका र ३ गाउँपालिकाको नेतृत्व लिन असफल भयो। स्थानीय तहको निर्वाचनमा बेहोर्नु परेको पराजयलाई ‘विजय’मा परिणत गर्ने अवसर कांग्रेसका लागि त्यतिबेलाकै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन थियो।

तर यो निर्वाचनमा पनि कांग्रेसको नतिजा झन कमजोर बन्यो।  प्रतिनिधिसभा क्षेत्रमा शून्य बनेको कांग्रेस ६ प्रदेशसभा क्षेत्र मध्य जम्मा एउटा क्षेत्रमा मात्रै विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको प्रदेशसभा उपनिर्वाचनमा कांग्रेसले आफ्नो पुरै शक्ति खर्चियो। तर यो बेलासम्म पनि कांग्रेसले आफ्नो पक्षमा जनमत पार्न सकेन। कांग्रेसले यो उपनिर्वाचनमा पनि हार बेहोर्यो।

यी हारको कारण कांग्रेसले जहिल्यै एउटै पहिल्यायो ‘पार्टीभित्रकै अन्तरघात।’ त्यसोत, जीतमा पनि कांग्रेसले पार्टीभित्र अन्तरघात भएको भनेर नकार्न सक्दैन। फलतः जिल्लामा भएका निर्वाचनको जुनसुकै परिणामलाई कांग्रेसले पार्टीको अन्तरघातसंग जोडेर विश्लेषण गर्दै आएको छ। हार वा जीत दुबैमा अन्तरघात जोड्ने गरेको कांग्रेसले बुझाई छ, ‘अन्तरघात हारको प्रमुख कारण, अनि जीत पनि अन्तरघात हुँदाहुँदै जीत।’

पहिलो संविधानसभामा जिल्लामा माओवादीको एकछत्र राज चल्नुको प्रमुख कारण कांग्रेसले आफू भित्रको अन्तरघातलाई अर्थ्यायो। पार्टीकै नेता तथा कार्यकर्ताको चरम अन्तरघातका कारण पहिलो संविधानसभा निर्वाचनमा हार बेहोरेको विश्लेषण गरेका कांग्रेसीहरुले पछिल्लो संविधानसभा निर्वाचन –२०७० मा जीत निकाल्दा पनि अन्तरघात हुँदाहुँदै पनि जीत निकालेको विश्लेषण गरे।

स्थानीय तहको निर्वाचनको परिणामसंगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा बेहोर्नु परेको हारलाई पनि कांग्रेसले प्रमुख रुपमा पार्टी भित्रकै अन्तरघातसंग जोडेर हेर्यो। त्यसपछिको प्रदेशसभा उपनिर्वाचनमा पनि हारको कारण विश्लेषण भयो ‘अन्तरघात।’

कांग्रेसले आफूलाई जहिल्यै बलियो शक्तिका रुपमा उभ्याउँदै आएको छ। फलतः सांगठनिक कमजोरीलाई उसले हारको कारण मान्दैन। फलतः कांग्रेसभित्रको पुरानो अन्तरघातको रोगले आसन्न स्थानीय तहको निर्वाचनमा प्रभाव पार्ने खतरा कांग्रेसीहरुले देख्न थालिसकेका छन्।  

बिहीबार दाङ कांग्रेसले गरेको स्थानीय तहको निर्वाचन केन्द्रित छलफलमा अधिकांश जिल्ला नेता तथा कार्यकर्ताहरुले पार्टीका हरेक उम्मेदवारलाई हरेक कांग्रेसीले स्वीकार्न सक्नु पर्ने बताए। ‘मेरो वा हाम्रो उम्मेदवार भए मात्रै जीताउनु पर्छ भन्ने मानसिकताबाट कांग्रेसीहरु मुक्त हुनुपर्छ,’ कांग्रेसकी एक महिला नेतृले भनिन्, ‘कांग्रेसले कुकुरलाई टिकट किन नदेओस्, जीताउनु हाम्रो दायित्व हो।’ 

आफ्नालाई उम्मेदवार बनाउने होडका कारण उम्मेदवारहरु चुनावको मुखमा मात्रै टुंगिने समस्याका कारण पार्टीले हार बेहोर्नु परेको विश्लेषण कार्यकर्ताहरु गर्छन्। ‘समयमै टिकट दिएपछि पार्टीका असन्तुष्टहरुलाई उम्मेदवारहरुले मत्थर पार्न सक्छन्,’ अर्का कार्यकर्ताले भने, ‘नत्र भने उम्मेदवार बन्ने रेसमा रहेका अन्य आकांक्षीहरुले टिकट नपाएपछि रोष प्रकट हुन्छ र त्यो चुनावमा पोखिन्छ।’  

कम्युनिष्ट पार्टीहरुमा आएको विभाजनका कारण कांग्रेसलाई आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पडक बलियो बनाउने अवसर पनि छ नै। तर चुनावमा देखिने पार्टी भित्रको अन्तरघातले कांग्रेसको सहज जीतलाई कठिन बनाईदिने होकि भन्नेमा कांग्रेसीहरु सशंकित देखिएका छन्। त्यसोत, केही समय अघि मात्रै सम्पन्न पार्टीको महाधिवेशनले पनि कांग्रेसीहरुलाई दुई खेमामा विभाजित गरिदिएको छ।

पार्टीको आन्तरिक निर्वाचनमा एकले अर्कालाई पराजित गर्न शक्ति खर्चेका कांग्रेसीहरु भित्र त्यो विजय र पराजयको ‘ह्यांग ओभर’ कायमै छ। फलतः यसले आगामी निर्वाचनमा कांग्रेसको अपेक्षालाई असर गर्ने खतरा कांग्रेसीहरुले देखिरहेका छन्।

तर दाङ कांग्रेसले अहिलेको तुष मत्थर बन्दै गएको तर टिकट वितरणका क्रममा ‘विभेद’ गरिए अहिलेको असन्तुष्टि त्यो बेला उजागर हुने बताउँछ। ‘पार्टीको आन्तरिक चुनावमा जीत्ने  र हार्नेहरुबीचको त्यती ठूलो असन्तुष्टि छैन,’ कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदी भन्छन्, ‘तर टिकट वितरण असमान तरिकाले भयो भने त्यो बेला अहिलेको असन्तुष्टि पोखिन सक्छ।’

तर उनले कांग्रेसको विधानतः निकटतम प्रतिष्पर्धी कांग्रेसको सोही कमिटीको सदस्य रहन पाउने भएकाले पनि पराजितसंगको सरसल्लाहबाट मात्रै पार्टीगत गधिविधिहरु चलिरहेको उनले बताए। ‘निकटतम प्रतिष्पर्धी पार्टीको सोही कमिटीको सदस्य रहन पाउने पार्टीको विधानले दिएको छ,’ उपसभापति सुवेदी भन्छन्, ‘यो विधानतः पार्टीको आन्तरिक निर्वाचनमा हार ब्यहोरेकाहरुको सरसल्लाहबाटै पार्टीगत गतिविधिहरु सञ्चालन भैरहेका छन्, यसर्थ पार्टीको आन्तरिक हार जीतको रोष प्रकट हुने परिस्थती बन्दैन।’

यता कांग्रेस लुम्बिनी प्रदेशले भने आफ्नो प्रदेशमा पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धाले उत्पन्न ‘तिक्तता’ अन्त्य भैसकेको दाबी गर्छ। फलतः पार्टीको आन्तरिक प्रतिष्पर्धाले निम्त्याएको तिक्तताको असर निर्वाचनमा कुनै पनि हालतमा नदेखिने कांग्रेस प्रदेशको दाबी छ। ‘अरु प्रदेशमा के हुन्छ, थाहा छैन,’ कांग्रेस लुम्बिनी प्रदेशसभापति अमरसिंह पुनले भने, ‘तर हाम्रो प्रदेशको हकमा भने आन्तरिक निर्वाचनको तिक्तता चुनावमा कुनै पनि हालतमा देखिन्न।’

अहिले कांग्रेसको आन्तरिक निर्वाचनमा जीतेका तथा हारेका नेताहरु सबै सहकार्य गरेर चुनावी अभियानमा खटिएको भन्दै पुनले टिकट वितरणमा गरिने सुझबुझपूर्ण निर्णयले कांग्रेसलाई जिताउने दाबी गरे। ‘समाजमा को ब्यक्ति राम्रोसंग भिजेको, को ब्यक्ति समाजमा लोकप्रिय छ, उसैलाई टिकट दिलाईने छ,’ पुनले भने, ‘समाजले पत्याएको ब्यक्तिलाई टिकट दिएपछि त्यहाँ असन्तुष्टि उत्पन्न हुने भन्ने कुरै हुँदैन।’

पुनले अहिले सक्षम उम्मेदवारको पहिचान गरेर समयमै टिकट उपलब्ध गराईने समेत बताए। ढिला टिकट वितरण गरिँदा निर्वाचनमा अपेक्षित मत प्राप्त नभएका उदाहरण कांग्रेसको ईतिहासमा थुप्रै घटना रहेको भन्दै पुनले आसन्न निर्वाचनमा त्यो कमजोरी नहुने दाबी गरे। ‘विगतमा चुनावको मुखैमा मात्रै टिकट दिने परिपाटिले पनि कांग्रेसलाई हानि गरेका उदाहरण छन्,’ पुनले भने, ‘कांग्रेसभित्रको यो समस्या तोडिनु जरुरीछ, हाम्रो प्रदेशमा आसन्न निर्वाचनमा यो समस्या कदापि दोहोरिने छैन।’

प्रकाशित: २० फाल्गुन २०७८ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App