३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन २०७९: फागुन १९ गते मतदाता नामावली प्रकाशित गरिँदै

नामावली विवरणमा निवेदन, दाबी, विरोध उजुरी भए पेस गर्न सकिने

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतदाता नामावलीलाई अन्तिम रूप दिन लागिएको छ। निर्वाचन आयोगले मतदाता नामावलीको टुंगो लगाउन आउँदो १९ देखि २६ गतेसम्मलाई कार्यतालिका सार्वजनिक गरेको छ।  

मतदाता नामावलीमा आफ्नो नाम भए÷नभएको यकिन गर्ने, कुनै त्रुटि भए सच्याउनेलगायतका काम यो अवधिमा गरिँदैछ। आयोगले आउँदो १९ गते जिल्ला निर्वाचन कार्यालय, जिल्लाका सबै स्थानीय तह, सबै वडा कार्यालय र जनसम्पर्क हुने कार्यालयहरूमा सम्बन्धित स्थानको मतदाता नामावली सार्वजनिक गर्नेछ। यसरी सार्वजनिक गरिएको नामावलीमा दाबी–विरोध भए उजुरी गर्नसमेत मौका दिइएको छ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार आउँदो १९ गते मतदाताको पहिलो नामावली प्रकाशित हुनेछ। २० देखि २२ गतेसम्ममा त्रुटि सच्याउन सम्बन्धित प्रमुख नाम अधिकारीको कार्यालयमा निवेदन दिनुपर्नेछ। त्रुटि सच्याउन सम्बन्धित मतदाता वा उसको परिवारको सदस्यले निवेदन दिन सक्नेछ।

कुनै झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरिएको पाए कुनैपनि व्यक्तिले प्रमुख नाम दर्ता अधिकारीको कार्यालय (जिल्ला निर्वाचन कार्यालय)मा उजुरी दिन सक्नेछन्। कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकामा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिनेछ। यति काम गर्नुपरे फागुन १९ देखि २२ भित्रमै गरिसक्नु अनिवार्य रहेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले बताए। ‘त्रुटि सच्याउने, झुटा विवरणको उजुरी दिने र दुईतिर भएको नाम एकतिर कायम गर्न निवेदन दिने काम २२ गते कटेपछि हुनेछैन,’ उनले भने, ‘तोकिएको मितिमा नगरे कम्प्युटर सफ्टवेयरले नै सपोर्ट गर्दैन।’  

मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम प्रकाशित नामावलीमा भए त्यसलाई हटाउन फागुन २३ सम्ममा निवेदन दिनुपर्नेछ। सम्बन्धित मतदाताको एकाघरको सदस्य वा कुनै व्यक्तिले यस्तो निवेदन दिन सक्नेछन्।  

फागुन २३ भित्र निर्वाचन कार्यालयले बसाइँ सरेका, मृत्यु भएका, नागरिकता त्यागेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट लिनेछ। इलाममा २ जनाको नागरिकता रद्द भएको विवरण जिल्ला प्रशासन कार्यालयबाट आइसकेको पनि फुयाँलले बताए। यसको अवधि फागुन २० देखि २३ सम्मलाई तोकिएको छ।

उजुरी जसको नाममा परेको छ, उसले सफाइ दिन फागुन २० देखि २४ सम्मको मौका दिइएको छ। ‘कसैको नाममा उजुरी परे उसलाई कार्यालयले सम्पर्क गरी सफाइको मौका पनि दिनेछ,’ उनले भने, ‘सफाइ दिँदा आफू त्यही व्यक्ति भएको प्रमाणित हुने विवरण भने अनिवार्य देखाउनुपर्ने छ।’  

तोकिएको अवधिमा कुनै उजुरी वा निवेदन आए फागुन २४ भित्रमा प्रमुख नाम दर्ता अधिकारीले त्यसबारे आवश्यक छानविन गरी निर्णय गर्नेछन्। उजुरी नै नपरेपनि कुनै मतदाता बसाइँ सरेर गएको, मृत्यु भएको, नागरिकता त्यागेको वा रद्द भएको पाइए कार्यालयले फागुन २५ सम्ममा त्यस्ता मतदाताको नाम सूचीबाट हटाउने छ। र, तोकिएको समयभित्र परेका निवेदन, उजुरी र अन्य माध्यमबाट पाएको विवरणअनुसार सच्याइएको नामावली त्यसै दिन निर्वाचन कार्यालयमा प्रकाशन गरिनेछ। फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन आए फागुन २६ मा त्यसको छुट्टै विवरण तयार गरी निर्वाचन आयोगमा पठाउने कार्यसूची छ।  

जिल्ला निर्वाचन कार्यालयले आयोगबाट प्राप्त हुने नामावली विवरण, कार्यतालिका र अनुसूची फारामहरू फागुन १८ अघि नै जिल्लाका सबै स्थानीय तहलाई पठाउनेछ। स्थानीय तहले आफ्ना सबै वडा कार्यालयमा फागुन १९ मा त्यो नामावली प्रकाशन गर्ने व्यवस्था मिलाउनेछन्। आयोगले निवेदन, उजुरी र अन्य माध्यमबाट पाएको सूचनाअनुसार मतदाता नामावली आवश्यक अद्यावधिक गरी आयोगमा पठाउने छ। आयोगले त्यसपछि मतदाताको अन्तिम नामावली प्रकाशनको तयारी गर्नेछ।  

निर्वाचन आउन अढाई महिना बाँकी रहँदा आयोगले अन्य सबैखाले तयारी गरिरहेको छ। इलाममा प्रारम्भिक विवरणअनुसार १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या २ लाख २१ हजार ९ सय ६० छ। ‘तर, नामावलीमा दाबी÷विरोध, निवेदन, उजुरी, छानविन र निर्णय गर्दा यो सङ्ख्या तलमाथि पर्न सक्ने भएकाले अहिलेको नामावली अन्तिम चाहिँ होइन,’ निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले भने।  

२०७४ सालको निर्वाचनमा इलाममा २ लाख ४ हजार ५४ मतदाता थिए। आउँदो निर्वाचनमा २०६१ साल वैशाख २९ सम्ममा जन्मिएका र २०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष उमेर पूरा हुनेले मतदान गर्न पाउनेछन्। तर, मतदान गर्न निर्वाचन घोषणा हुनुअघिकै मितिमा फोटोसहितको नामावलीमा नाम टिपाइसकेको हुनुपर्नेछ।

यसअघि इलाममा १ सय ४४ मतदानस्थल र २ सय ६६ मतदान केन्द्र रहेकामा अहिले हेरफेर गरिएको छ। आउँदो निर्वाचनका लागि अब जिल्लामा मतदानस्थलको संख्या १ सय ५१ कायम भएको छ। मतदान केन्द्रको संख्या भने टुंगो लागिसक्न बाँकी रहेको लिम्बूले जनाए। आयोगले १ हजार ५६ मतदाताका लागि एउटा र त्योभन्दा बढी भए २ मतदान केन्द्र निर्धारण गर्छ।

प्रकाशित: १४ फाल्गुन २०७८ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App