१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्राविधिक तहका कर्मचारीको भरमा कर्णालीका पालिका

कर्णालीका प्रायः स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा त छँदै थिए, त्यसमा पनि स्वास्थ्य, पशु, कृषि तथा शिक्षा शाखाका प्राविधिक कर्मचारीको भरमा प्रशासनिक काम हुँदै आएको छ।

पलिका दुर्गम भएकाले बाहिरबाट कर्मचारी आउनै नमान्नु र जनप्रतिनिधिहरु पनि स्थानीय कर्मचारीबाट आफू अनुकुलको काम लिन खोज्नुले पनि प्रशासन सेवा तर्फका कर्मचारीभन्दा अन्य सेवाका प्राविधिक कर्मचारीहरुले कर्णालीका प्रायः पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ।

कर्णालीका १० जिल्लामै प्रायः प्राविधिक तहका कर्मचारीले पालिका चलाइरहेका छन्। प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी भएपछि नजाँदा निमित्तले प्रभावकारी रुपमा विकास निर्माणका काममा निर्णय लिन कठिन हुँदै आएको छ। जसका कारण जनप्रतिनिधिहरु हावी भइरहेका छन्।

४ वटा पालिका रहेको मुगुमा दुईवटा तह निमित्तको भरमा चल्दै आएको छ। छायाँनाथ रारा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल रहेका छन्। उनी शिक्षा शाखाअन्र्तगत(आठौं तह)बाट निमित्त प्रमुख प्रशासकियको जिम्मेवारीमा आएका हुन्। उनले असार अन्तिमदेखि निमित्त पाएका हुन्। त्यस्तै सिनियर अहेव (छैटौं) दिपबहादुर कार्कीले २०७५ माघदेखि ३ वर्षदेखि खत्याड गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन्।

मुगुकै दुर्गम मानिने खत्याडमा शाखा अधिकृत तहको कर्मचारी जान मान्दैनन्। त्यस्तै मुर्गुम कार्मारोङ्ग,  सोरु गाउँपालिकामा शाखा अधिकृतले काम गरेका छन्। दुर्गम भएका कारण जिल्लामा कर्मचारी आउन गाह्रो मान्ने गरेको जिल्ला समन्वय समिति मुगुका निमित्त समन्वय अधिकारी भिमराज सेजुवालले बताए।

दैलेखमा ११ पालिका रहेका छन्। दैलेख सदरमुकाममा रहेको नारायण नगरपालिका ३ वर्षदेखि निमित्तको भरमा चल्दै आएको छ। जगतबहादुर बस्नेत ३ वर्षअघि सरुवा भएर सल्यानको बाघचौर नगरपालिकामा गएयता शाखा अधिकृत रेशम बुढाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन्।

नगर प्रमुख रत्नबहादुर खड्काको नजिकका नाता पर्ने भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा बुढाले लामो समयसम्म काम गर्ने अवसर पाएका हुन्। विकास निर्माणदेखि कर्मचारी खटनपटनमा नगर प्रमुखको इसारामा एकलौटी रुपमा बुढाले काम गरिरहेको आरोप जनप्रतिनिधिहरुले लगाएका छन्।

‘काम गर्ने पूर्ण अधिकारसहित उपसचिव नआउँदा विकासदेखि अन्य काम सुस्तायो,’ नारायण नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी नहुँदा नगरलाई घाटा लागेको छ। नयाँ आउनेलाई पनि नगरमा आउन दिँदैनन्।’

त्यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिका स्थापना भएयता प्रमुख प्रशासनिक अधिकृत (उपसचिव) ले पाईला समेत टेकेका छैनन्। शाखा अधिकृतको भरमा अहिलेसम्म नगरपालिकाको प्रशासन चल्दै आएको छ। जसले गर्दा सेवाग्राहीको कामसंगै योजना निर्माणको भुक्तानीमा हेलचक्राई हुने गरेको स्थानीयहरु बताउँछन्। दैलेखका तीन पालिका नौमुले गाउँपालिकामा सिनियर अहेव भुपेन्द्रबहादुर शाही र आठविस नगरपालिकामा शिक्षा शाखा प्रमुख (उपसचिव) गोकर्णनाथ योगी र ठाटीकाँध गाउँपालिका (अधिकृत छैठौ) मानबहादुर थापालाई प्रमुख प्रशासकीय अधिकृतको दुई वर्षदेखि जिम्मेवारी दिइएको छ।

प्रकाशित: २९ पुस २०७८ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App