१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाममा एमालेको अधिवेशन तयारी तीव्र

नेकपा (एमाले) इलामको आउँदो २३ गते हुने १०औं जिल्ला अधिवेशनका लागि ४५ सङ्गठित सदस्यबराबर एक प्रतिनिधि छानिने भएका छन्। एमालेले २२ महिला बराबर एक र ११ दलित सदस्य भएमा पनि एक प्रतिनिधिको सङ्ख्या निर्धारण गरेको छ।

आउँदो १४ गते जिल्लाका ८१ वटै वडा र इलाकाहरूमा जिल्ला अधिवेशनका लागि प्रतिनिधि  छानिने पार्टीले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ। ‘जिल्ला कमिटीले भूगोलबाट छानिने प्रतिनिधिको सङ्ख्या तय गरेको छ,’ अधिवेशन प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष महेश बस्नेतले भने, ‘आयोजक कमिटी, इलाका, सल्लाहकार कमिटी, मनोनीतलगायत सबैबाट करिब साढे छ सय प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुनेछन्। तर, प्रतिनिधिको यकिन सङ्ख्या चाहिँ केही दिनपछि मात्र टुंगो लाग्छ।’

जिल्लामा एमालेका १३ हजार ३ सय २ सङ्गठित सदस्य छन्। उनीहरूबाट छानिएर आएका प्रतिनिधिले जिल्ला अधिवेशनका लागि नेतृत्व चुन्न र विभिन्न पदमा उम्मेदवारी दिन पाउँछन्।

जिल्लाका १० वटै पालिका र सबै वडा कमिटीलाई आउँदो १८ गतेभित्रमा सदस्यताको यकिन विवरण अद्यावधिक गरी उपलब्ध गराउन सर्कुलर गरिएको छ।

जिल्लामा सहमतिमै नयाँ कमिटी बन्ने सम्भावना रहेको पार्टीले जनाएको छ। ‘१०औं केन्द्रीय महाधिवेशन जसरी, शालीन, शिष्ट र शान्त वातावरणमा सम्पन्न भयो, जिल्लामा पनि त्यसरी नै अधिवेशन सम्पन्न हुने विश्वासमा छौं,’ उनले भने, ‘सहमतिमै जिल्ला कमिटी निर्माण गर्न केन्द्रकै निर्देशन छ। नभएमात्र स्वच्छ निर्वाचन प्रक्रियामा जानुपर्ने हुन्छ।’

आसन्न अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरिएको छ भने सदस्यताको अन्तिम विवरण टुंगो लगाउन मातहतका कमिटी सक्रिय बनाइएको छ। पार्टीको राजीनीतिक र सांगठनिक प्रतिवेदन तयारीका लागि बेग्लाबेग्लै उपसमिति गठन गरिएको छ। अर्थ तथा स्रोत व्यवस्थान–परिचालन, आवास तथा खाद्य, प्रचारप्रसार, स्वयंसेवक, प्रतिनिधि नामदर्ता, स्वास्थ्य तथा आकस्मिक सेवालगायत बेग्लाबेग्लै समिति गठन गरिएको एमालेले जनाएको छ।

सदरमुकामस्थित सिटी हलमा हुने अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी बन्नेछ। त्यसपछि विभिन्न क्षेत्रबाट सदस्य मनोनीत हुने भएकाले इलामको जिल्ला कमिटी एक सय २५ देखि एक सय ३० सदस्यीय हुने अध्यक्ष बस्नेतले बताए। कमिटीमा कम्तीमा ३५ महिला रहनेछन्। अध्यक्ष बस्नेतका अनुसार कमिटीमा रहने समावेशी समुदायका सदस्यको सङ्ख्या तय गर्न बाँकी नै छ।

अधिवेशनमा नयाँ कमिटीका लागि मनोनयन शुल्क निर्धारण गर्न बाँकी छ। प्रत्येक प्रतिनिधिबाट पाँच सय रुपैयाँ लिएर प्रतिनिधिको नाम दर्ता गरिने प्रचारप्रसार समिति संयोजक प्रकाश अधिकारीले जानकारी दिए। ‘पार्टीका गाउँपालिका कमिटीलाई १५ हजार र नगरपालिका कमिटीलाई २५ हजार रुपैयाँ शुल्क तोकिएको छ,’ उनले भने, ‘अधिवेशन सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।’

प्रकाशित: १० पुस २०७८ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App