विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी छोडेकी छन्। पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै उनले पार्टी परित्याग गरेको बताएकी छन्।
उनले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन्। अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन्।
सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।
विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेको जानकारी दिएकी छन्। उनले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा ‘अधिकतम ढोंग’ पाएको उल्लेख गरेकी छन्।
प्रकाशित: ८ पुस २०७८ ०६:२२ बिहीबार