एउटा उखानै छ, ‘मुग्लानमा फसेको छोरो एक न एकदिन अवश्य घर फर्किन्छ।’ यहि उखानसँग मिल्नेगरि म्याग्दीका एकजना वृद्ध ४० वर्षपछि आफ्नो घरपरिवार खोज्दै स्वदेश फर्केका छन्।
२५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएपछि उतै बेपत्ता बनेका बेनी नगरपालिका–१ अर्जम गैराटोलका धनबहादुर विक घर फर्किएका हुन्। श्रीमति र एक छोरालाई छाडेर आफन्तको सहयोगमा भारतीय सेनामा भर्ती हुन हिडेका विकले सपना पूरा नभएपछि भारतको जम्मू–कश्मीर राज्यको रामवन भन्ने ठाउँमा बसेर ज्याला मजदुरी, ज्यामी र चौकीदारको रुपमा काम गरेर उमेर बिताएका थिए। सडक विस्तारमा आवश्यक पर्ने सामान सवारी साधनबाट निकाल्दै गर्दाको दुर्घटनामा परेर एउटा खुट्टा गुमाएका बिकले करिब दुईवर्ष अस्पतालमै बिताए।
कम्पनीको खर्चमा उपचारपछि पुनःकाममा फर्किएका विकले पटक–पटक परिवारसँग सम्पर्कको प्रयास गरेपनि सफल नभएको बताए। ‘गम्भीर घाईते अवस्थामा मेरो उपचार गरियो, खुट्टा गुमेपछिका केहीबर्ष काम पनि गर्न सकिन, काम गरेको तलब पनि दिएनन्’ उनले गुनासो गरे। ‘दुर्घटनापछिका धेरै बर्ष कसरी काटे पत्तै पाइन, बुढेसकालमा पुख्र्यौली घर खोज्दै आए’ उनले भने।
सीमावर्ती भारतको रक्सौलबाट बसमा पर्वत बेनीसम्म आएका विकलाई त्यहाँबाट बागलुङ जाने खोजेपछि जिपले लगेर छोडेको थियो। उनले एउटा बोरामा कपडासँगै राखेको ३५ हजार भारतीय रुपैयाँ रकम समेत हराएको बताए। ‘गोजिमा भएको पैसा साथमै छ, कपडासँग राखेको पैसा र मोवाईल हराएको छ,’ अर्जमका भिमबहादुर सुनारले भने। उनको साथमा रहेको केही रकम आफन्तले राखिदिएका छन्।
भारतीय सेनाबाट अवकाश भीमबहादुरले हराएका धनबहादुरको खोजिमा जम्मू–कश्मीरमा पुग्दा मृत्यु भइसकेको खवर सुनाएपछि यत्तिकै फर्किएको बताए। ‘उहाँको खोजीमा जाँदा मृत्यु भइसकेको खवर सुनेर फर्किएको थिए, अहिले घरमै आउँदा निकै उत्साहित छु’ बिकले भने। कम स्मरण शक्ति भएका विककी श्रीमति र एक छोरा ससुरालीमा बस्दै आएका छन्। श्रीमति मुटुरोगी भएकाले काठमाडौंमा रहेको र छोराको मानसिक सन्तुलन कमजोर छ। गाउँमा जग्गा जमिन आफन्तले कमाएर खाने गरेका छन्। भारतमै हराएका श्रीमान घर फर्किएको खवर सुनेर परिवार र गाउँले हर्षित भएपनि काठमाडौंमा नियमित उपचारका लागि गएकी श्रीमतिसँग भने भेट हुन पाएको छैन्।
‘परिवार सम्झिएर साह्रै आत्तिएँ’
गाउँबाट २५ बर्षको उमेरमा हिडेर बागलुङ हुदैं भारत गएको थिए। रोजगारीको क्रममा दुर्घटनामा खुट्टा गुमेपछि मैले आफ्नो परिवारसँगको सम्पर्क समेत गुमाए। दुर्घटनामा परेपछि शरीरको बिभिन्न भागमा चोट लाग्यो। मैले पहिले जस्तो मान्छे चिन्न छोडिसकेको थिए। केहीबर्ष उपचारमै वित्यो। आफ्नै परिचय समेत दिन नसक्ने अवस्थामा पेट पाल्न काम गरेपनि घरसम्म आउने अवस्था थिएन्।
घर कहाँ हो भनेर सोध्नेहरुलाई बागलुङको अर्जम भनेपनि अन्य केही बोल्न नसक्ने अवस्थामा थिए। मैले श्रीमतिको सम्पर्क नम्बर पत्ता लगाउन समेत सकिन। बुढेसकाल लागेपछि घरको याद धेरै आयो। श्रीमति र छोरालाई सम्झिएर बसिरहन्थे। गाउँमै बिहे गरेर एक सन्तान जन्माएपछि जेठानको सहयोगमा भारत गए। सिंगो जीवन जम्मू–कश्मीर राज्यको रामबनमा बित्यो। अब श्रीमतिसँगै बस्छु, मेरो अन्तिम इच्छा भनेको आफ्नै आगनमा मर्ने हो।
म यसअघि नै घर फर्किन खोजेको थिए आफ्नै खुट्टाका कारण सफल हुन सकिँन। अब घरमै बसेर बाँकी जिवन बिताउँछु। श्रीमतिलाई भेटेर आफ्नो दुख पोख्छु। मैले यो समयसम्म परिवारलाई साथ दिन पाइन। यो रहर नभई बाध्यता थियो।
प्रकाशित: १३ मंसिर २०७८ ०७:०७ सोमबार