६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिन्छुः घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिने बताएका हुन्।

उनले पार्टीमा आफूले नेतृत्वदायी भूमिका खोजेको तर, केन्द्रमा सभापति वा महामन्त्रीको पद पाउने संभावना नभएका कारण प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिने तयारी गरेको जानकारी दिए । उनले भने‘ कांग्रेसका नेतृत्वदायी भूमिका मैले खोजेको छु। केन्द्रमा सभापति वा महामन्त्री मैले पाउँदिन त्यसैले प्रदेश १ को सभापतिमा उम्मेद्वारी दिने तयारी गरेको छु।’ उनले प्रदेश १ को सभापतिमा उम्मेद्वारी पार्टीका आफूपक्षीय नेताहरूसँग सल्लाह गरेरै दिन लागेको दाबी गरे।  प्रदेश १ मा संस्थापन इतर पक्षका घिमिरेसँगै प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिको दौडमा छन्।

प्रदेश १ को सभापतिको दौडमा रहेका कोइरालालाई प्रदेश १ को मुख्यमन्त्री बनाएर व्यवस्थापन गर्ने योजना घिमिरेको छ। उनले भने, ‘प्रदेश १ का संसदीय दलका नेता कोइरालाको इच्छा मुख्यमन्त्री बन्ने भएकाले उहाँलाई प्रदेश १ को मुख्य मन्त्री बनाउँछौं।’

अन्य प्रदेशमा आधा कार्यकाल पद बाँडिए पनि प्रदेश १ मा विभेद गरिएका कारण आधा कार्यकाल काँग्रेसले मुख्यमन्त्री लिएरै छाड्ने  घिरिमेले बताए। यता संस्थापन पक्षबाट प्रदेश १ को सभापतिमा नेताहरू अमृत अर्याल, भिष्मराज आङ्दाङ्वे र रामहरि खतिवडाको नाम चर्चामा छ। नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन मंसिर १६ र १७ गते विराटनगरमा हुँदैछ।

प्रकाशित: ९ मंसिर २०७८ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App