८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेको नेतृत्वमा पुरानै अनुहार दोहोरिने सम्भावना

नेकपा एमालेको दसौं महाधिवेशनपछि पार्टीको नेतृत्व तहमा पुरानै अनुहार दोहोरिने सम्भावना बढेको छ।पार्टी अध्यक्ष केपी ओली नै दोहोरिने निश्चित जस्तै छ भने अन्य पदाधिकारीमा पनि पुुरानै अनुहारको बाहुल्यता रहने सम्भावना देखिएको छ।

‘एकपटक अध्यक्षमा ओली नै दोहोरिनुहुन्छ, बाँकी पदाधिकारीमा रामबहादुर थापाबाहेक सबै पुरानै नेताहरूले पार्टीको कमाण्ड सम्हाल्नु हुनेछ,’एमाले स्थायी कमिटी एक सदस्यले भने। उनका अनुसार विधान अधिवेशनबाट पारित नयाँ विधान कार्यान्वयन गर्नेक्रममा नेतृत्वमा रहन चाहने नेतालाई समस्या परिरहेको छ।

विधान महाधिवेशनअघिको स्थायी कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सहअध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको भए पनि वरिष्ठ उपाध्यक्षमा टुंग्याइएको थियो।

वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङको पनि दाबी रहेकाले पोखरेललाई असजिलो भइरहेको छ। सर्वसम्मत नेतृत्व चयनको अभ्यासमा रहेको एमालेले सबै नेताहरूको व्यवस्थापन गर्नेगरी महाधिवेशन गर्ने भने पनि अहिलेको विधानले केही नेताहरूलाई पदाधिकारी राख्ने सम्भावना बढिरहेको छ।

विधान अधिवेशनको समयमा प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गर्न लागेका बेला त्यसको विरोधमा रहेका नेताहरूले यसपटक सबै पदाधिकारीहरूलाई सर्वसम्मत छाड्ने सम्भावना कमजोर रहेको छ।

पार्टी अध्यक्ष ओलीका लागि विधान बाधक नभएपछि अध्यक्षमा सर्वसम्मत हुने सम्भावना बढेको छ। तर उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल पदाधिकारीमा सुरक्षित नहुने अवस्था आएमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने सम्भावना पनि उत्तिकै रहेको एमालेभित्र चर्चा चलेको छ। ‘दसाैँ महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारीमा नयाँ एकाध नयाँ अनुहार आए मात्रै नभए पुरानै अनुहारले प्राथमिकता पाउनेछन्।

नवाैँ महाधिवेशनमा महासचिव हारेका सुरेन्द्र पाण्डे, उपमहासचिव हारेका शंकर पोखरेल र माओवादी छाडेर एमालेमा रहेका रामबहादुर थापा र टोपबहादुर रायमाझीबाहेक सबै पुराना अनुहार आउने सम्भावना छ,’ती स्थायी कमिटी सदस्यले भने। महाधिवेशनमा ओलीको विकल्प दिन अवस्थामा कोही तयार नभए अध्यक्षभन्दा १४ पदाधिकारीमा रस्साकस्सी देखिँदा पनि पुरानै अनुहारले प्राथमिकता पाउँनेछन्।

विधानमा व्यवस्था भएबमोजिम वरिष्ठ उपाध्यक्ष र महासचिव तथा उपमहासचिव पदका लागि घम्साघम्सी सुरु भएको छ। महाधिवेशन आउन करिब १६ दिन बाँकी हुँदासम्म कसैले पनि पदाधिकारीमा आफ्नो उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै पदाधिकारीका लागि घम्साघम्सी चलेको हो।

महासचिव ईश्वर पोखरेलकै लागि तयार पारिएको वरिष्ठ उपाध्यक्ष पदमा भीम रावल,सुवास नेम्वाङ पनि दाबेदार देखिएका छन्। उपाध्यक्षमा रामबहादुर थापा,अष्टलक्ष्मी शाक्य,पृथ्वी सुब्बा गुरुङ,लालबाबु पण्डित,सत्यनारायण मण्डल देखिएका छन्। सुवास नेम्वाङ र भीम रावलले वरिष्ठ उपाध्यक्ष नछाडे विधान नै संशोधन हुने अवस्था पनि रहेको छ। ‘तीन तहको निर्वाचन आइरहेकाले अहिलेको महाधिवेशनमा सकेसम्म सबै नेताहरूको व्यवस्थापन गर्ने तयारी भएको हो,’ती सदस्यले भने। अहिलेका उपाध्यक्ष युवराज ज्ञावालीलाई भने पार्टीभित्र कुनै आयोगको जिम्मेवारी दिने तयारी भएको छ।

महासचिव, उपमहासचिवका लागि नेताहरू आकांक्षी रहेका छन्। तर महासचिवमा भने विष्णु पौडेल मात्रै दाबी गरिरहेका छन्। एमाले–माओवादी एकीकरणपछि बनेको शक्तिशाली महासचिव बनेका पौडेल एमालेको दसाैँ महाधिवेशनमा स्वाभाविक महासचिवका हकदार रहेका छन्। आगामी एघाराैँ महाधिवेशमा पार्टी पछिल्लो पुस्ताकै नेतृत्व हुने भएकाले शंकर पोखरेलले तत्काल आफ्नै समूहभित्र प्रतिस्पर्धा नगर्ने रणनीति लिएपछि पौडेलका लागि अझ सहज भएको एमालेवृत्तमा चर्चा चलेको छ।‘उहाँ नेकपा कालकै महासचिव भएकाले अहिले स्वाभाविक दाबेदार हुनुहुन्छ त्यसकारण करिबकरिब सर्वसम्मत जस्तै हो,’ती नेताले भने।

तत्कालीन एमालेमा नवाैँ महाधिवेशनमा घनश्याम भुसालसँग पराजित भएका शंकर पोखरेललाई सुरेन्द्र पाण्डेसँगै स्थायी कमिटीमा मनोनयन गरिएको थियो। नवाैँ महाधिवेशनमा पौडेलले उपमहासचिवमा जित हासिल गरेका थिए भने शंकर पोखरेल पराजित भएका थिए।ओलीकै समूहबाट उपमहासचिवमा प्रदीप ज्ञावाली पनि अघि बढिरहेका छन्।

विधानमा उपमहासचिवको एक मात्र पद रहेकाले पौडेल महासचिव भएपछि उपमहासचिवमा पोखरेलको दाबी छ। तर विधान महाधिवेशनको क्रममा ज्ञवालीले कार्यक्रम सञ्चालन गरेर आम कार्यकर्तामाझ ‘एक्सपोज’ हुने अवसर पाएका थिए।

उपमहासचिवमा घनश्याम भुसाल पुनः दोहोरिने भए र विधान संशोधन भई दुई पद भएमा शंकर पोखरेल हुने सम्भावना रहेको छ। तर एक पद भएमा भूषाल र ज्ञावाली दुवै नहुने अवस्था छ।

भूषाल पदाधिकारीमा अट्ने संभावना नभए सिधै अध्यक्षमा उम्मेदवारी दिने संभावना रहेको छ। पहिला सचिवहरूको यसपटक खासै बढुवा हुने अवस्था छैन।‘उपमहासचिव एउटा पद छ त्यहाँ शंकर पोखरेलकै सम्भावना छ,अर्को भए भुसाल आउँनेछन्। ज्ञवालीले फेरि पनि सचिवमा दोहोर्‍याउनुको विकल्प छैन,’ती स्थायी कमिटी सदस्यको भनाइ छ।

सचिव फेरि पनि गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरू दोहोरिने सम्भावना रहेको छ। पृथ्वी गुरुङ सुब्बालाई कहाँ समावेश गर्ने भन्नेबारेमा एमालेभित्र अप्ठेरो परेको छ। उनी वरिष्ठ नेता भएकाले यसपटक उपाध्यक्षमा उनको दाबी रहेको छ।मधेसबाट रघुवीर महासेठको पदोन्नोति हुने सम्भावना रहेको छ।

प्रकाशित: २४ कार्तिक २०७८ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App