४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विवादका बीच गरुडा नगरसभा सम्पन्न

विवादका बीच रौतहटको गरुडा नगरपालिकाको सभा सम्पन्न भएको छ। गत असारमै सम्पन्न हुनुपर्ने नगरसभा विवादका कारण सम्पन्न हुन नसकेको थिएन। जसपाको तर्फबाट निर्वाचित मेयर र नेकाको तर्फबाट निर्वाचित उपमेयर पक्षबीच पहिलेदेखि नै विवाद रहेको छ। नगरपालिकाको निर्वाचन भएको समयदेखि नै दुई पक्षबीच विवाद रहेको गरुडामा विवादै विवादमा कार्यावधी सकिन थालेको छ।  

चाडपर्व आइसकेको र कर्मचारीहरुले तलब खान अप्ठ्यारो भइरहेको अवस्थामा आइपुग्दा पनि दुवै पक्ष सहमत हुन नसक्दा विवादकै बीच छैटौँ नगरसभा सम्पन्न भएको हो।

गत शुक्रबार अबेर राति नगरसभा स्थगित गरिएको सूचना निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद मुस्ताक आलमले जारी गरेका थिए भने नगर प्रमुख इन्नु राय यादवले आलमको सूचना अवैधानिक रहेको विज्ञप्ति जारी गर्दै नगरसभा तोकिएकै मितिमा हुने जनाएका थिए।

मेयर इन्नु राय यादव पक्षको उपस्थितिमा भएको नगरसभालाई उपमेयर रंगिलादेवी जयसवाल पक्षले बहिस्कार गरेको छ। नगरसभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत आलमको पनि सहभागिता रहेको थिएन।  

मेयर तथा उपमेयर दुवै पक्षले बहुमत आफूसित रहेको दाबी गरेका छन्।  

विवादका बीच सम्पन्न नगरसभाले चालू आर्थिक वर्षको लागि ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँको बजेट पारित भएको नगर प्रमुख यादवले जानकारी गराएका छन्।

गरुडा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवको भनाइ छ।  

यसैबीच उपमेयर पक्षले बहुमत नगरसभा सदस्यको बहिस्कार तथा कार्यालय प्रमुखको सहभागिताबिना भएको नगरसभा अवैधानिक भएको भन्दै अदालतमा चुनौती दिने तयारी गरेको बुझिएको छ। दुई वर्ष पहिले पनि गरुडाको नगरसभा विवादित भएर अदालतसम्म पुगेको थियो।

प्रकाशित: १८ आश्विन २०७८ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App