२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरूले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन्। केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्।

ललितपुरका अलगअलग स्थानमा शनिबार आयोजित अलगअलग कार्यक्रममा एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालले गरेको सम्बोधन पनि जनप्रतिनिधि र नेता–कार्यकर्ता लक्षित थियो। ओली र नेपालले एमाले विभाजनको दोष एकअर्कालाई लगाएर आफू चोखो हुन खोजिरहेका छन्। यसको अर्थ ओली एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई नेपालको पार्टीमा जानबाट रोक्न चाहन्छन् भने नेपाल एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा बढीभन्दा बढी तान्न चाहन्छन्।  

एमाले अध्यक्ष ओलीले पार्टी विभाजन गरेको भन्दै नेपालको कडा आलोचना गरेका छन्। युवा संघद्वारा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विभाजनतिर लागेका नेता नेपालसहितलाई कुलंगारको संज्ञा दिए। उनले नेपालप्रति लक्षित गर्दै एकदुई पात झर्दैमा रूखले चिन्ता मान्नुपर्दैन भन्दै कार्यकर्तालाई ढाडस दिए। ओलीले आफूले पार्टी एकीकरण गरेको, संसद्मा पार्टीलाई लगभग दुई तिहाइको स्थितिमा पुर्‍याएको, सातमध्ये ६ प्रदेशमा पार्टीको बहुमतको सरकार बनाएको, ३५ हजारमध्ये २० हजारभन्दा बढी स्थानमा पार्टीका उम्मेदवार जिताएको बताउँदै यो प्रगतिलाई केही नेताले सहन नसकेर पार्टी विभाजन गरेको आरोप लगाए।

यसैगरी पेसागत महासंघ नेपाल, वाग्मती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष नेपालले एमाले विभाजनको दोष ओलीमाथि लगाए। नेपालले एमाले विभाजन गरेपछि ओलीले भोजभतेर गरेको आरोप लगाए। ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन्, केहीकेही व्यक्ति पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन्’, ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्केकाले हाइसन्चो भयो भनिरहेको छ, खिल अझै बाँकी छ भनिरहेको छ, घाँडो पन्छियो भनिरहेको छ।’  

नेपालले आफू एक कार्यकाल मात्रै पार्टी अध्यक्ष हुने र त्यसपछि नेतृत्व स्वतः अर्को तहमा जाने बताए। चार दिनअघि ओलीले पनि अनुकूल समयमा आफूले नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए। ओली र नेपालको अहिलेको ध्येय पार्टी विभाजनको दोष एकले अर्कालाई लगाएर जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा राख्नु र तान्नु हो। ‘पार्टी फुटाउने, सरकार गिराउने, प्रदेशप्रदेशमा एमालेको सरकार बन्न नदिने, बनेको सरकालाई काम गर्न नदिने कुलंगार नेताहरू यस पार्टीमा जन्मिए, लामो समयसम्म मधुकैटभले जस्तो दुःख दिए। अस्तिका दिन त पुर्जा लिए क्यारे दलको ! कस्तो बुद्धि होला ?’ नेपालप्रति आक्रोश पोख्दै ओलीले भने।  

नेपालले एमालेमा रहँदा आफ्नो सारथिका रूपमा रहेका स्थायी कमिटीका सदस्यले पार्टी विभाजनपछि साथ नदिएको गुनासो गरे। ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस्, जोसुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ तर केपी ओलीलाई फाल्नैपर्छ भनेका थिए’, आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरूको भनाइ उद्धृत गर्दै नेपालले भने, ‘उनीहरूले भनेपछि ओलीलाई संसद्बाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसद्को गतिविधिमा भाग नलिएर बहिष्कार ग¥यौं। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्‍यो।’ उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका एमालेमा बन्द भएपछि विद्रोह गर्नुपरेको बताए।

‘केपी ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौं’, नेपालले भने, ‘सहमतिलाई नक्कली सहमतिको जामा पहि¥याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रोसामु कुनै बाटो भएन। प्रतिगमनको बाटोमा नजान पटकपटक आग्रह गर्‍यौं। तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौं।’ नेपालले ओलीविरुद्धको निर्णायक लडाइँमा एमाले दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेकोमा दुःख पनि व्यक्त गरे।

निर्वाचन आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई एमालेमै बस्ने कि नेकपा एकीकृत समाजवादीमा जाने भन्ने निर्णय गर्न २१ दिनको समय दिएको छ। त्यसैले अहिले ओली एमालेका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई नेकपा एसमा जानबाट रोक्न लागिपरेका छन् भने नेपाल एमालेका नेता–कार्यकर्ता र जनप्रतिनिधि आफूतिर तान्ने प्रयासमा छन्। एमालेले स्थानीय तहमा दुई महानगरपालिका र ७ उपमहानगरपालिकासहित १२३ नगरपालिकाको प्रमुख जितेको छ। उसले १७१ गाउँपालिकाको अध्यक्ष जितेको छ। 

एक महानगरपालिका र ७ उपमहानगरपालिकासहित १३७ नगरपालिकाको उपप्रमुख एमालेका छन्। १९४ गाउँपालिकाको उपाध्यक्ष एमालेका छन्। १७१ गाउँपालिकाको प्रमुख पनि एमालेका छन्। एमालेले ७५३ स्थानीय तहमध्ये ३३१ तहमा उपाध्यक्ष÷उपप्रमुख जितेको छ। प्रमुखको तुलनामा एमालेले थप ३७ तहमा उपप्रमुख बढी जितेको छ। एमालेले २,५६० वडामा वडाध्यक्ष जितेको छ। पार्टीबाट निर्वाचित यी प्रतिनिधि अहिले ओली र नेपालको तानातानमा परेका छन्।

प्रकाशित: १३ भाद्र २०७८ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App