निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथ दिएका कार्यकारिणी समितिका सदस्य तथा प्रतिनिधिसभाका सांसदहरूले धमाधम कित्ता फेर्न थालेका छन्। कित्ता फेरेकाहरू आफू जसपामै रहेको प्रतिक्रिया दिएका छन्।
केपी ओली नेतृत्व सरकारमा ठाकुर–महतो पक्ष सहभागी हुँदा ठाकुरको पक्षमा २० जना र यादवको पक्षमा १२ जना मात्र सांसद थिए । ओली सरकारमा ठाकुर पक्षका १९ मन्त्री १९ दिन पछि १ मन्त्री १३ दिन पछि बाहिरिए। त्यसपछि परिस्थिति फेरिन थाल्यो। ठाकुर पक्ष सरकारबाट बाहिरिनेबित्तिकै उपेन्द्र यादव पक्ष आकर्षक हुन थाल्यो। त्यसमा पनि आयोगले यादवलाई आधिकारिकता दिएपछि ठाकुर पक्षका नेताहरू यादवतिर जान शृंखला नै सुरु भएको छ।
ठाकुर पक्षमा ८ जना सांसदहरू खुलेर यादव पक्षमा पुगेका छन्। अन्तिम समयमा ठाकुर पक्षका राजकिशोर यादव र मनिष सुमनले समेत ठाकुरलाई धोका दिए। ठाकुरले आशा गरेका रेशम चौधरीले ठाकुरलाई साथ दिएनन्। आयोगमा हेडकाउन्ट हुँदा उनी तटस्थ बसे। पछि आफू जसपामै रहेको चौधरीले प्रतिक्रिया दिएका छन्। राजकिशोर पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य पनि हुन।
ठाकुर पक्षका ८ जना सांसदहरू राजकिशोर यादव, प्रमोद साह, अमृत अग्रहरि, रानी मण्डल, रुही नाथ, नरमाया ढकाल, रेणुका गुरुङ र चन्द्रकान्त चौधरीले उपेन्द्रलाई साथ दिएका छन्। आफूहरू जसपामै रहेको उनीहरूको भनाइ छ। ठाकुर पक्षबाट ओली सरकारमा मन्त्री भएका चन्द्रकान्त चौधरीले अहिले आफूले उपेन्द्र यादवलाई साथ दिएको बताए। ‘म सुरुदेखि नै जसपामै छु । अहिले पनि म जसपामै छु,’ चौधरीले भने। विगतमा आफू राजपामा भए पनि अहिले यादवको लाइनमा पुगेको उनको भनाइ छ।
स्रोतका अनुसार निर्वाचन आयोगले यादवलाई जसपाको आधिकारिता दिएपछि ठाकुरको पक्षमा लागेका प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरूको पद जोखिममा पर्ने भएकोले पनि ठाकुरतीर लागेका सांसदहरू उपेन्द्र यादवतीर गएको हुनसक्ने ठाकुर पक्षको बुझाइ छ। ठाकुर पक्षकै एक नेताले भने, ‘प्रत्यक्ष्य निर्वाचित भएका सांसदहरूको पद जोखिममा रहन्न। यो सर्वोच्चले नजिर स्थापना गरेको छ। समानुपातिक सांसदहरूको पद भने जोखिममा रहन सक्छ।’
ठाकुर पक्षमा लागेका समानुपातिक सांसदहरूको पद जोखिममा पर्ने हुँदाहुँदै पनि ठाकुर पक्षका दुई समानुपातिक सांसद निर्जला राउत र चन्दा चौधरी भने कित्ता परिवर्तन गर्ने सम्भावना रहेको ठाकुर पक्षका अर्का एक नेताले बताए। उनका अनुसार ठाकुर पक्षका कम्तीमा ९ जना सांसद सांसद पद नरहने जोखिम हुँदा हुँदै पनि कित्ता परिवर्तन गर्ने सम्भावना छैन। ती नेताका अनुसार महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्णं, निर्जला राउत, चन्दा चौधरी, एकवाल मियाँ, वीमल श्रीवास्तवले कित्ता फेर्ने सम्भावना छैन।
ठाकुर पक्षका सांसद बिमल श्रीवास्तबले आफूले कित्ता फेर्ने सम्भावना रहेको बताए। ‘उहाँहरू के गर्नु हुन्छ, त्यो उहाँहरूको कुरा हो। तर मैले कित्ता फेर्दिन’उनले भने। यादव पक्षका एक कार्यकारिणी सदस्यका अनुसार ठाकुर पक्षका केही सांसदहरूले अध्यक्ष यादवसँग आफू जसपामै रहेको जनाएका छन्। खुल्नुपर्यो भने आफू खुल्न तयार रहेको आश्वासन पनि उनीहरूले दिएको ती नेताले बताए।
प्रकाशित: १५ श्रावण २०७८ ०३:४७ शुक्रबार