३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

'भारतसँगको असमझदारी हटिसक्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा विवादलाई लिएर उत्पन्न असमझरादी हटेको बताएका छन्। बिबिसी हिन्दीलाई हालै दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन्। 

नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग भारतले अतिक्रमण गरेको र उक्त भूभाग आफ्नो नक्सामा प्रकाशित गरेको विषयलाई लिएर असमझदारी सुरु भएको थियो। उक्त भूभागलाई दुवै मुलुकले आ–आफ्नो नक्सामा प्रकाशित गरे पनि सम्वादबाट समस्याको समाधान गर्ने प्रक्रिया भने अझैसम्म पनि बढ्न सकेको छैन।  

प्रधानमन्त्री ओलीले अन्तरवार्तामा दुइ देशबीचमा कुनै बेला असमझदारी उत्पन्न भएको तर अहिले त्यो असमझदारी हटिसकेको बताएका छन्। उनले कुनै बेला असमझदारी थियो भनेर त्यसैमा अल्झिरहन नहुने पनि बताएका छन्। ‘हामीले भविष्यतर्फ हेर्नुपर्छ र अघि बढ्नुपर्छ,’ उनले भने।  

ओलीले छिमेकीबीच समस्या हुने बताएका छन्। ‘चिली वा अर्जेन्टिनाका सेनासँग न तपाईको प्रेम हुन्छ न घृणा। किनभने हामी त्यहाँ जाँदैनौँ र उनीहरू यहाँ पनि आउँदैनन्। जब छिमेकीको कुरा हुन्छ त्यहाँ प्रेम र समस्या भइरहन्छन्,’ उनले भनेका छन्।  

महामारीका बेला भारतले नेपाललाई गरेको सहयोगबारे बोल्दै उनले अफूलाई नकारात्मक कुरा गर्न मन नपर्ने तर अदालतको फैसला वा खोपको कमीको कारण भारतबाट जति सहयोग मिल्नुपर्ने हो त्यो नमिलरहेको बताए। ‘एक छिमेकी जसको सम्बन्ध यसरी जोडिएको छ कि भारतमा कोरोना नियन्त्रणमा आयो र नेपालमा आएन भने भारतमा नियन्त्रणमा हुनुले कुनै अर्थ राख्दैन। किनभने जो स्थानियसी उनीहरूको रहने बस्ने साथमै हुन्छ। त्यसैले हामीलाई मद्दत गर्नै पर्छ। त्यो भारतको पनि हितमा हुन्छ,’ उनले भनेका छन्।  

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निवेदन गर्दै भनेका छन्, ‘नेपालबारे अन्य मुलुकभन्दा केही फरक छ किनभने हामी छिमेकी हौँ र हाम्रो सीमाना पनि खुला छ। हाम्रो बीचमा हिमाल हुन्थ्यो भने खुला सीमा भएर पनि आवतजावत सहज हुँदैनथ्यो। हाम्रोमा यस्तो अवस्था छ कि सीमानामा यता पनि खेत छ। उता पनि खेत छ। कतिपय ठाउँमा दसगजा कहाँ छ भन्ने कुरा पनि थाहा हुँदैन। यी सबै कुरा र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई समेत ध्यान दिँदै भारतले हामीलाई पूर्ण रूपमा सहयोग गरोस्।’  

उनले नेपाललाई चाहिलने अक्सिजन, लिक्विड अक्सिजन, औषधिलगायतका धेरै स्वास्थ्य सामग्री भारतबाटै ल्याइरहेको र यसमा भारतले साथ दिइरहेको बताएका छन्। ‘सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप भारतले उपलब्ध गराएको थियो, त्यसले मैले भारतलाई धन्यवाद पनि दिन चाहन्छु,’ उलने भनेका छन्।  

कोरोनाविरुद्धको लडाइमा भारत र चीनबाट भइरहेको सहयोगलाई राजनीतिक रंग दिन आवश्यक नरहेको उनले बताए। ‘यो खोपको मामिला हो त्यसैले जसले दिएपनि ठिक छ। सहयोगका लागि हामी दुवै छिमेकीलाई धेरै धन्यवाद दिन चाहन्छौँ, किनभने हामीलाई एउटा छिमेकीले १८ लाख खोप दियो अर्काेले २० लाख खोप दियो। हामीलाई दुवैको मद्दत मिलिरहेको छ,’ उनले भनेका छन्।

प्रकाशित: २५ जेष्ठ २०७८ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App