१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

‘महामारीको बहानामा राजनीतिक गतिविधिमा बन्देज लगाउन खोजियो’

कोरोना महामारीको बहानामा केपी ओली नेतृत्व सरकारले राजनीतिकसहितका सबै गतिविधिमाथि बन्देज लगाउन खोजेको नेपाली कांग्रेसले आशंका व्यक्त गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले कोरोना नियन्त्रण र रोकथाम उदासीन सरकारले जनतालाई निषेधाज्ञाको नाममा त्रसित बनाउने काम गरेको ठहर गरेको हो।  

काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले जेठ १४ देखि २१ सम्म उपत्यकामा खाद्यान्न पसल पनि खोल्न नदिने निर्णय गरेको भन्दै सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाएको सहमहामन्त्री प्रकाशशरण महतले बताए। दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्ध गर्न दलीय गतिविधि नियन्त्रण गर्न सरकार लागि परेको त होइन भन्ने आशंका उब्जाएको छ।’

दैनिक काम गरेर जीविकोपार्जन गर्नुपर्ने जनताका लागि राहतको व्यवस्था गर्नुको साटो सरकारले दुई दिनभित्र खानेकुरा जम्मा गर भने त्रसित बनाउने काम मात्र गरेको कांग्रेस बुझाइ छ। कोरोना रोकथाम र नियन्त्रणका लागि पार्टीले बुझाएको १५ बुँदे ज्ञापनपत्रलाई सरकारले बेवास्ता गरेको पनि महतले आरोप लगाए। प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न मागसहित अदालतमा पेस गरेको रिटका पक्षमा व्यवस्थित ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। कोरोना महामारीका कारण सडकमा उत्रिएर विरोध प्रदर्शन गर्ने अवस्था नभएको निष्कर्ष निकाल्दै कांग्रेसले अहिलेसम्पूर्णध्यान अदालतमा केन्द्रित गर्ने भएको छ।  

कांग्रेससहित विपक्षी गठबन्धनका १४६ सांसदले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको दाबी गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। त्यसमाथि बिहीबार (आज)बाट बहस सुरु हुँदैछ। त्यस्तै, कांग्रेसले राष्ट्रपति भण्डारीको बुधाबारको सक्रियताका विषयमा पनि आशंका व्यक्त गरेको छ। भारतका समकक्षीलाई भण्डारीले पत्र लेख्दै कोरोनाविरुद्धको खोपका लागि आग्रह गरेकी छन् भने चिनियाँ राष्ट्रपतिसँग भने टेलिफोन सम्वाद गरेकी छन्। ‘भारतको राष्ट्रपति टेलिफोन सम्पर्कमा आउन नचाहेका हुन् कि हाम्रो राष्ट्रपतिले टेलिफोन गर्न नचाहेको हो त्यो जनताले थाहा पाउनुपर्छ,’ कांग्रेसका एक नेताले भने, ‘यो संयोग हो कि अरू केही छ ?’

प्रकाशित: १३ जेष्ठ २०७८ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App