७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेले गर्‍याे नेपालसहित ११ सांसदलाई कारबाही, सुरुमा स्पष्टीकरण मागिने

नेकपा एमालेको स्थायी कमिटीको बैठकले ११ सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपाल समूहका ११ सांसदलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी नेता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए। उनले कारबाही गर्ने भनिए पनि के कारबाही गर्ने भन्ने खुलाएनन्।

‘खास गरेर आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दलसँग मिलेर सरकार हटाउने खेलमा हस्ताक्षर गर्ने नेताहरुलाई कारबाही गर्ने निर्णय गरिएको छ।’ उनले ती नेताहरुसँग स्पष्टीकरण सोधिने समेत जनाए।

स्पष्टीकरण सोधिने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्का रहेका छन्।

स्पष्टीकरणका आधारमा कारबाहीको थप निर्णय हुने उनको भनाइ छ। 

प्रकाशित: ८ जेष्ठ २०७८ १३:२७ शनिबार

नेकपा एमाले सांसदलाई कारबाही