१५ चैत्र २०८० बिहीबार
राजनीति

गण्डकी प्रदेशः संसद बैठक बोलाउन सभामुखद्वारा छलफल र परामर्श

गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखको दलहरुसँग छलफल चलाउन थालेका छन् ।

त्यही क्रममा प्रदेश सभा बैठक सञ्चालनको पहल गर्दै उनले उनले आईतबार राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र महान्यायाधिवक्ता राजेन्द्र घिमिरेसँग छलफल गरे । दुवै भेट संसद बैठक सञ्चालनका विषयमा केन्द्रीत रहेको सभामुख अधिकारीको सचिवालयले बताएको छ ।  

भेटमा जनमोर्चाका संसदीय दलका नेता थापाले संसद बैठक अगाडि बढाउन सभामुखलाई आग्रह गरेका थिए । थापाले जनमोर्चाको तर्फबाट बैठक अगाडि बढाउन कुनै समस्या नरहेको सभामुख अधिकारीलाई जानकारी गराएको बताए ।  

‘सम्पर्कविहीन भनिएका तर पछि अस्पतालमा उपचाररत अवस्थामा भेटिएका जनमोर्चा सांसद खिमबिक्रम शाही सम्पर्कमा आइसक्नुभएको छ, उहाँको स्वास्थ्य पनि राम्रो छ, त्यसैले अब जनमोर्चाको तर्फबाट बैठक अगाडि बढाउँदा कुनै समस्या छैन भन्ने सभामुखलाई जानकारी गराए,’उनले भने । उनले संसद बैठक जुन अवस्थामा स्थगित भएको थियो, त्यहिबाट शुरु गर्नसमेत आग्रह गरेको बताए ।

महान्याधिवक्ता घिमिरेसँग भने सभामुखले कानुनी परामर्श गरेका थिए । बैशाख १५ गते अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूँची रहेका बेला अचानक बैठक स्थगित गरेपछि त्यसको सत्तारुढ नेकपा एमालेले आपत्ति जनाएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको निर्णय अनुसार कार्यसूची निकालेर बैठक चलिरहँदा बिना परामर्श बैठक स्थगित गरेर सभामुखले बेइमानी गरेको एमालेको आरोप छ । उसले तोकिएको मितिमा अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरेपछि अब त्यसको औचित्य सकिएको दाबी गर्दै आएको छ । सभामुखले सोहि विषयमा कानूनी परामर्श गरेको श्रोतको दाबी छ । तर सभामुखको सचिवालयले भने सभामुख र महान्यायाधिवक्ताबीचको भेटलाई नियमित भनेको छ ।

सभामुख अधिकारीसँग भेट गरेपछि महान्यायाधिवक्ता घिमिरेले दलहरुसँगको तिक्ततालाई कम गर्दै सहमतिका आधारमा बैठक सञ्चालन गर्न सुझाव दिएको जानकारी दिए । ‘अप्ठेरा के  हुन् ? सहजीकरण गरौं, पहिले गल्ती, कमजोरी भएका छन् भनेपनि त्यसलाई सुधारेर अगाडि बढ्नुपर्छ,’ उनले भने । उनले कार्यसूची बनाएर बैठक बसिसकेपछि संख्याको आधारमा कसको पक्ष र विपक्षमा बहुमत र अल्पमत पर्छ भन्ने आधारमा बैठक सञ्चालन वा स्थगित गर्न नहुने भएकाले सभामुखलाई आफूले तटस्थ बस्न सुझावसमेत दिएको बताए ।

प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको थियो । सो दिन अविश्वास प्रस्ताव पारित गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद शाही बिना जानकारी सम्पर्कविहीन भएपछि उनको खोजी गरिदिन र उनी नभेटिएसम्म संसद बैठक सञ्चालन नगर्न जनमोर्चाकी सचेतक पियारी थापाले निवेदन दिएकी थिईन् । सोहि निवेदनका आधारमा सभामुखले बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएलगत्तै बेपत्ता सांसद शाही पोखराको नागढुंगास्थित चरक अस्पतालको आईसियूमा भेटिएका थिए । उनी कोरोनाको उपचारका लागि अस्पताल भर्ना भएको भनिएको छ । तर अविस्वास पक्षधर दलहरुले भने सत्तापक्षले शाहीलाई प्रलोभनमा पारेर कोरोनाका नक्कली विरामी बनाएको तथा अपहरण गरेको हुनसक्ने आशंका गर्दै आएको छ । यो बीचमा सांसद शाहीले विज्ञप्ती निकालेर आफू विरामी भएर अस्पतालमा उपचारका लागि बसेको तथा पार्टीको निर्णयमा यथावत रहेको जनाइसकेका छन् । त्यस्तै, जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले समेत सामाजिक दुरी कायम गरेर सांसद शाहीलाई भेटेर उनको धारणा बुझेका थिए ।

बैठकपछि सभामुख अधिकारीले सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन् । ‘सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक सम्भवत सोमबार बोलाउनु हुन्छ । सोहि बैठकले गरेको निर्णयका आधारमा संसद बैठक बोलाउने काम हुन्छ,’सचिवालय सदस्य सौगात शर्माले भने ।

प्रकाशित: १९ वैशाख २०७८ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App