५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस क्रियाशील सदस्यता वितरण: विवादका कारण फेरि समय थपिँदै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको समय फेरि थपिने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बस्ने केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणका लागि कम्तीमा १५ दिनको समय थप गर्ने तयारी गरेको हो। पटकपटक समय थप गर्दा पनि आइतबारसम्म ५५ प्रतिशत मात्र सदस्यता नवीकरण र वितरणको काम सकिएको छ। 

सदस्यता वितरणले गतिलिन नसक्दा भदौ पहिलो साताका लागि पछिल्लोपटक तोकिएको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिएको हो। गत फागुनमै पाँच वर्षे कार्यकाल पूरा गरेको कांग्रेसले सवैधानिक व्यवस्थाअनुसार छ महिनाको अतिरिक्त समय लिएर भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको छ। तर, पार्टीभित्रको आन्तरिक किचलो र समायोजनको काम पूरा नहुँदा प्रदेश २ मा महोत्तरीबाहेकका जिल्लामा सदस्यता वितरण अघि बढ्न सकेको छैन। धनुषा २ सय ५३, पर्सामा ४ सय मात्र अहिलेसम्म सदस्यता नवीकरण र नयाँ वितरणको काम भएको छ। सप्तरीमा अहिलेसम्म तल्लो तहसम्म सदस्यता फारम नै गएको छैन भने अन्य जिल्लामा पनि आन्तरिक विवादका कारण सदस्यता वितरणको काम अघि बढ्न सकेको छैन।  

त्यस्तै, बाँके, बर्दिया, कैलालीमा पनि विवादका कारण सदस्यता वितरण अघि बढ्न सकेको छैन। रूपन्देहीमा अहिलेसम्म २७ सय मात्र सदस्यता वितरण र नविकरणको काम भएको छ भने सिन्धुपाल्चोक, सोलुखुम्बु सहितका जिल्लामा समायोजनको काम नै सकिएको छैन। सदस्यता वितरणको काम आधा मात्र सकिए पनि त्यसविरुद्ध केन्द्रीय समितिमा गुनासा र उजुरीको चाङ लागिसकेको छ।  

विजयकुमार गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सहित विभिन्न राजनीतिक दल परित्याग गरी कांग्रेस प्रवेस गर्नेहरूको समायोजनको काम पूरा नहुँदा समेत सदस्यता वितरण र नवीकरणमा समस्या देखिएको छ। त्यसलाई कसरी समाधान गर्न सकिन्छ भने कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सदस्यता छानविन समितिसहित पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेको छ। महामन्त्री पूर्णबहादुर खड्काको अग्रसरतामा राखिएको बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल बाहेकका नेताहरू सहभागी थिए।  

सदस्यता छानबिन समितिले प्रदेश नम्बर दुईमा क्रियाशील सदस्यता नविकरण र वितरणका लागि पदाधिकारी र पूर्वपदाधिकारीकै तहबाट हस्तक्षेप आवश्यक रहेको औंल्याएका छन्। त्यसका साथै उपसभापति विमलेन्द्र निधि नेतृत्वको संगठन समायोजनको कामलाई तत्काल टुंगो लगाउनुपर्ने धारणा राखेका छन्। उनीहरूले सदस्यता वितरणका लागि थप १५ दिन समय दिनुपर्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। समायोजनको टुंगो केन्द्रीय समिति बैठकबाटै लगाउने तयारी भएको छ।  

सदस्यता वितरण तथा नवीकरणका काम र समायोजनका विषय देखिएको समस्याबारे छलफल भएको जानकारी दिंदै क्रियाशील सदस्यता छानविन समिति सदस्य एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘भोलिको केन्द्रीय समिति बैठकमा कस्ता अजेन्डा लैजाने भन्नेबारे अनौपचारिक रूपमा छलफल गरिएको हो।’  

७१ जिल्लामा क्रियाशील सदस्यताको काम सुरु भए पनि सिन्धुपाल्चोकसहितका जिल्लामा समायोजनकै काम नसकिएको जानकारी दिंदै उनले भने, ‘अब कति दिन थप गर्दा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै विवरण इन्ट्री भइसक्छ भन्नेबारे छलफल भएको छ। सोमबार बस्ने केन्द्रीय समितिले यसबारे निर्णय गर्छ।’ १० लाख क्रियाशील सदस्य पुर्‍याउने जनाएको कांग्रेसले अहिलेसम्म करिब छ लाख क्रियाशील सदस्यता वितरण गरेको छ। 

प्रकाशित: ३० चैत्र २०७७ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App