४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अब कर्णालीले सभ्यता सिकाउनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा भाषा सिकाउने कर्णालीले आगामी दिनमा सभ्यता सिकाउनुपर्ने बताएका छन्। ऋति फाउण्डेशन, सुर्खेतद्वारा बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले तालको छेउमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ दोस्रो संस्करणको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भाषा उत्पत्ति भएको प्रदेशको भाषा नै सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएकोप्रति चिन्ता प्रकट गरे।  

“भाषा, संस्कृति र सभ्यताको उद्गमस्थलमा जन्मेर आफ्नो पहिचान खोज्नुपर्ने बाध्यता आइलागेको छ”, मुख्यमन्त्री शाहीले भने, “कतै हाम्रो भाषा लोप भएर जाने हो कि भन्ने डर पनि लागेको छ।” इतिहासले भविश्यको निर्धारण गर्ने जनाउँदै उनले कर्णाली छुट्टै विशिष्टता र पहिचान बोकेको प्रदेश भएकाले यहाँको इतिहास आफैँले कोर्नुपर्नेमा जोड दिए।

यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विस्तृत खोज अनुसन्धान गरी भोलिको पुस्तालाई जान्न उत्प्रेरित गराउनुपर्नेमा जोड दिएका मुख्यमन्त्री शाहीले हिजो काँसोको थालमा भात र तामाको भाँडोमा पानी खाने कर्णाली आज प्लाष्टिकका भाँडामा खानुपर्ने बिडम्वना आइलागेको विगतलाई जान्न आग्रह गरे।  

त्यसैबीच, मुख्यमन्त्री शाहीले कार्यक्रममा कर्णाली पिपुल एण्ड प्लेसेस पुस्तक विमोचन गरेका थिए। शुभारम्भ कार्यक्रममा ऋति फाउण्डेसनका सहसंस्थापक रेशमबहादुर विष्टले ‘कर्णाली उत्सव कुडा कर्णालीका’ दोस्रो संस्करणका उत्सवको औचित्यबारे प्रष्ट्याए। “कर्णालीमा अथाह संम्भावना हुँदाहुँदै पनि केवल यो दक्षिणतर्फ बगिरह्यो,” सहसंस्थापक विष्टले भने,“यहाँका नागरिकका लागि कर्णाली कालापहाड जाने बाटो मात्र बन्यो। यसलाई हामीले राम्रोसँग चिनेनौँ।” कर्णालीका लोक साहित्य, अर्थ, राजनीतिक, शासकीय प्रणालीलगायत विषयमा मन्थन गर्न दोस्रो संस्करणकोआयोजना गरिएको उनले बताए।

प्रकाशित: २७ फाल्गुन २०७७ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App