८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

अझै सुरु भएन २९ जिल्लामा सदस्यता वितरण

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अघि नबढेपछि छानबिन समितिले सक्रियता बढाएको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन भएको सदस्यता छानबिन समितिको मंगलबार बसेको बैठकले सातवटै प्रदेशमा प्रतिनिधि खटाउने निर्णय गरेको छ।  

क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न छानबिन समितिले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको थियो। तर नेता रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा दुई÷दुईजना नेता पठाउनुपर्ने पक्षमा उभिएपछि समितिले पहिलो चरणमा आफ्नै सदस्यहरूलाई खटाएको हो। समितिको निर्णयअनुसार संयोजक लेखक सुदूरपश्चिम प्रदेश, कल्याण गुरुङ र योगेन्द्र चौधरी कर्णालीसँगै प्रदेश नम्बर पाँच, श्यामकुमार घिमिरे र प्रदीप पौडेल प्रदेश चार र वाग्मती प्रदेश, आनन्दप्रसाद ढुंगाना र जीवन परियार प्रदेश नम्बर एक र दुईमा जाने भएका छन्।  

फागुनभरि प्रदेशअन्तर्गतका जिल्लाहरूमा बसेर छानबिन समितिका सदस्यहरूले सदस्यता नवीकरण र नयाँ वितरणका लागि सहजीकरण गर्ने निर्णय भएको सदस्य गुरुङले जानकारी दिए। समितिका सदस्यहरू बुधबारदेखि नै सम्बन्धित प्रदेशमा जानेक्रम सुरु हुने जानकारी दिँदै गुरुङले भने, ‘केन्द्रीय समितिको निर्णय अनुसार सदस्यता वितरण र नवीकरणको काम सक्न लागिपर्नेछौं।’

कांग्रेस महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पटकपटक म्याद थप गर्दासमेत अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन। सदस्यता वितरण र नवीकरण सुरु भएको एक वर्ष बढी भए पनि मंगलबारसम्म ४८ जिल्लामा मात्र सदस्यता नवीकरण र नयाँ वितरणको काम सुरु भएको छ। २९ जिल्लामा अझै सदस्यता वितरण सुरु भएको छैन। प्रदेश नम्बर दुईमा रौतहटबाहेक अन्य जिल्लामा वितरणको काम सुरु भएको छैन भने सप्तरी, सिन्धुपाल्चोक, डोल्पासहितका जिल्लामा संगठन समायोजनको काम नै सकिएको छैन। बारामा केही दिनअघि मात्र निर्वाचन समितिको टोलीले विवाद समाधान गरेको छ।  

सदस्यता नवीकरण र नयाँ वितरणका लागि सफ्टवेयरको विकास गरेर जिल्ला र निर्वाचन क्षेत्रबाट नै सदस्यता अपडेट गर्ने व्यवस्था मिलाए पनि अहिलेसम्म नयाँ सदस्यता ९० हजार र नवीकरण १ लाख २० हजार मात्र भएको छ। कांग्रेसमा अहिले झण्डै पाँच लाख क्रियाशील सदस्य छन् भने त्यति नै संख्यामा नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा नयाँ सदस्यता वितरणको अपडेट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट र नवीकरणको काम जिल्लाबाट तथा एउटा मात्र क्षेत्र भएका जिल्लाको हकमा दुवै काम जिल्लाबाटै भइरहेको छ। कुनै जिल्ला र क्षेत्रबाट कति नयाँ सदस्यता वितरण र नवीकरण भयो भनेर केन्द्रीय कार्यालयबाटै देशभरिको सूचना लिन सकिने छ। क्षेत्रले जिल्ला र जिल्लाले केन्द्रलाई बुझाएपछि तल्लो निकायले संशोधन वा हेरफेर गर्न नसकिने केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। अहिले देशका दुई सय बढी ठाउँबाट सदस्यता नवीकरण र वितरणको काम हुँदै आएको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App