८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस आन्दोलनको पक्षमा छैन : रामहरी खतिवडा

पत्रकार भेटघाटमा बोल्दै कांग्रेस नेता रामहरी खतिवडा । तस्बिर : उमेश पुन/नागरिक

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस सडक आन्दोलनको पक्षमा नभएको बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खतिवडाले प्रतिनिधिसभा (संसद) विघटनबिरुद्ध कांग्रेसले सडक आन्दोलन नगर्ने बताए ।  

कांग्रेसले संसद विघटन गर्ने कदम असंवैधानिक र अप्रजातान्त्रिक भनेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले अनधिकृत रुपमा आफुसँग नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेका हुन् । तर त्यसो भन्दैमा कांग्रेस सडक आन्दोलनमा जाँदैन ।’

कांग्रेस कानूनी शासनको पक्षमा रहेको भन्दै उनले थपे, ‘सर्वोच्चमा विचाराधीन रहेको मुद्धामा कांग्रेस बोल्नु हुँदैन । संसद पुर्नस्थापना हुनैपर्छ भनेर सडकमा जाने, आन्दोलन गर्ने पक्षमा कांग्रेस छैन ।’ सर्वोच्चले पुर्नस्थापना गरेपनि वा संसद विघटनलाई सदर गरेपनि कांग्रेसलाई मान्य हुने उनले प्रष्ट पारे । सर्वोच्चको फैसलाविरुद्ध कांग्रेसले आन्दोलन पनि नगर्ने उनले बताए । यद्दपी संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नराखेको कुरामा भने आफूहरु प्रष्ट रहेको उनको भनाई छ ।

नेता खतिवडाले कांग्रेसले जिल्लादेखि वडासम्म गरेको पछिल्लो कार्यक्रम संसद विघटन बिरुद्ध विरोध कार्यक्रम नभई चुनाव लक्षित कार्यक्रम भएको बताए । ‘कांग्रेसले अहिले गरेको कार्यक्रम विरोध कार्यक्रम होइन,’ उनले भने, ‘भोलि सर्वोच्चले चुनावमा जाने फैसला गर्‍यो भने त चुनावमा होमिनु पर्‍यो नि ! हो त्यसैको तयारी हो अहिले ।’ उनले कांग्रेसको कार्यक्रममा सेनाले युद्धमा जाँदा हतियार तिखारेर गएजस्तै चुनावी तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिइने गरेको बताए ।

नेता खतिवडाले कांग्रेसको महाधिवेशन भदौसम्ममा भइसक्ने दाबी गरे । आम निर्वाचन बैशाखमा भए भदौमा महाधिवेशन गर्ने र बैशाखमा आमनिर्वाचन नभए जेठमा महाधिवेशन गर्ने तयारीमा कांग्रेस रहेको उनको भनाई छ ।

प्रकाशित: १७ माघ २०७७ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App