२७ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपामा ‘मर्यादा’ को विवाद

जनता समाजवादी पार्टीमा मर्यादाको विवाद चर्किएको छ। कात्तिक ३ र ४ गते बसेको पार्टीको कार्यकारिणी समितिको बैठक पछि पार्टीले मयार्दाको सूचि सार्वजनिक गरेको थियो।

उक्त सूचिसँग महेन्द्र यादव गम्भिर असन्तुष्ट भएको पार्टी स्रोतको भनाइ छ। उनलाई शरतसिंह भण्डारी र अनिल झा पछि राखिएको छ। यसअघि उनको मर्यादा भण्डारी र झाभन्दा अगाडि थियो। तर पछिल्लो सूचिमा उनको मर्यादा घटाएर झण्डारी र झा पछाडि राखिएको छ।

महेन्द्रको मर्यादा घटाइएकोमा महेन्द्र पक्षधर नेताहरू आक्रोशित भएका छन्। उनीहरूले एक ÷दुई दिनमै पार्टी अध्यक्ष द्धय महन्थ ठाकुर र उपेन्द्र यादवलाई लिखित निबेदन दिने भएका छन्। पार्टीले सार्वजनिक गरेको पछिल्लो मर्यादाको सूचिलाई तत्काल परिमार्जन गरी महेन्द्रलाई छैटौ स्थानमा राख्न चेतावनी दिने भएका छन्। हाल जसपामा पहिलो स्थानमा बाबुराम भट्टराइको नाम राखिएको छ भने दोश्रो स्थानमा ठाकुर, तेश्रोमा यादव, चौथौमा अशोक राइ र पाँचौमा राजेन्द्र महतोको नाम राखिएको छ।

मर्यादाको सूचि परिमार्जन नगरेमा आफूहरुले समायोजन अस्विकार गर्ने उनीहरूको भनाइ छ। ‘पार्टीले पछिल्लो पटक सार्वजनिक गरेको मर्यादा सूचिमा महेन्द्र यादवप्रति गम्भिर अन्याय भएको छ’जसपाका कार्यकारिणी सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य रमेश यादवले भने, ‘त्यसैले तत्काल मर्यादा सूचि परिमार्जन गरी उहाँ (महेन्द्र)नाम छैटौ स्थानमा राख्नु पर्छ भन्ने हाम्रो अडान हो।’

जसपाले मर्यादा सूचि सार्वजनिक गर्नु अघि भण्डारीले पार्टी अध्यक्ष ठाकुरलाई चिठी लेखेरै महेन्द्र पछि आफनो नाम अगाडि राख्न आग्रह गरेका थिए। उनको आग्रहलाई स्विकार गर्दै ठाकुरले भण्डारीको नाम यादव भन्दा अगाडि राखेका थिए। २०७० सालमा भएको प्रतिनिधि सभाको निर्वाचनको परिणामलाई आधार बनाएर महेन्द्रको नाम अघि आफ्नो नाम राख्न भण्डारीले आग्रह गरेका थिए। तर यस भनाइमा महेन्द्र पक्षधर नेताहरू सन्तुष्ट छैनन। महेन्द्र शुक्रबार काठमाडौं आउने भएका छन्। उनी काठमाडौ आउने वित्तिकै उनी पक्षधर नेताहरूले बैठक गर्ने भएका छन्। उक्त बैठक पछि महेन्द्र समुहले थप रणनीति तय गर्ने छ।

महेन्द्र पक्षधर नेताहरूले मर्यादा सूचिमा परिमार्जन गरी महेन्द्रलाई पार्टीले ‘वरिष्ठ नेता’को पद दिनु पर्ने अडान राखेका छन्। यसैगरी तत्कालिन जसपाको तर्फबाट महेन्द्रको नाम राजेन्द्र पछि हुनु पर्ने उनीहरूको भनाइ छ।

कात्तिक ३÷४को बैठक पछि पार्टीले केन्द्रीय सदस्य विस्तार गरी ७सय ७९ सदस्यीय केन्द्रीय समिति बनाएको छ। केन्द्रीय सदस्यको नाम छनौट गर्दा पनि महेन्द्र पक्षधर नेताहरूलाई अन्याय गरेको उनीहरूको भनाइ छ। महेन्द्र निकट नेताका अनुसार केन्द्रीय सदस्यका सूचिमा महेन्द्रले ५३ जनाको नाम थिए तर उनले दिएको सूचिमा व्यापक कटौती गरी २३ जनालाई मात्र केन्द्रीय सदस्य बनाइएको रमेश यादवले बताए। ‘उहाँ (महेन्द्र) अनुपस्थिति भएको बेला जसरी केन्द्रीय सदस्य र मर्यादाको सूचि सार्वजनिक गरियो, यो सूचिप्रति हाम्रो गम्भिर असहमति छ’ महेन्द्र पक्षधर तथा राजपाका पूर्व केन्दीय सदस्य सवर प्रजापतिले भने,‘सूचि परिमार्जन नगर्ने हो भने हामीले जिल्ला÷जिल्लामा समायोजन हुन दिन्नौ।’ कात्तिक ३÷४ पछि पार्टीको बैठक बस्न सकेको छैन। अबको बैठकमा मर्यादाको विषयलाई जोडतोड रुपमा उठाउने तयारी महेन्द्र पक्षधर नेताहरुले गरेका छन्।

प्रकाशित: १९ मंसिर २०७७ ०५:४४ शुक्रबार

जनता समाजवादी पार्टी मर्यादा विवाद