भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारूढ दल नेकपामा किचलो देखिएकाले सुरक्षा अधिकारीहरू गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । ‘सीमा विवाद र सत्तारुढ दलमा देखिएको किचलोबाहेक नेपालमा रअको कुनै औपचारिक बिजनेस छैन,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने ।
यसअघि रअका अधिकारीहरू नेपाल भ्रमणमा आउँदा राष्ट्रिय अनुसन्धान विभागका अधिकरीहरूसँग समन्वय हुन्थ्यो तर अहिले भने उनीहरूले भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग कूटनीतिक अधिकारीहरू आउने भन्दै विशेष विमानका लागि अनुमति मागेका थिए । त्यसैअनुसार परराष्ट्रले कूटनीतिक व्यक्तिहरूका लागि भन्दै गरेको विशेष विमानको सिफारिसलाई हेर्ने हो भने नेपाल–भारत सम्बन्ध सुधारका लागि रअ प्रमुखको भ्रमण केन्द्रित भएको अनुमान पनि कतिपयको छ । रअका प्रमुखसहितका अधिकारीहरू परराष्ट्रको सिफारिसकै आधारमा विशेष विमान (आइएफसी ४६२०) बाट बुधबार दिउँसो पौने १ बजे काठमाडौं आएकाले सीमा विवादलगायत सम्बन्ध सुधार अजेण्डा हुन सक्ने आंकलन पनि छ । त्यसो त रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभए पनि सीमा विवादबारे विभिन्न दलका नेताहरूसँग उनले छलफल गर्ने कार्यक्रम भएको एक उच्च अधिकारीले जानकारी दिए । तर, कुन तहको राजनीतिक भेटघाट भन्नेबारे भने केही खुलेको छैन ।
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ । तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ । तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरूले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफैं सहभागी भएका छन् । केके विषयमा छलफल भयो भन्नेबारे केही खुलेको छैन ।’
काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूले त्रिभुवन विमानस्थलबाट रअका प्रमुखलाई एउटा निजी गाडीमा राखेर दूतावास लगेका थिए । त्यसपछि टोलीमा आएका अधिकारीहरू कतिपय भेटघाटमा सामूहिक र कतिपयमा आपसमा बाँडिएर छलफलमा सहभागी भएको सुरक्षा अधिकारीहरूको भनाइ छ । यस हिसाबले पनि उनीहरूको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल आउने तयारी गरिरहेका बेला ‘रअ’ को विशेष टोली काठमाडौं आउनुलाई संयोग मात्रै मानिएको छैन । रअ प्रमुखको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने एक नेताले बताए पनि त्यसलाई पत्याउने आधार भने देखिएको छैन । ‘पछिल्लोपटक चीनको राजनीतिक र कूटनीतिक सक्रियता बढेका बेला रअ प्रमुखको नेपाल भ्रमण बिनाउद्देश्य छ भन्न सकिन्न,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने । उनका अनुसार अहिले सत्तारुढ दलमा देखिएको विवादमा खेल्नु नै मुख्य उद्देश्य हुन सक्छ ।
विशेष विमानका लागि स्वीकृति दिन सिफारिस गरेको परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने रअ प्रमुखको नेपाल भ्रमणबारे अनभिज्ञता प्रकट गरेका छन् । उनीहरूले निजी भ्रमण भएकाले यसमा आफनो सरोकार नरहने जनाएका छन् । रअ प्रमुख नेपाल अवतरण हुनुअघि नै राष्ट्रिय अनुसन्धान विभागले यसबारे चासो राखेको थियो । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र भातीय दूतावासमा चासो राख्दा भारतीय दूतावासले भने निजी भ्रमण भएकाले जानकारी दिन आवश्यक नरहेको जनाएको थियो ।
प्रकाशित: ६ कार्तिक २०७७ ०१:३५ बिहीबार