२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता गरियो : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन्।  

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको प्रकृया प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्षको पहल र सक्रियातामा सुरु भएको बताए।  

पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रकृया सुरु हुनु र देशभरी जिन्दावाद, मुर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रष्ट पार्ने उनले बताए। उनले भने, 'पार्टी संकटमा छ। साँचो कुरा के हो भने अहिले ठिकठाक छ भनेर मैले भने भने त्यो सत्य होइन पार्टी संकटमा छ। किनकी हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले नाममा पार्टी दर्ताको प्रकृया हाम्रो पार्टीका अर्का अध्यक्ष समेतको सक्रियता र पहलमा भएको छ। त्यसकारण यसले संकटलाई व्यक्त गरेकै छ।’’ उनले भने, 'अहिले देशभरी नै तपाईहरुले देखिराख्नु भएकै छ। मुर्दावाद र जिन्दावादका नारा। हामी पार्टीमा छलफलमा छौँ। पार्टीलाई कसरी एकतावद्ध गर्ने पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौँ तर देशभरी जुलुस भएको छ। देशभरीका साथीहरुले हामी के गर्ने भनेर सोधिरहेका छन हामीले धैर्य लिनुहोस् अहिले केही गर्न पर्दैन पार्टी एकताको पक्षमा उभिनुहोस् भनेर भनिरहेका छौँ। तर त्यस खालका प्रचार पनि भइरहेको छन।’’

अध्यक्ष दाहालले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्याय संगत नभएको समेत बताए। पार्टीले निर्णय गरेर दबाव दिएका कारण प्रधानमन्त्री ओली बल्ल सहमत भएको उल्लेख गर्दै उनले मंसिरमा पार्टीको स्थायी समिति र माघका केन्द्रीय समितिबाट नक्सा जारी गर्नुपर्ने निर्णय गरेपनि सरकारले 'नक्सा जारी गर्ने होइन भूमि फिर्ता गर्ने ठूलो कुरा हो’ भनेर भनेको स्मरण गरे।  

अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरुले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री तयार भएको बताए।  

प्रधानमन्त्री सहमत भएपछि सचिवालय बैठक चलिरहेकै बेला मुख्य सचिवलाई फोन गरेर नीति कार्यक्रममा त्यो विषय थप्न लगाएको उनले बताए।  

 

प्रकाशित: ९ श्रावण २०७७ १२:०७ शुक्रबार

प्रचण्ड