२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन्।  

 बन्दाबन्दीका बाबजुद सङ्क्रमितको सङ्ख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले कोरोना परीक्षण पिसिआर प्रविधिबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गरेका थिए।      

 सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरे।  

 कोरोना सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मुख्य सचिव पौडेलले बताए। रासस

 

प्रकाशित: ८ श्रावण २०७७ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App