३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सुध्रिएन सरकार, सेलायो युवाको प्रदर्शन

सरकारका गतिविधिविरुद्ध आवाज उठाउँदै सडकमा ओर्लिएका युवाको प्रदर्शन एकाएक सेलाउँदै गएको छ। प्रायोजित ढंगबाट सकडमा विरोध गर्न निस्किएको भन्ने आरोप खेपेका युवाको टोली तितरबितर हुँदा थप आशंका उत्पन्न भएको छ।  

केही दिन चर्को विरोध गरेका उनीहरू सेलाउँदै गएपछि केहीले त्यसलाई खहरेको भेल भनेका छन् भने केहीले प्रायोजित भएकाले धेरै दिन नटिकेको भनेका छन्। ‘केही दिन युवा सडकमा खुबै ताते, तर त्यो तागत धेरै दिन टिकेको देखिएन,’ अभियन्ता दुर्गानाथ शर्माले भने, ‘तर यस्तो बेलामा सरकारविरुद्ध आवाज उठाउनुपर्ने विषय धेरै छन्।’

प्रदर्शन गर्दै आएका केही युवा भने आफूहरू निरन्तर प्रदर्शनमा उत्रिने दाबी गर्छन्। ‘हामी थाकेका छैनौं, अभ्यास गरिरहेका छौं,’ अभियन्ता सरोज प्रधानले भने, ‘हामी सरकार नसच्चिएसम्म पछि हट्दैनौं।’ उनले जे भने पनि सडकमा निस्किएर सरकारविरुद्ध प्रदर्शन गर्नेको संख्या भने घट्दै गएको छ। शुक्रबार माइतीघर मण्डलमा झिनो संख्यामा युवा उपस्थित भएका थिए। सरकारले पछिल्लो समय युवाले उठाएका विषयलाई सम्बोधन भने गरेको छैन। 

सरकारले माग पूरा नगर्दै युवाहरू किन एकाएक थाके भन्ने प्रश्न उब्जिएको छ।  शान्तिपूर्ण प्रदर्शनका लागि सहयोग गर्दै आएको विवेकशील पार्टीका नेता मिलन पाण्डेले यत्तिकैमा प्रदर्शन नरोकिने दाबी गरे। उनले सुरुमा जस्तै चर्को प्रदर्शन नभए पनि अब प्रदर्शनको तरिका परिवर्तन गरिने जानकारी दिए। ‘युवाहरू तयारी गरिरहेका छन्, शनिबार पनि सहिद गेटमा प्रदर्शन हुँदैछ,’ उनले भने, ‘केही नयाँ अभ्यास गर्न लागिएको भएर पनि अलि कम देखिएको हो।’ उनका अनुसार पछिल्लो समय सडकमा युवाहरू स्वतःस्फूर्त तबरले निस्किएका हुन्। सरकारले महामारीको बेला गरेको जिम्मेवारी झिनो भएपछि दबाब दिन युवाहरू सडकमा निस्किएका थिए। यद्यपि सरकारले महामारीबाट बच्न सक्ने परिपक्व निर्णय भने गर्न सकिरहेको छैन।  

प्रायोजित ढंगबाट सकडमा विरोध गर्न निस्किएको भन्ने आरोप खेपेका युवाको टोली तितरबितर हुँदा थप आशंका उत्पन्न भएको छ।

यसअघि कोरोना संक्रमितको संख्या बढिरहेको बेला युवाहरू सरकारविरुद्ध प्रदर्शन गर्न सडकमा निस्किएपछि महामारी फैलने भन्दै प्रदर्शन स्थगन गर्न धेरैले सुझाव दिँदै आएका थिए। तर, महामारीको बेला जिम्मेवार हुनुपर्ने सरकार गैरजिम्मेवार भएपछि उनीहरू जोखिम मोल्दै सडकमा उत्रिएका हुन्। युवाहरू सडकमा निस्कनुलाई कतिपयले आलोचना गरे पनि सरकारले लकडाउन र कोरोना महामारीको सुरक्षा गतिलो बनाउन सकेको छैन। लकडाउन भइरहेको बेला उपत्यका भित्रिने र बाहिरिनेलाई कडाइ गरिएको छैन। यस्तो समयमा पनि सरकार चुकेकाले युवाहरू खबरदारी गर्न सडकमा निस्किएका थिए। ‘यस्तो बेलामा सरकारको यही हालत हो,’ प्रदर्शनमा सहभागी हुँदै आएका रसिक प्रधानले भने, ‘हामी सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्छौं।’  

पछिल्लो समय प्रदर्शन गर्नका लागि इनअफ इज इनअफ र कोभिड १९ नेपाल नामक फेसबुक ग्रुप बनाइएको छ। जसमा दुई लाखभन्दा बढी युवा छन्। उनीहरूले सामाजिक सञ्जालमै छलफल गरेर प्रदर्शन र सरकारविरोध कार्यक्रम आयोजना गर्दै आइरहेका छन्। उनीहरूले क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र कोभिड संक्रमणको बेला सरकारले गरेको खर्चको चित्त बुझ्दो जवाफ माग गरेका थिए। केही दिनयता युवाहरूले उपत्यकाबाहेक पोखरा, धनगढी, विराटनगर, झापालगायत क्षेत्रमा पनि प्रदर्शन गर्दै आइरहेका थिए।

विवेकशीलका नेता उज्ज्वल थापाले युवाहरू निरन्तर सडकमा निस्कने तयारी गरेको बताए। उनले सरकारले कुनै पनि माग सम्बोधन नगरेकाले युवाहरू झन् आक्रोशित र तात्नसक्ने बताए। ‘अहिले नै युवाहरू पछि हटेका छैनन्, यो सरकारमाथि निरन्तर प्रश्न उठाउनुपर्ने र विरोध गर्नुपर्ने कारण धेरै छन्,’ उनले भने।

प्रकाशित: ६ असार २०७७ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App