१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जातीय विभेदमा हत्या : निष्पक्ष छानबिन गर्न सांसदको माग

कर्णाली प्रदेशको छैटौ अधिवेशनको दोस्रो बैठकमा सहभागी सांसदहरू ।

रुकुम पश्चिमको चौरजहारीमा जातीय विभेदका कारण जाजरकोटका दुई जनाको हत्या भएको घटना कर्णाली प्रदेशसभामा प्रवेश गरेको । छैटौ अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिँदै सांसदहरूले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।

जाजरकोट भेरी नगरपालिका–४, का नवराज बिके र चौरजहारी–८, की सुष्मा मल्लबीच प्रेमसम्बन्ध रहेको र उनीहरूले बिहे गर्न खोज्दा गाउँलेको कुटाइबाट हत्या गरिएकाले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने सांसद सीता नेपालीले बताइन् । ‘कथित माथिल्लो जातकी केटीसँग प्रेम सम्बन्ध गासेकै आधारमा कसैको हत्या हुनु दण्डनिय हो,’ उनले भनिन्, ‘यो घटनामा राजनीतिक रङ नलगाइ छानबिन हुनुपर्छ ।’ 

घटना भएको तीन दिनसम्म पीडितले सरकार भएको अनुभूति गर्न नपाएको भन्दै उनले भनिन्, ‘सरकारले लाचारीपन देखायो ।’ ‘कालीकोटकी मना सार्कीको हत्या हुँदा पनि सरकारसँग छानबिनको माग गरेका थियौं,’ उनले भनिन्, ‘तर सरकारले कारबाहीको दायरामा ल्याउनु त परको कुरा हो । छानबिनसमेत गरेन ।’ ‘कालीकोटको जस्तो यो घटनालाई नलिइयोस्,’ उनी भन्छिन् ।

त्यस्तै सांसद दिनबन्धु श्रेष्ठले उक्त घटनालाई तोडमोड नगरी निष्पक्ष छानबिन हुनु पर्ने माग गरे । अर्का सांसद रुकुम पश्चिमका सांसद रातो कामीले प्रेम प्रसंग विवाहमा बाधिन खोज्दा हत्या हुनु निन्दनीय भएको बताए । शुसासन र सूव्यवस्थित, समतामूलक समाज निर्माण गर्ने ध्येका साथ अगाडि बढिरहेको अवस्थामा ‘सामन्ती ब्राह्मणवादी राज्य व्यवस्था, निरंकुश राजतन्त्र हुँदा त्यसले पालितपोसित व्यक्तिहरू सांस्कृति समस्यामा देखा परिरहेको उनले बताए । 

घटना भएको तीन दिन बित्दा पनि सरकारको ध्यान नगएको भन्दै उनले भने, ‘नागरिकबीच द्वन्द्व र तनाव हुँदा प्रदेश सरकार चासो दिएको छैन ।’ जतिसक्दो छिटो संसदीय समिति निर्माण गरेर पीडितलाई क्षतिपूर्तिका उपलब्ध गराउन उनले माग गरे । पहिला प्रेम प्रसंग र पछि विवाहमा बाँधिन खोज्दा दुईजनाको हत्या र चारजना बेपत्ता भएकाले यस विषयमा कोही अलमलिन आवश्यक नरहेको उनले बताए ।

त्यस्तै अर्का सांसद दानसिंह परियारले सञ्जु बिक, गणेश बिएम, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता अवस्थामा रहेको संसद्लाई जानकारी गराए । यो घटना गम्भीर भएकाले जति निन्दा गरे पनि कमी हुने बताए । जातीय विभेदकै कारणले निर्ममतापूर्ण ढंगले मारिनु समतामूलक र न्यायिक समाज निर्माणलाई चुनौती दिएको उनको भनाइ छ । यो घटनाले चेतना, संस्कृति र राज्य व्यवस्था कसरी अगाडि बढेको छ त्यो प्रष्ट दखाएको सांसद परियारले जनाए । कोरोनाभन्दा कडा जातीय भाइरस भएको भन्दै उनले यसलाई प्रदेश सरकारले निर्मूल पार्नुपर्ने बताए । सांसद राजु नेपालीले उक्त घटनाको भ्रत्सना गरिन् । 

त्यस्तै रुकुम पश्चिमका अर्का सांसद गोपाल शर्माले प्रहरीले छानबिनको प्रक्रिया अगाडि सदनलाई जानकारी गराए । घटनामा प्रेम प्रसंगमात्र जोडिएकाले त्यति मात्र घटनाको कारक नभएको बताए । बिहे प्रसंग मात्र नभइ कोरोना भाइरसको त्रासबीच गाउँमा ह्वारह्वार्ति युवा पस्दा उत्तेजना भीडले स्थिति पैदा भएको तिर पनि छानबिन हुनु पर्ने सांसद शर्माले बताए । उनले घटनालाई एक पक्ष नभई सबै पक्षबाट छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए ।

प्रकाशित: १२ जेष्ठ २०७७ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App