१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘कन्ट्रयाक ट्रेसिङ बिनै परीक्षण गरे भबिष्यमा आउने जोखिममा उपचार सामग्री अभाव’

कोभिड–१९ बारे १ नं प्रदेश सरकारको बुझाई

भबिष्यमा आउन सक्ने कोरोना संक्रमणको सम्भावित भयाभह रुपलाई अहिले कायम रहेको स्रोत र शक्तिले कसरी थेग्ने ? यसलाई मध्यनजर गर्दै १ नं प्रदेश सरकारले संक्रमण खोजपड्ताल र सम्पर्क पहिचान सम्बन्धी अभियान सुरु गरेको छ ।  

संक्रमण खोजपड्ताल र सम्पर्क पहिचान गर्न सकेमा कोभिड–१९ विरुद्ध प्रयोग भईरहेको स्रोत र शक्तिले थेग्न सक्ने भन्दै १ नं प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यो अभियान सुरु गरेको हो ।‘ कोभिड–१९ संक्रमणको प्रत्यक्षमा सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाउन सकेमा स्थिती जटिल हुनबाट जोगिने भएकोले यो अभियान सुरु गरिएको हो’१ नं प्रदेश सरकारको कोभिड–१९ विरुद्धको अभियानका सहजकर्ता बिनोद खनालले भने ।  

सामाजिक विकास मन्त्रलयले प्रदेशभरी कोभिड–१९ संक्रमण खोजपड्ताल र सम्पर्क पहिचान सम्बन्धी अभिमुखीकरण गराईरहेको छ । यो अभियानले संक्रमित व्यक्तिको सम्पर्क व्यक्ति तुरुन्त पत्ता लगाउन, सम्पर्क व्यक्तिहरुमा लक्षण देखिएमा तत्काल आइसोलेसन र उपचारका लागि प्रेषण गर्न र सम्पर्क व्यक्तिबाट अन्यमा संक्रमण सार्नबाट रोक्नमा मद्यत पुर्‍याउने खनालले जानकारी दिए । एकजना मात्र संक्रमित खोज पड्ताल गर्न छुटेमा समुदायमा त्यसले ठूलो महामारीको रुप लिने भएकोले त्यो अवस्था आउन नदिन संक्रमण खोजपड्ताल र सम्पर्क पहिचान सम्बन्धीको अभियान लाभप्रद हुने खनालको बिश्वास छ ।  

शंका र आशंकाको भरमा गरिने परीक्षणका कारण बिना संक्रमित व्यक्तिहरुकै लागि महामारीविरुद्ध लड्ने स्रोत र शक्ति गुम्ने भयबाट उसले बचाउने खनालले बताए ।‘ भबिष्यमा महामारीले संकटको रुप लियो भने त्यो बेला साँच्चै बिरामीहरुका लागि स्रोत र शक्तिको व्यवस्थापन कहाँबाट र कसरी जुटाउने’ प्रतिप्रश्न गर्दै उनले भने‘ संक्रमण खोजपड्ताल र सम्पर्क पहिचानले सम्भावित महामारी अगावै प्रयोग हुँदै जाने आएको अनावश्यक स्रोत र साधनलाई जोगाउन मद्यत पुर्‍याउँछ’ ।  

यो अभियानको एउटा खास चक्र पनि छ । यसले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाउँछ । यसरी सम्पर्कमा आएका प्रत्येक व्यक्तिलाई कम्तिमा १४ दिन सम्म सक्रिय अनुगमन र ७ दिनसम्म निस्कृय अनुगमन गरी २१ दिनसम्म नियमित निगारानीमा राख्नुपर्ने कार्ययोजना बनाउन सघाउँछ । यो बीचमा लक्षण देखा परेमा वा संक्रमणको उच्च सम्भावना देखिएमा तुरुन्त आइसोलेट गरी परीक्षण र उपचार प्रदान गर्नुपर्ने कार्ययोजना बन्ने छ ।  

यसरी तयार भएको कार्ययोजना अनुसार सम्भावित संक्रमितको पहिचान वा सूची बनाउने हो भने स्रोत र साधनले थेग्ने तथा उपचार संयन्त्र पनि प्रभावकारी हुने प्रदेश सरकारको ठम्याई रहेको खनालले जानकारी दिए । यो कार्यका लागि सामाजिक विकास मन्त्रालयले संक्रमित खोज पड्ताल तथा सम्पर्क पहिचान मार्गदर्शन तयार पारिसकेको खनालले बताए । ज्वरो १०४ डिग्री फरेनहाईडभन्दा बढी वा खोकी वा श्वास प्रश्वासमा समस्या व्यक्ति भएको वा कोभिड–१९ को स्थानीय संक्रमण पुष्टी भएको स्थान वा त्यस्तो स्थानको यात्रा गरी फर्किएको व्यक्ति वा कोभिड–१९ का सम्भावित वा शंकास्पद वा संक्रमण निश्चित भएका व्यक्तिहरुसंग निकट सम्पर्कमा रहेको व्यक्ति वा अस्पताल भर्ना गर्न आवश्यक भएको तर कोभिड–१९ को संक्रमण बाहेक भर्ना हुनाको अन्य कारण पुष्टी हुन नसकेको व्यक्तिलाई शंकास्पद व्यक्तिको रुपमा राखेर संक्रमण खोज पड्ताल गर्न सकिन्छ ।  

कोभिड–१९ का लागि नमुना परीक्षणको नतिजा निस्कर्ष आई नसकेको वा कोभिड–१९ स्क्रिनिङबाट शंकास्पद संक्रमित भन्ने पहिचान भएको तर कोभिड–१९ नै हो भन्ने यकिन भईनसकेको, क्लिनिकल लक्षण तथा चिन्हहरु भए वा नभएपनि प्रयोगशालाबाट संक्रमण पुष्टी भएका व्यक्ति र सम्भावित संक्रमित वा संक्रमण सुनिश्चित भएको व्यक्तिसंग लक्षण देखिएको दिनभन्दा २ दिन पहिले वा लक्षण देखिएपछिका १४ दिनसम्म १ मिटर वा सो भन्दा नजिकैको दुरीसम्म १५ मिनेट वा सो भन्दा बढी समय व्यतित गरेको, निजसंग प्रत्यक्ष शारिरिक सम्पर्क भएको, व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री पीपीई बिना नै निजलाई प्रत्यक्ष स्वास्थ्य स्याहार वा हेरचाह गरेको र हवाईजहाजमा यात्रा गर्दा निज बसेको सिटभन्दा २ सिट अघि, पछि, दाँया वा बाँया रहेका अन्य सिटमा यात्रा गरेको व्यक्तिलाई सम्भावित संक्रमितको सूचीमा राखेर संक्रमित खोज पड्ताल गर्ने हो भने स्रोत र शक्तिको सहि सदुपयोग हुने र भबिष्यमा आउने सम्भावित जोखिम पनि टार्न सकिने प्रदेश सरकारको बुझाई रहेको छ । 

प्रकाशित: १० जेष्ठ २०७७ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App