२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मतदाता रिझाउँदै प्रभावशाली नेता

रौतहट - दशैँको अवधिलाई रौतहटका प्रमुख राजनीतिकर्मीले मतदाता रिझाउनका लागि उपयोग गरेका छन्। संघीय संसद तथा प्रादेशिक सभा सबै बन्द रहेको अवस्थामा रौतहटका चर्चित नेताहरुले दशैँको अवधिलाई आफ्नो पक्षमा जनमत बटुल्न तथा आफ्नो प्रभाव विस्तार गर्न उपयोग गरेको देखिएको छ। विभिन्न कार्यक्रमहरु गरेर नेताहरुले मतदातालाई रिझाउन आफ्ना सहयोगीहरुको पनि उपयोग गरेको पाइएको छ।

नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गृह जिल्ला रौतहटमा दुई दिन सर्वसाधारणदेखि जिल्लाका वरिष्ठ नेताहरुसित भेटघाट र औपचारिक कार्यक्रममा खर्च गरेका छन्। गृह नगर सदरमुकाम गौर र जिल्लाको मध्य भाग गरुडामा औपचारिक कार्यक्रम नै गरेर नेता नेपालले आफ्नो कुरा राखेका छन्। संघीय संसदमा विका समिति सभापति कल्याणी खड्का, पूर्व राज्यमन्त्री सत्यनारायण भगत बीन, पूर्व साँसदहरु, प्रदेश साँसद, पार्टीका विभिन्न पदाधिकारी तथा जनप्रतिनिधिहरुसमेतको जमघटमा नेपालले देशको अवस्था र सरकारले गरेका राम्रा कामको स्थानीय बज्जिका भाषामा प्रभावशाली किसिमले प्रस्तुत गरेका छन्।

यसै गरी राजपा नेपालको अध्यक्ष मन्डलका सदस्य अनिलकुमार झा र उनकी पत्नी प्रदेश राज्यमन्त्री डा. डिम्पल झाले पार्टीका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद चौधरीसहित विभिन्न तहका नेता तथा कार्यकर्ता, समाजवादी पार्टीका जिल्लास्थित वरिष्ठ नेताहरु, विभिन्न नगरपालिकाका मेयर र उपमेयर, सुरक्षा निकायका प्रमुखहरु, समर्थक तथा कार्यकर्तासमेतलाई दशैँको चाडपर्वहरुको शुभकामना दिँदै भोज खुवाएका छन्। नेता झाले दशैँलाई आफ्नो शक्ति प्रदर्शनको पर्वकै रुपमा मनाउन सफल भएका छन्।

नेकपाको प्रदेश अध्यक्ष प्रभु साह आफ्नो निर्वाचन क्षेत्रका दर्जनाँै गाउँमा दर्जनौँ कार्यक्रमको आयोजन गरी मतदाता तथा समर्थक र सर्वसाधारणबीच आफ्नो प्रभावको विस्तार गरेका छन्। दशैँ र तिहारको छुटीको समयलाई साहले हरेक गाउँमा आफ्नो औपचारिक कार्यक्रम गर्दै आएका छन्। जिल्लामा एकै क्षेत्रबाट सबैभन्दा बढी पटक प्रतिनिधिसभामा सदस्य चुनिने चर्चित विकासवादी नेता साहले कार्यकर्ताहरुलाई व्यापक परिचालन गरेका छन्। सबैभन्दा बढी औपचारिक समारोहको आयोजन तथा व्यवस्थापन गर्ने नेता साहले जनतालाई केन्द्रीय सरकारको विकास तथा प्रदेश सरकारको कामको बारेमा टिप्पणी गर्ने गरेका छन्।

नेपाली काँग्रेसका नेता आफताब आलम, जिल्ला सभापति कृष्णप्रसाद यादव, संघीय साँसद देवप्रसाद तिमल्सिना, प्रदेशसभामा विकास समिति सभापति शेख अबुल कलाम आजाद, प्रदेश राज्यमन्त्री योगेन्द्रप्रसाद यादवलगायतका नेताहरुले पनि आफ्नो प्रभाव क्षेत्रमा आफ्नै पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम आयोजन गरेका छन्। चाडपर्वको समयमा प्रभावशाली नेताहरुको गाउँमा आवागमन निकै बढेको पाइएको छ। विगतका वर्षहरुभन्दा यसपालि पर्वको समय पारेर गरिएका कार्यक्रमहरुमा पनि सर्वसाधारणको सहभागिता भने बढेको छ।

प्रकाशित: २४ आश्विन २०७६ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App