१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको आइतबारका लागि तोकिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। बजेटको बिरोधमा रहेका प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपालाई सम्वाद गरेर सहमतिमा ल्याउन नसकिएकाले उनीहरुले संसदमा अवरुद्ध गर्ने कुरालाई मध्यनजर गरेर सभामुखले आइतबार ८ बजे शुरु हुने भनेको बैठक स्थगित गर्ने निर्णय गरेको हो।

सभामुख अर्जुनबहादुर थापाको निर्देशनमा प्रदेशसभा सचिवालयले बैठक शुरु हुनु अगावै सूचना टाँसेर आइतबार बिहान ८ बजे शुरु हुने भनिएको बैठक स्थगित गरेको जानकारी गराएका थिए। यस अघि बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगित गरिएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले असार १ गते प्रस्तुत गरेको बजेट अपारदर्शी र भ्रष्टाचारलाई बढावा दिने खालको भएको भन्दै कांग्रेस र राजपाका सासंदले संसदमा विरोध जनाएका थिए।

बजेटको बिरोधमा संसदमा उभिएका प्रतिपक्षीका सासंदहरु सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि नबसेपछि सभामुखले बैठक स्थगितको घोषणा गरेका थिए। बैठकबाट बाहिरिए लगत्तै आफ्ना आसेपासे पोस्न ब्ल्याकं बजेट ल्याइएको भन्दै नाराबाजीसहित उनीहरुले प्रदेशसभाको मुल गेटमा रातो किताब जलाएका थिए।

बजेटका सम्बन्धमा सरकार प्रतिपक्षीबीच संवाद भई समाधान निस्कने अपेक्षासहित सभामुख थापाले बिहीबारको बैठक स्थगित गरि आइतबार राखेका थिए। तर यसबीचमा सरकार र प्रतिपक्षी दलबीच कुनै संवाद भएन। संवादबाट समाधान ननिस्केकाले आइतबारको बैठकमा पनि प्रतिपक्षीको अवरोध हुने देखेर सभामुख थापाले सूचना टाँसेर बैठक स्थगित गर्न सचिवालयलाई निर्देशन दिएको बताइएको छ।

प्रदेशसभामा सचिव रामसिंह धामीले सभामुखको निर्देशन अनुसार आइतबारको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए। आइतबारको बैठक स्थगित हुनुको कारण आफुले जानकारी नपाएको र सभामुखले बैठक स्थगित गर्न निर्देशन दिएपछि आफुले सूचना टाँसेको उनको भनाई छ।

आइतबार स्थगित भएको बैठक आसार ११ गते बुधबारका लागि आह्वान गरिएको उनले बताए। बजेट प्रस्तुत भएपछि लगातार दुई पटक प्रदेशसभाको बैठक स्थगित भएकाले बैठकमाथि छलफल शुरु हुन सकेको छैन्। ११ गतेसम्म निकास निस्कने र प्रदेशसभामा बजेटमाथि छलफल शुरु हुने अपेक्षासहित सचिवालयले बैठक स्थगित गरेको सचिवालयका एक कर्मचारीले बताए।

प्रकाशित: ८ असार २०७६ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App