१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसमा केन्द्रीय समितिको निर्णय सच्याउन माग

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेको भन्दै देवाविरुद्ध खडा भएको ‘क्याम्प’ सक्रिय भएको छ। सभापतिको एकलौटी निर्णयविरुद्ध उभिनका लागि देउवाविरुद्धको शक्ति एक ठाउँमा आएको हो।

सभापति देउवाले महासमितिबाट पारित भएको विधानलाई केन्द्रीय समितिबाट उल्टाएपछि हच्किएको असन्तुष्ट समूह यसको विरोधमा उत्रिन साझा धारणा तय गर्न निरन्तर छलफलमा छ। 

देउवाविरुद्ध खडा भएको उक्त समूहले मंगलबार र बुधबार लगातार छलफल गरेको छ। पार्टी नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकले देउवाविरुद्ध शसक्त प्रतिकार गर्ने रणनीति बनाएको छ। पछिल्लो समय देउवाले निरन्तर बहुमतबाट निर्णय गर्न थालेको भन्दै यो समूहले विभिन्न निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्दै आएको छ।

 केन्द्रीय समिति बैठक अनिश्चितका लका लागि स्थगित भएको समयमा बैठक बसेपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न यो समूह निरन्तर छलफलमा जुटेको हो। यसअघि अनुशासन समिति गठनमा देउवाले एकलौटी गर्न खोजेको भन्दै असन्तुष्ट समूहले बैठक बहिष्कार गरेको थियो।

यो बीचमा देउवाले सहमतिको कुनै प्रयास नगरेकाले बहुमतका बलमा फेरि अनुशासन समिति र निर्वाचन समिति गठन गर्न सक्ने भन्दै यो समूहले रणनीति तय गर्न सुरु गरेको हो। महासमिति बैठकपछि एक हुन नसकेको असन्तुष्ट समूह देउवाले ‘पेल्न’ थालेपछि पुनः एक ठाउँमा उभिएको छ। 

अनुसाशन समिति, निर्वाचन समिति र अन्य विवादहरू पार्टी सभापतिले सहमतिका आधारमा टुंगो लगाउनुपर्ने बैठकको निष्कर्ष छ। ‘हामीले कम्युनिस्टविरुद्ध लड्नुछ। त्यसका लागि पार्टीभित्रै एकता आवश्यक छ’, केन्द्रीय सदस्य जीवन परियारले भने, ‘त्यसका लागि अनुशासन समिति, निर्वाचन समिति र नेविसंघलाई बहुमतका हैन सर्वसम्मत निर्णय गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’

यस्तै, महासमितिबाट उठाएका विषयलाई केन्द्रीय समितिले बेवास्था गर्नु गम्भीर भएको बैठकको निष्कर्ष छ। ‘महासमितिबाट परिमार्जनसहित पारित गर्छु भनेको विषय केन्द्रीय समितिबाट जस्ताको त्यस्तै पारित गर्नुभयो’, उनले भने, ‘यसलाई सभापतिले गम्भीर रूपमा लिनुपथ्र्यो तर वास्था गर्नुभएन। यो गम्भीर हो।’

मंगलबार मात्रै जिल्ला सभापतिहरूले निर्णय सच्याए विशेष महाधिवेशनको पहल थाल्ने भन्दै विज्ञप्ति निकालेका थिए। महासमिति बैठकपछि जिल्ला सभापतिहरूको पक्षमा लड्दै आएको संस्थापनइतर समूहले जिल्ला सभापतिहरूको मागमा समर्थन गर्ने निर्णय गरेको छ।

संस्थापनइतर समूहले पार्टी एक बनाउन अल्पमत र बहुमतको खेलमा अल्झनु नहुने तर्क गरेको छ। ‘महासमितिमा पार्टी सभापतिले गरेको प्रतिबद्धता कार्यन्वयन गर्नुपर्छ। त्यसबाट बिमुख हुन नहुँदैन भन्ने भनाइ हो’, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘यही विषयलाई लिएर हामीले बैठकमा नोटअफ डिसेन्ट पनि लेख्यौँ।’

जिल्ला सभापतिहरूले उठाएको विशेष महाधिवेशनभन्दा पनि पार्टी सुदृढिकरणका लागि नियमित महाधिवेशन आवश्यक रहेको उनले बताए। सभापति देउवाले बहुमतबाट गरेको निर्णय सच्याउनुपर्ने बैठकबाट बाहिरिँदै नेता जोशीले प्रतिक्रियाए दिए।

‘जे निर्णय महासमितिले गरेको छ। त्यो निर्णय अवलम्बन गर्नु उत्तम हुन्छ। कमिकमजोरी भएको छ भने केन्द्रीय समितिको निर्णय सच्याउन हामीलाई कसैले रोक्छ र?’, उनले भने, ‘जिल्ला सभापतिहरूले विधानअनुसार नै विषेश महाधिवेश बोलाउने कुरा गर्नुभएको छ। तर निर्णय सच्याउनुपर्छ। समयमै महाधिवेशन गर्न राम्रो हुन्छ।’

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App