१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अनुसन्धान प्रतिवेदन हेडक्वार्टर मगाइयो

काठमाडौं - प्रतिनिधिसभाकी सांसद निरुदेवी पालमाथि भएको आक्रमणबारेको अनुसन्धान प्रतिवेदन प्रहरी प्रधान कार्यालयले झिकाएको छ। उनीमाथि आक्रमण भएको आठ महिनापछि अनुसन्धान प्रतिवेदन प्रधान कार्यालयमा झिकाइएको हो।सांसद पाललाई पेस्तोल ताकेर धम्क्याइएको घटनामा अनुसन्धान कहाँ पुग्यो भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रतिवेदन तुरुन्तै प्रधान कार्यालय पठाउन परिसरलाई निर्देशन दिएको छ।

परिसरले प्रतिवेदन थन्क्याएर राखेको थियो। गत साउन १५ गते साँझ सांसद पालमाथि आक्रमण भएको थियो। सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कंदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी थिइन्। उनीमाथि आक्रमण भएको सार्वजनिक भएलगत्तै सरकारले सुरक्षाको समेत व्यवस्था गरेको थियो। उनलाई आक्रमण भएपछि हालका एसएसपी रामदत्त जोशीको संयोजकत्वमा महानगरीय प्रहरी वानेश्वर वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्ले, प्रहरी निरीक्षक सुरेन्द्र केसीसहितको अनुसन्धान टोली गठन भएको थियो। प्रहरीले त्यस बेला ७५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।

परिसरले सुरुमा उनीमाथि आक्रमणबारे अनुसन्धान गरेको भए पनि केही समयपछि फाइल नै बन्द गरेर राखेको थियो।

परिसरले सुरुमा उनीमाथि आक्रमणबारे अनुसन्धान गरेको भए पनि केही समयपछि फाइल नै बन्द गरेर राखेको थियो। संयोजक जोशीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएपछि फाइल बन्द भएको परिसर स्रोतले जनाएको छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटनाको अनुसन्धानबारे परिसरलाई निर्देशन दिएको बताए। ‘उहाँमाथि आक्रमण भएको विषयमा परिसर काठमाडौंको टोलीले गरेको अनुसन्धानबारे प्रहरी प्रधान कार्यालयलाई औपचारिक जानकारी थिएन। त्यही भएर त्यसको प्रतिवेदन मागेको हो’, प्रवक्ता सुवेदीले भने।

सांसद पालले घरबाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अँठ्याएर पेस्तोल तेस्र्याई हातको मोेबाइल खोसेर मारिदिन्छु भन्दै आक्रमण गरेको बताएकी थिइन्। उनले सो कुरा बताएपछि सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाइ समितिका सबै सदस्यलाई निजी सुरक्षा गार्ड खटाउन आदेश दिएका थिए। उनीमाथि आक्रमण भएका बेला सर्वोच्च अदालतका तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीमाथि प्रधानन्यायाधीशमा नियुक्तिका लागि संससदीय समितिमा परेको उजुरीका विषयमा सुनुवाइ हुँदै थियो। त्यही सन्दर्भलाई जोडेर सुनुवाइ समितिमा नजान भन्दै आफूमाथि आम्रमण भएको उनले बताएकी थिइन्। उनीमाथि आक्रमण भएको विषयमा प्रहरीले सुराकीसमेत फेला पारेको छैन।

प्रकाशित: ९ फाल्गुन २०७५ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App