२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्मला हत्याको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न माग गरेको छ। 

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले बुधवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै निर्मला हत्याको अनुसन्धान तथा पछिल्लो प्रगति विवरण जानकारी गराउन माग गरेकी हुन्। ‘सार्वजनिक महत्वको यस बिषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस भनी यो संकल्प प्रस्ताव दर्ता गर्दछु’, उनले भनेकी छिन्। 

घटना घटेको ५ महिना पुग्दा समेत दोषी पत्ता नलाग्नु दुःखद भएको भन्दै उनले यसबाट सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरुको हात रहेको आशंका उब्जिएको उल्लेख गरेकी छिन्।

‘घटनाको सत्य तथ्य पत्ता लगाउन आयोग माथि आयोग गठन गर्दै सरकारले प्रतिबेदन बुझि राखेको छ’, उनले भनेकी छिन्, ‘तर सरकारले प्रतिवेदनहरु सार्वजनिक गर्ने हिम्मत गरिराखेको छैन्। यसले आम जनमानसमा निर्मला पन्तको घटनामा सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरुको हात रहेको आशंका गरिराखेका छन्।’ 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकाे हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूराे र कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेकाे छ। तर ५ महिना वित्दा समेत दाेषी पत्ता लाग्न सकेका छैनन्। 

यस्तो छ संग्रौलाको सकल्प प्रस्तावः
 
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम देहाय बमोजिमको संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिएको छु ।

नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने र न्याय पाउने अधिकारलाई सुनिश्चित गरेको छ । तर कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा. नं २ की १३ बर्षीय बालिका निर्मला पन्तको वलात्कार पश्चात हत्या भएको (२०७५ श्रावण १०) ५ महिनासम्म पनि अपराधी पहिचान नहुँनु सरकार शुन्यताको अवस्थामा पुगेको अनुभूती भईराखेको छ । घटनाको सत्य तथ्य पत्ता लगाउन आयोग माथी आयोग गठन गर्दै सरकारले प्रतिवेदन वुझि राखेको छ । तर सरकारले प्रतिवेदनहरु सार्वजनिक गर्ने हिम्मत गरिराखेको छैन । यसले आम जनमानसमा निर्मला पन्तको घटनामा सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न भएका शक्तिशाली व्यक्तिहरुको हात रहेको आशंका गरिराखेका छन् । अनुसन्धानका नाममा लागूपदार्थ दुव्र्यसनी, मानसिक सन्तुलन ठिक नभएका र निर्दोष युवाहरुलाई यातना र विभिन्न आर्थिक प्रलोभन लगायतका आश्वासन दिई जवरजस्ती जिम्मेवारी लिन लगाउने प्रहरी प्रशासनको क्रियाकलापले घटनालाई थप शंकाको घेरामा ल्याएको छ ।

निर्मला हत्या काण्डको चौतर्फी दवावका बाबजुत सरकार उदासिन र तथ्यलाई वाहिर ल्याउन नसक्नु अत्यन्त खेदजनक छ । यस घटनाले सरकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै बदनाम भईरहेको छ भने कम्युनिष्ट शासनमा यस्ता घटनाहरु सामान्य मानिन्छन्, भन्ने धारणा बन्दै गइरहेको छ । पीडितले न्याय पाउनुको सट्टा थप अन्यायको शिकार हुँदैं गईरहेको कुरा निर्मला पन्तको वावुको मानसिक सन्तुलन गुमेको कुराले पनि थप पुष्टि भएको छ । सार्वजनिक महत्वको यस बिषयलाई सरकारले अविलम्ब संसद समक्ष पेश गरोस भनी यो संकल्प प्रस्ताव दर्ता गर्दछु ।

सम्बन्धित मन्त्रालय : गृह मन्त्रालय
नाम, थर : डा. डिला संग्रौला (पंत)
मिति : २०७५।०९।२

प्रकाशित: २५ पुस २०७५ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App