१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महिलाको उजुरीपछि सोडारीमाथि कारबाही

धनगढी - प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारी मन्त्री र पार्टीको साधारण सदस्यबाट हटाइने कुरा धेरैका लागि अकल्पनीय थियो। मंगलबार आचरण र पदीय मर्यादापिरीत काम गरेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीबाट मदमुक्त गरेको केही समयपछि नै नेकपा प्रदेश कमिटीका पदाधिकारीको बैठकले अनिश्चितकालीन समयका लागि साधारण सदस्यबाट पनि निष्कासन गर्ने निर्णय गरेको छ।

प्रदेश समितीका पदाधिकारीले पदीय मर्यादाविपरीत काम गरेको आरोपमा उनी हटाइएका थिए। प्रदेश कमिटी इन्चार्ज भीम रावल निकट उनलाई किन हटाइयो भन्ने विषय भने अहिले चर्चामा छ। सोडारी विगत ६ वर्षदेखि तत्कालिन एमालेका कैलाली अध्यक्ष थिए । उनी नेकपाका सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा प्रभावशाली नेता भीम रावलका विश्वासपात्र थिए । रावल निकट भएकै कारण पुराना नेतालाई पन्छ्याउँदै कैलाली पार्टीमा उनले राम्रो पकड बनाएका थिए । उनका गतिविधिप्रति कार्यकर्ता र नेता असन्तुष्ट हुदाँ पनि उनको हालीमुहाली कायमै थियो । यहाँका पुराना र केन्द्रीयस्तरका नेताले तत्कालीन पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका रावललाई सोडारीका गलत गतिविधिबारे जानकारी दिँदा पनि उनले सोडारीलाई केही नभनी काखी च्याँप्दै आएको एक नेताले बताए । १३ स्थानीय तहमध्ये ७ तहमा एमालेले जितेपछि सोडारी अझ बलियो बनेका थिए।

पार्टी स्रोतका अनुसार अध्यक्ष केपी ओली सोडारीका गतिविधिबारे पहिलेदेखि नै सन्तुष्ट थिएनन्। उनको इच्छाविपरीत रावलको जोडबलले नै उनले प्रदेशसभा सदस्य बनेको स्थानीय नेताहरूको भनाइ छ । प्रदेशसभा सदस्य निवाचित भएपछि सोडारी मुख्यमन्त्रीको दाबेदार पनि रहेका थिए । मुख्यमन्त्री तत्कालीन माओवादीको भागमा परेका कारण प्रधानमन्त्री ओलीको इच्छाविपरीत रावलकै जोडबलमा उनी प्रदेश सरकारको तेस्रो बरियतामा सामाजिक विकासमन्त्री बनेका थिए । सोडारीको धनगढीको एक महिलासँग अनैतिक सम्बन्धले उत्पन्न विवादको विषय मन्त्री बन्नुभन्दा पहिला पनि प्रदेशस्तरका नेताको जानकारीमा रहेको स्रोतको भनाइ छ।

यसपटक भने नेकपाका प्रदेश इन्चार्ज रावलले सोडारीलाई बचाउन सकेनन् । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा मुख्यमन्त्रीले उनलाई मन्त्रीबाट पदमुक्त गरेका हुन् भने पार्टी नेतृत्वकै निर्देशनमा पार्टीको प्रदेश कमिटीका पदाधिकारीले सधारण सदस्यवाट निष्कासन गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा कुनै विषयको पनि उजुरी परेको छैन,’ प्रदेश कमिटीका सहइन्चार्ज लक्ष्मी जोशीले भने, ‘केन्द्रीय नेतृत्वको परामर्श र सुझावअनुसार पदीय मर्यादाविपरीत काम गरेकाले सधारण सदस्यबाट निष्कासन गरिएको हो।’

तत्कालीन माले निकट विद्यार्थी संगठनबाट आएका सोडारी अर्का नेता वामदेव गौतम निकट थिए । पछि २०६५ को पार्टी अधिवेशनमा भलनाथ खनालको लाइनमा उभिएका उनी ०७१ को महाधिवेशनमा माधव नेपालको पक्षमा उभिएका थिए । भीम रावल केन्द्रीय उपाध्यक्ष भएपछि उनी रावलको अत्यन्त निकट विश्वास पात्र बनेका थिए।

पीडित महिलाको उजुरी
स्रोतका अनुसार सोडारीको धनगढीकै एक महिलासँग अनैतिक सम्बन्ध थियो। उनको परिवारमा यो कुराको सुँइको मिलेपछि परिवारमा झगडा चलेको थियो। मन्त्री हुनुअघि नै यो विषयको उजुरी पार्टीमा परे पनि प्रमाण अभाव र रावलको साथले उनी मन्त्री बन्न सफल भएका थिए।

उनको सम्बन्धमा रहेकी महिलालाई सोडारी पत्नीले आफ्नो श्रीमानसँग किन सम्बन्ध राखेको भनेर फोनमा अश्लिल शव्द प्रयोग गरेर गाली गरेपछि घटनाले नयाँ मोड लिएको हो। मन्त्री पत्नीले तथानाम गाली गरेको फोनमा रेकर्ड गरेको अडियोसहित उजुरी लगेर ती महिलाले प्रधानमन्त्रीलाई गुहार्न पुगिन। स्रोतका अनुसार प्रमाण खुल्ने अन्य अडियो पनि ती महिलाले प्रधानमन्त्रीलाई सुनाएकी थिइन्। प्रधानमन्त्री ओलीले त्यो अडियो पुष्पकमल दाहालाई सुनाएपछि दुई नेताबीच मन्त्री पदबाट हटाउने सहमति बनेको हो। प्रधानमन्त्री ओलीले माधव नेपाल र भीम रावललाई पनि त्यो अडियो सुनाएको स्रोतले बताएको छ। सोमबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रधानमन्त्री ओलीले बालुवाटारमै वोलाएर सोडारीलाई हटाउन निर्देशन दिएका थिए भने इन्चार्ज रावल र प्रदेश अध्यक्ष कर्णबहादुर थापालाई बोलाएर सोडारीलाई हटाउनेबारे परामर्श गरेका थिए । मंगलबार धनगढी फर्केलगत्तै मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्ललाई जानकारी गराएर मन्त्रीबाट पदमुक्त गरेका थिए। ‘पदीय मर्यादा र आचरणअनुसार काम नगरेकोले पदमुक्त गरिएको हो,’ उनले भने । उनले पनि पदीय मर्यादाविपरीत के काम भनेर खुलाएनन्।

कैलालीका अध्यक्ष रहेका दीर्घ सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को (क)बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । सोडारीले पार्टीको निर्णयप्रति कुनै टिप्पणी नरहेको प्रतिक्रिया दिएका छन्। ‘पार्टीले नै मलाई मन्त्रीमा पठाएको हो, पार्टीले फिर्ता लियो,’ उनले भने, ‘पार्टीको निर्णय शिरोधार्य छ।’ पार्टीको साधारण सदस्यवाट हटाएको आफूलाई जानकारी नभएको उनको भनाइ छ। ‘नेताहरूले पार्टीको जिम्मेवारीबाट मात्र हटाएको मलाई भनेका छन्,’ उनले भने । आफूलाई हटाउनुको कारण पनि थाहा नभएको उनले बताए। ‘पदीय मर्यादाविपरीत काम गरेको भनेर भनेका छन्, कारण मलाई भनेका छैनन्, मैले सबै काम राम्रै गरेको छु,’ सोडारीले आफ्ना निकटस्थसँग गुटको शिकार बनेको बताउने गरेको स्रोतले बताएको छ।

मन्त्रालयका योजना आर्थिक लाभ हुनेगरी आफ्ना मान्छेलाई दिने गरेको, अपराधिक क्रियाकलपा गरेर पक्राउ परेकालाई छुटाउन प्रहरीलाई दबाब दिने गरेको लगायतका उजुरी उनीविरुद्ध पार्टीमा परेका छन्। उनको छोराले १७ वर्षीया युवती भगाएर ल्याएको कुराले पनि उनको आलोचना भइरहेको थियो। नेकपाका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टीको नीति र पदीय आचरणविपरीत काम गरेकाले उनलाई पदमुक्त गरिएको बताए।

प्रकाशित: २९ कार्तिक २०७५ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App