काठमाडौं - सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले चाडबाडमा सहज, सुलभ र सुरक्षित रुपमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको बुधवार बसेकाे बैठकपछि मन्त्रालयलाई निर्देशन दिँदै सभापति कल्याणीकुमारी खड्काले अग्रिम टिकट बुकिङ लाई पारदर्शी बनाउन, महङ्गो र ‘ब्ल्याक’ मा टिकट बेची क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिइन्। “चाडबाडमा बढी दुर्घटना हुने गरेकाले सडक सुरक्षामा ध्यान दिन, सडकमै सवारीको ‘फिटनेस’ जाँचको व्यवस्था मिलाउन, ‘टाइम कार्ड’ लागू गर्न र नागरिकको सुरक्षित रुपमा यात्रा गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन सरोकारवाला निकायलाई निर्देशन दिइन्छ”, खड्काले भनिन्।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नवीकरण नगरिएका समितिको बैंक खाता नखोल्ने बताए। “कानून अनुसार समिति खारेज भएपछि खातामा रहेको पैसा सरकारको हुन्छ, यसलाई के गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्छ, सरकारले निर्णय गरे यो पैसाबाट यातायात क्षेत्रकै सुधारको काम गर्न सकिन्छ”, महासेठले भने।समितिका बैंक खाता रोक्का रहेको र कम्पनीमा पनि गइनसकेकाले यसबीचमा भएका दुर्घटनाको उपचार खर्च दिन प्रमुख जिल्ला अधिकारीले छानविन गरी सरकारले सिधै पीडितलाई दिने गरी निर्णय गरेको मन्त्री महासेठले जानकारी दिए।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले विसं २०७२ देखि सार्वजनिक यातायातको भाडा समायोजन नगरिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहमति लिएर १० प्रतिशत भाडा बढाइएको जानकारी दिए। सार्वजनिक यातायातमा ९९ प्रतिशत निजी लगानी भएकाले व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उनकाे भनाइ छ। विभागका निर्देशक प्रेम सिंहले विसं २०६५ देखि लागू गरिएको वैज्ञानिक भाडादरमा १४ सूचकका आधारमा भाडा समायोजन गर्ने व्यवस्था गरिएको बताए। पेट्रोलियम पदार्थको मात्र हिसाब गर्दा पनि अहिले ११ देखि १६ प्रतिशतसम्म भाडा बढाउनुपर्ने भएपनि हाल १० प्रतिशत मात्र वृद्धि गरिएको सिंहले बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले वडादशैँमा २० देखि २५ लाख यात्रु उपत्यका बाहिरिने गरेकाले सहजरुपमा यात्रा गराउनु चुनौतीपूर्ण हुने गरेको बताए। रासस
प्रकाशित: १० आश्विन २०७५ १४:४२ बुधबार