२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टीभित्र बहसलाई बन्देज लगाइनु हुँदैन : नेता थापा

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र बहसलाई बन्देज लगाउन नहुने विचार राखेका छन्।

'स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म हो। तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन,' थापाले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत भनेका छन्।

यद्यपि, अराजकता र अनुशासनहीता पनि स्वीकार्य नहुने उनले बताएका छन्। 'विचार र विश्लेषणको शृङ्खला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्यु हुन्छ,' उनले थप भनेका छन्।

विचारमा आधारित भएर राजनीतिक बहस गर्न आग्रह गर्दै थापाले असन्तुष्टहरूको विरोधको  निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत बनाउन सकिने बताएका छन्। 

यसअघि अध्यक्ष केपी शर्मा ओलीले डा. भीम रावललाई निष्कासितको निर्णय गराएका थिए भने विन्दा पाण्डे र उषाकिरण मित्सिनालाई ६ महिनाका लागि निलम्बन गरेका थिए। जबकि, अरु नेताहरूले त्यसो नगर्न अध्यक्ष ओलीलाई सुझाएका थिए।

कतिपय नेताहरूले पाण्डे र तिम्सिनाको कारबाही फिर्ता लिनुपर्ने बताइरहेका छन्। उनीहरूले यसअघि पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट लिएको १० रोपनी १४ आना जग्गाको सन्दर्भमा आफ्नो विचार व्यक्त गर्दै जग्गा लिन नहुने बताएका थिए। त्यसपछि उनीहरूमाथि कारबाही भएको थियो।

प्रकाशित: १८ पुस २०८१ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App