७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा सांसदको नाराः प्रधानमन्त्री मुर्दावाद, गृहमन्त्री मुर्दावाद

फाइल तस्बिर

कास्की जिल्ला अदालतले पार्टी सभापति रवि लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ता आक्रोशित देखिएका छन्।

मंगलबार पोखराको सडकमा प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्ता दिउँसो अदालतको नयाँ आदेश आएसँगै थप आक्रोशित बनेका हुन्।

यस क्रममा प्रदर्शनमा रहेकी रास्वपा सांसद सोविता गौतम झन् आक्रोशित सुनिएकी छन्। रास्वपाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको प्रदर्शनको भिडिओमा सांसद गौतम निकै आक्रामक आवाजमा सुनिएकी छन्। उनले प्रधानमन्त्री मुर्दावाद, गृहमन्त्री मुर्दावाद, सरकार मुर्दावाद भन्दै नारा लगाइरहेकी छन्।

गाडीमा बसेर ¥यालीलाई सम्बोधन गर्दै सांसद गौतमले सरकारको तानासाही प्रवृत्तिविरुद्ध आफूले आन्दोलन गर्नै पर्ने अवस्था आएको समेत बताएकी छन्।

‘यो तानासाही सरकारको विरोध गर्नैपर्छ, तानासाही सरकार मुर्दावाद। जिल्ला जिल्लाबाट जाग्नैपर्छ, तपाईँहरू जहाँ हुनुहुन्छ आन्दोलनमा आउनैपर्छ,’ उनी भनिरहेकी छन्,‘भोलिबाट हामी यो देशमा आन्दोलन गर्दैछौं। जिल्ला जिल्लाबाट आउनुस् तपाईँहरू जे शक्ति छ लिएर आउनुस्।’ त्यो आन्दोलनमा घटेको एउटा पनि घटनाको जिम्मा रास्वपाले नलिने पनि उनले बताइन्। ‘किनभने तिमिहरूले नेपाली जनताको परीक्षा लियौँ। तिमिहरूले देख्नुहुन्छ के नियति हुन्छ भनेर,’ सोविता भनिरहेकी सुनिन्छन्। उनले ‘अति भएको’ भन्दै ‘कसरी गर्नुहुन्छ यो तपाईँहरूको जिम्मा’ भन्दै कार्यकर्तालाई उक्साएकी पनि छन्।

‘यो एउटा पार्टीको आन्दोलन होइन्। एउटा व्यक्तिलाई थुनेर जसरी नयाँ युगलाई थुन्न प्रयत्न गरिएको छ, नयाँ पुस्तालाई थुन्न प्रयास गरिएको छ । जसरी हुन्छ जागेर आउनुस् आ–आफ्नो ढंगले आन्दोलन गर्नुस्,’ गौतमले भनिन्। पार्टीले आफ्नो तयारी गर्ने भन्दै आफ्नो तयारी गर्न कार्यकर्तालाई आह्वान गरिन्।

त्यसपछि उनले प्रधानमन्त्री मुर्दावाद, गृहमन्त्री मुर्दावाद, सरकार मुर्दावाद भन्दै चर्को नारा लगाइरहेको सुनिन्छन्।

प्रकाशित: २० कार्तिक २०८१ १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App